डेडिकेटेड लाइनको बक्यौता ६० किस्तासम्म तिर्न पाउने व्यवस्था

पहिलो किस्ता तिरेपछि हिमाल आइरनको लाइन जोडियो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन्। बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुन: जोडिन थालिएको छ।

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिल तिर्न सुरु गरेको छ। उद्योगले पहिलो किस्ता बापतको रकम सोमबार बुझाएको हो।

हिमालले आइरनले बक्यौता रकमको पहिलो किस्ताबापत सोमबार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ। हिमाल आइरनको ८ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता छ।

बक्यौता बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ। उद्योगले ३६ किस्तामा बक्यौता तिर्ने बताएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरणको बोर्ड बैठकले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको हो।

जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेशनबाट अर्को सवस्टेसन जोड्ने लाइन) बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटकपटक ताकेता एवं सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको थियो।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत् लाइन बिच्छेद गर्न सुरु गरेको थियो।

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

यसमध्ये पाँच करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ। बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमश: विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ।

लाइन काटिएका उद्योग र महसुल बक्यौता
– जगदम्बा स्टिल ४ अर्ब १४ करोड
– रिलायन्स स्पिनिङ १ अर्ब ९४ करोड
– घोराही सिमेन्ट १ अर्ब ३६ करोड
– अर्घाखाँची सिमेन्ट १ अर्ब ३० करोड
– सर्वोत्तम सिमेन्ट ८३ करोड ३८ लाख
– लक्ष्मी स्टिल ९१ करोड ४ लाख २८ हजार
– अशोक स्टिल ७४ करोड ५० लाख
– सोनापुर मिनरल्स ६१ करोड २० लाख
– त्रिवेणी स्पिनिङ मिल्स ८६ करोड ९० लाख
– शुभश्री अग्नि सिमेन्ट ४७ करोड
– बाबा जुट मिल्स ५ करोड ६१ लाख ४९ हजार
– निगाले सिमेन्ट १४ करोड २० लाख ८४ हजार
– त्रिवेणी सिन्थेटिक १५ करोड ६५ लाख ५७ हजार
– हिमाल आइरन एन्ड स्टिल ८ करोड १२ लाख ७३ हजार
– जगदम्बा इन्टरप्राइजेज ४७ करोड ९८ लाख २८ हजार
– हामा आइरन ११ करोड ५५ लाख ४६ हजार
– एभरेस्ट पेपर मिल्स २१ करोड ३५ लाख ७७ हजार
– कसमस सिमेन्ट ३५ करोड ८१ लाख ९४ हजार
– जगदम्बा सिन्थेटिक ४७ करोड ५३ लाख ४१ हजार
– घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार
– सिद्धार्थ पेट प्लास्ट ५ करोड २३ लाख ८२ हजार
– बुटवल सिमेन्ट
– ३२ करोड ९७ लाख ८३ हजार

 

प्रतिक्रिया दिनुहोस्