प्रकाशकीय

चार दशक : थोरै हाँसो धेरै सकस



श्रद्धेय पाठक वर्ग, यहाँहरूलाई विदितै छ, नेपालमा निरन्तर चल्दै आएको निजी मिडियामा सबैभन्दा जेठो कामना समूह नै हो । यो २०४१ सालदेखि तपाईंहरूको सेवामा समर्पित छ । पाँच हजारको पुँजीबाट शुरू भएको यो संस्थाले आज भौतिक सफलता कति हासिल ग¥यो, त्यो महत्वपूर्ण छैन– तपाईंजस्ता लाखौं पाठकको मन जितेको छ, त्यो अनमोल छ । चार दशक अघिको पाँच हजार अहिले पचासौं अर्बको माया र सद्भावमा रूपान्तरित भइसकेको छ ।

यो पचासौं अर्बको माया हाम्रो अनुभव हो– कामना परिवारको अनुभूति । हाम्रो मनको भाषा । प्रकाशन गृहका परिवारका सदस्यको भाषा । यस परिवारमा को छन् भन्ने कुरा त महत्वपूर्ण छ नै, साथमा को थिए र को हुन सक्छन् भन्ने पनि उत्तिकै महत्वपूर्ण छ । स्वर्गीय पुष्करलाल श्रेष्ठको भिजनबाट शुरू भएको यस परिवारमा विगत चार दशकमा हजारौं व्यक्ति जोडिए, उनीहरूका लागि प्रत्यक्षतः यही संस्थाले जीविकोपार्जनको स्रोतको भूमिका खेल्यो । त्यत्तिकै संख्यामा पत्रकार र कर्मचारीले पेसागत पहिचान पनि बनाए । आज नेपालका ७७ रै जिल्लामा कामनासँग प्रत्यक्ष–परोक्ष आबद्ध व्यक्ति हुनुहुन्छ । जीवनको कुनै कालखण्डमा उनीहरूले कामना परिवारको सदस्य बन्ने र यस संस्थालाई बनाउने भूमिका खेलेका छन् । यसर्थ आज कामना न्यूज पब्लिकेसन्स प्रालि नामको यो संस्था पुष्करलालबाट विस्तारित भएर देशव्यापी पुष्पवाटिका बनेको छ । यस संस्थाको प्रगति र प्रतिष्ठा लाखौं नेपाली नागरिकको गौरवको विषय भएको छ । यो हाम्रो अन्तर मनको विश्वास हो ।

यस प्रकारको विश्वासका केही ठोस आधारहरू छन् । पहिलो त यसले स्थापनाको पहिलो दिनदेखि आम जनताका साथ उभिएर पत्रकारिता ग¥यो, राष्ट्रियताका पक्षमा उभिएर कलम चलायो, लोकतन्त्रका लागि आफ्नो कलम मात्र तिखारेन कार्यरत पत्रकार र कर्मचारीलाई एकदलीय, अनुदार र अधिनायकवादी शासकका विरुद्ध आँखा जुधाएर खडा हुने बनायो । नेपालको स्वाभिमानका पक्षमा उभिँदा विस्तारवादी र साम्राज्यवादी शक्तिहरूले कामना प्रकाशन समूहलाई नै धराशयी बनाउने धृष्टता गरे । यसलाई आर्थिक संकटको कठोर कहर सहन बाध्य बनाइयो, सामाजिक बहिष्करण गर्ने धृष्टता देखाइयो । तर, कामना परिवार कठोर हावा–हुन्डरीबीच निरन्तर सतिसाल बनेर खडा रह्यो ।

कामना प्रकाशन ‘कामना’ नामक मासिक पत्रिकाबाट शुरू भएको हो । चलचित्र, कला, मनोरञ्जन र यससँग सम्बन्धित व्यक्ति र व्यक्तित्व, लगानी र प्रविधि आदि विषयलाई उठान गर्दै पत्रकारिता शुरू गरेको यस प्रकाशनले क्रमशः साधना, महानगर, नेपाल समाचारपत्र, न्युज अफ नेपाल डट कम अनलाइन न्युज पोर्टलको प्रकाशन ग¥यो । आज ‘महानगर’बाहेक सबै प्रकाशनले सफलताका साथ आम पाठकको सेवा गरिरहेका छन् । यस प्रकाशन गृहका सूत्रधार पुष्करलाल श्रेष्ठको ६० वर्षको अल्पायुमै दुःखद निधन भयो । संस्थाले ठूलो धक्का महसुस ग¥यो । तर, यसले आफ्नो प्रगतिमा कुनै अवरोध आउन दिएन । दिवंगत पुष्करलालले विकास गरेको पद्धतिले संस्थालाई गति प्रदान गरिरह्यो । कामना प्रकाशन परिवारले दिवंगत सूत्रधारले देखाएको बाटोमा निरन्तर लागिरहनु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली ठानेको छ ।

कामना न्युज पब्लिकेसन्स ३९ वर्ष पूरा गरी ४०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आगामी दिनमा कामना न्युज पब्लिकेसन्सका प्रकाशनहरू कामना, साधना, नेपाल समाचारपत्र र न्युज अफ नेपालको प्रकाशन र वार्षिक रूपमा भव्यताका साथ सम्पन्न हुने कामना फिल्म अवार्ड कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गर्दै हामीलाई यस अवस्थासम्म आइपुग्न सहयोग गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखकलगायत शुभचिन्तकमा हार्दिक आभार व्यक्त गर्दछौं ।

यहाँहरूलाई विदितै छ, कामना प्रकाशनले विगत चार दशकमा हजारौं थान ब्रेकिङ समाचार बाहिर ल्याएको छ, सयौं स्कुप र इनडेप्थ समाचार गरेको छ । केही खोज पत्रकारिताका उदाहरण पनि प्रस्तुत गर्न सफल भएको छ । ४०औं वार्षिकोत्सव मनाइरहँदा यसले लाखौं शुभचिन्तक पाठकलाई सांकेतिक प्रसन्नता दिनका लागि पनि नेपालकै प्रकाशनको इतिहासमा नयाँ रेकर्ड बनाउँदै १३२ पृष्ठ मोटो नेपाल समाचारपत्र प्रकाशित गरेको छ । राज्यको चौथो अंग मानिएको पत्रकारितालाई नै मूल विषय बनाएर प्रकाशित यस विशेषाङ्कले लाखौं पाठकको मन जित्ने हाम्रो विश्वास छ । खास गरी सरकारको प्रमुख प्रतिपक्ष बनेर राष्ट्र, राष्ट्रियता र सर्वसाधारण जनताका पक्षमा चौथो अंग पत्रकारिताले के–कस्तो भूमिका खेलिरहेको छ, बुझ्न र यसभित्रका सफलता र कमजोरीहरू आम जनतासमक्ष पु¥याउन विशेषाङ्कले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ । पत्रकारिताका विद्यार्थीका लागि यो विशेषाङ्क निकै महत्वपूर्ण र सङ्ग्रहणीय हुने हाम्रो विश्वास छ । विद्यार्थीले त यस विशेषाङ्कलाई सङ्ग्रह गरेरै राख्नुपर्छ भन्ने हामीलाई लागेको छ ।

कामना प्रकाशन परिवार सत्य–तथ्य बाहिर ल्याउने विषयमा के आफ्नो के पराया विभेद गर्दैन । उदाहरणका लागि यसै विशेषाङ्कलाई लिन सकिन्छ । मिडियाभित्रकै कमीकमजोरीलाई यसले सार्वजनिक गरेको छ । राज्यको चौथो अंग अपेक्षा गरिएअनुसार किन बन्न सकेन, यसले किन मुलुकलाई दिशानिर्देश गर्न सकेन, किन यसलाई आम पाठक–स्रोता–दर्शकको ठूलो हिस्साले बोझका रूपमा लिइरहेको छ भनेर चिरफार गरेका छौं । यस चिरफारमा डाक्टर बनेर नेपाली पत्रकारिताका हस्तीहरू, मिडियाका प्राध्यापक र डाक्टरहरू पनि सहभागी भएका छन् । यस विशेषाङ्कलाई सफल बनाउन हातेमालो गर्ने वरिष्ठ मिडियाकर्मी, लेखक, पाठक, विज्ञापनदाता आदि सबै धन्यवादका पात्र हुनुहुन्छ ।

कामका सिलसिलामा आफैंबाट भएका कमीकमजोरी सार्वजनिक गर्ने हिम्मत पनि हामीले देखाएका छौं । दुर्घटनावश हुन गएका यस्ता गल्तीका लागि क्षमायाचना र सुधार गरेका अभ्यास पनि स्मरण गरेका छौं । मिडियालाई नै यसको जन्ममै विकृति भित्र्याउने छुट किन भनेर यहाँ प्रश्न उठाएको पाइनेछ । जनतालाई सत्यतथ्य समाचार दिएर सुसूचित गर्ने र अन्य निकायको ‘वाच डग’का रूपमा कार्य गर्ने मिडियालाई सजिलै लाइसेन्स वितरण गर्ने गरिएकाले त कुनै पनि मिडिया आर्थिक रुपमा सबल हुन नसकेको त होइन भनेर प्रश्न उठाएका छौं । राजनीतिक दलका कार्यकर्तासमेत रहेका पत्रकारका कारण समाचारको निष्पक्षतामा समस्या आउने गरेको विषय पनि उठाएका छौं । त्यस्तै मिडिया सञ्चालकहरूबीच एकता नभएका कारण सरकारले मिडियालाई छुट्याएको विज्ञापनको रकमको पाँच–दश प्रतिशत मात्र प्रकाशक वा सञ्चालकको हातमा पर्ने गरेको कटु यथार्थ पनि यसै विशेषाङ्कमा छ ।

कामना परिवारका हरेक प्रकाशनहरू विशेष हुन सकून् भन्ने हाम्रो प्रयास छ । यही कारण हुन सक्छ, श्रद्धेय पाठकले हामीलाई चार दशकदेखि निरन्तर माया गर्नुभएको छ । राज्यका शक्तिकेन्द्रहरूको निकट रहेर लाभ लिने प्रकाशन गृहहरूमा यो संस्था पर्दैन । राजनीतिक दलको कोठरीमा छिरेर उसका गलत कामको पनि प्रशंसा गर्ने बेइमानी कामना प्रकाशनले कहिल्यै गरेन । राजनीतिक मोर्चामा सामेल नभई तटस्थ ढंगले लोकतान्त्रिक व्यवस्था र पद्धतिका पक्षमा वकालत गरेका कारण नै सबै पक्षका पाठकको माया हामीलाई प्राप्त भएको हाम्रो विश्वास छ ।

४० वर्षदेखि आफ्ना विभिन्न प्रकाशनमार्फत आम मानिसका चासोलाई सम्बोधन हुने गरी समाचारहरू प्रकाशन गरिरहँदाको अनुभवलाई मध्यनजर गर्दा नीतिगत तह तथा सरकारका उपल्लोदेखि स्थानीय तहसम्मका कार्यकारी निकायमा समाचारको प्रभाव अपेक्षाकृत पर्न नसकेको अनुभूति भइरहेको छ । ‘सुतेको मानिसलाई उठाउन सकिन्छ तर सुतेको नाटक गरेकालाई सकिँदैन’ भन्ने नेपाली भनाइलाई मनन गर्दै आगामी दिनमा समाचार सामग्रीहरूमा विचारलाई भन्दा तथ्य र तथ्यांकहरूलाई बढी प्राथमिकता दिएर अझ सशक्त तरिकाले प्रस्तुति गर्नुपर्ने आवश्यकता महसुस गरिएको पनि जानकारी गराउँछौं ।

कामना प्रकाशन परिवारको नेतृत्व अहिले दोस्रो पुस्तामा छ । त्यसैले समयसापेक्ष परिवर्तन र आधुनिकीकरण स्वाभाविक हुन आएको छ । हामी मिडियाको स्वतन्त्रताप्रति प्रतिबद्ध त छौं, तर प्रेसका चार सिद्धान्तमध्ये सामाजिक जिम्मेवारीयुक्त स्वतन्त्रताको सिद्धान्तलाई हामीले आत्मसात् गर्ने प्रयास गरेका छौं । अथोरिटारियन, लिबरटेरियन, सोसल रेस्पोन्सिबिलिटी र सोभियत कम्युनिस्ट गरी चार प्रकारका प्रेस सिद्धान्तमध्ये हामीले स्वीकार गरेको सिद्धान्त भने बीचमा छ । मानव शरीरको बीचमा मुटु र मन हुन्छ, हामी पाठकको मन जितेर पत्रकारिता गर्न चाहन्छौं । शरीरको सबैभन्दा माथि रहने दिमाग तर्कको पछि लागिरहन्छ, हामी भगवान् बुद्धले भनेको मान्छौं– तर्कको पछि नलाग, सत्यको पछि लाग । हामी तपाईंको मनमा नै सत्यको बास छ भन्ने विश्वास गर्दछौं ।
आगामी सयौं वर्षसम्म पनि यसरी नै मनको माया पाइरहने विश्वासका साथ,

दिरेकलाल श्रेष्ठ
प्रबन्ध सम्पादक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)

प्रतिक्रिया दिनुहोस्