आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्त्वपूर्ण  : मुख्यमन्त्री पाण्डे



कास्की ।

 ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा बिहीबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका बीच  उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्त्वपूर्ण रहने बताए ।

मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

उनले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताए ।
गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको उनले बताए । उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ। तर, स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरी  महानगरपालिका बनाए पनि यहाँका जनतामा भने त्यो पाच्य नभएको बताउँदै यहाँ देखिएको विविधताले भरिएका झाँकी र्‍यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामूहिक भावनाले अगाडी बढ्नु पर्ने बताएका थिए ।

यस्तै गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला आमा दिदिबहिनीहरुको सहभागिता उत्साहजनक देखिएको बताउँदै महिलाहरूको सशक्तीकरणका लागी पनि सबलै सोच्नुपर्ने बताएकी थिइन ।

सङ्घीय सांसद मन बहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने आवश्यकता औँल्याएका थिए भने पूर्व मन्त्री यज्ञ बहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अगाडी बढ्नका लागि सबैलाई अनुरोध गरेका थिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकुष्ण वैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुँदा  देशको अर्थतन्त्र कमजोर हुँदै गएको संकेत गरेका थिए भने महासंघ कै वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा बिदेसिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ तिन तहको सहकारका विच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट व्यवसायीका समस्या नवुझदाँ अव ब्यवसायीहरु बिदेसिने पर्ने अवस्था सृजना भएको तर्फ संकेत गरेका थिए भने पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने तर्फ सचेत हुँदै उद्यमशीलताका बारेमा युवा र महिला लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराएकी थिइन ।

महोत्सवमा स्थानीय आमा/महिला समूह, संघ संस्थाहरु र विभिन्न जातजाति एवं भाषा भाषीहरुको ४ सय भन्दा वढि संख्यामा झाँकी र्‍याली निकालीएको थियो भने मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतिोगिताको लागी ३५ समूहमध्येबाट छनोट हुन सफल २० समूहको नाम घोषण गरिएको थियो ।

पुस १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्