त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी

उपकुलपति हुन सय अंकको मूल्यांकन



काठमाडौं ।

आफ्नालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न मापदण्ड तयार गरेको आरोप लागेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशनमा त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी भएको छ।

कार्यविधिअनुसार उपकुलपति हुन सय अंकको मूल्याङ्कन हुनेछ। त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित समितिले पहिलोपटक कार्यविधि जारी गरेको हो।

कार्यविधिमा सबै प्राध्यापकले आवेदन दिन पाउने व्यवस्था गरेको छ । यसअघि जारी मापदण्डमा विश्वविद्यालयको पदाधिकारी हुनुपर्ने अनिवार्य व्यवस्था थियो।

सोही विषयमाबढी आलोचना भएपछि उक्त सूचना खारेज गरी कार्यविधि जारी भएको हो। कार्यविधिमा उच्चशिक्षाको क्षेत्रमा प्राध्यापन गरेबापत प्राध्यापक पदमा काम गरेको भए प्रतिवर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउनेछन्। एक वर्षभन्दा कम अवधिको चानचुन महिना तथा दिनको अंक गणना नहुने उल्लेख छ।

प्राध्यापक हुनेले १०, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकामा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत ५, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेबापत ६ अंक दिने प्रावधान बनाइएको छ।

विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर) र चारवर्षे कार्ययोजना (प्रोफेसनल वर्क) बापत ३५, प्रस्तुतीकरणको २० र अन्तरवार्ताबाट १५ अंक दिने व्यवस्था कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा सोचपत्र तथा व्यावसायिक कार्ययोजना मूल्यांकन गर्न उपसमितिको समेत व्यवस्था गर्न सक्ने उल्लेख छ। उपसमितिमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको र कम्तीमा पाँचवर्षको अनुभव प्राप्त प्राध्यापकमध्येबाट छनोट गर्न सक्ने व्यवस्था गरेको छ।

कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्रै त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने गरी तयार पारिएको छ। उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र पेस गर्नुपर्नेछ।

कार्यविधिमा ‘प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र पेस गर्नुपर्ने उल्लेख छ।

कार्यविधिमा स्नातकोत्तर र सोभन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, प्राध्यापकपदमा नियुक्त भएको नियुक्तिपत्रको प्रतिलिपि, विश्वविद्यालय, प्रतिष्ठानको पदाधिकारी वा कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय वा सो सरहका उच्च शैक्षिक संस्था वा निकायको प्रशासनिक वा व्यवस्थापकीय पदमा अनुभव हासिल गरेको भए सो खुलेको विवरण तथा प्रमाणको प्रतिलिपि पेस गर्नुपर्ने उल्लेख छ।

यसबाहेक प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको भए त्यसको विवरण पनि पेस गर्नुपर्नेछ। ३ हजार शब्दमा विश्वविद्यालयसम्बन्धी सोचपत्र र ५ हजार शब्दमा विश्वविद्यालयसम्बन्धी चारवर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ।

विश्वविद्यालयबाट सम्बन्धन लिएको कुनै कलेजमा सेयर भएको व्यक्ति पनि उपकुलपतिको उम्मेदवार हुन योग्य हुने छैन। त्यसरी छनोट भएका व्यक्तिमध्येबाट समितिले ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष पेस गर्नेछ।

त्यसपछि कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान छ। त्रिविले यो कार्यविधि जारी गरेसँगै यसअघि स्वीकृत भएको त्रिवि कुलपति छनोटसम्बन्धी कार्यविधि २०८० खारेज भएको जनाएको छ।

प्रधानमन्त्री दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेपछि समितिले कार्यविधि बनाएको हो। राजनीतिक भागबण्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको थियो। त्यसलाई हटाउन सरकारले कार्यविधि तयार गरी उपकुलपति छनोट प्रक्रिया शुरू गरेको हो।

प्रधानमन्त्री दाहालले पुस २ गते सम्पन्न त्रिविको ४९औं दीक्षान्त समारोहमा राजनीतिक भागबण्डाको आधारमा उपकुलपति नियुक्ति नहुने स्पष्ट पार्नुभएको थियो।

सरकारआबद्ध दलबीच सहमति नभएसम्म उपकुलपति छनोट गर्न नसक्ने आँकलन गरिरहेको बेला योग्यताको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढेको हो।

प्रतिक्रिया दिनुहोस्