डा.ओम फाउन्डेसनद्वारा ग्रामीण वस्तीमा स्तरीय मुटु जाँच तथा स्वास्थ सचेतना



काठमाडौँ। 

स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को  शुभारम्भ गरिएको छ।

 बिहीबार महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोग सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै फाउन्डेसनको औपचारिक सुरुवात गरिएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको  प्रमुख आतित्थ्यता तथा बलवा नगरपालिकाका मेयर राम विजय महतोको सभापतित्व  सम्पन्न  उक्त शिविरमा  ४२८  जनाको मुटुरोग सम्बन्धी (इ.सी.जी., इको, ब्लड सुगर, लिपिड लगायतका) चेकजाँच गरिएको थियो ।

जसमध्ये इकाे २४२ जना, इसीजी ३२५ जना, सुगर ३४० जनाको जाँच गर्नुका साथै ४ सय जनाभन्दा बढी बिरामीलाई औषधी समेत  प्रदान गरिएको थियो ।
शिविरमा स्वास्थ्य सचेतनाको लागि विभिन्न प्रकारका ब्रोसर, पमफ्लेट पनि बितारण गर्नुका साथै खानपिन र जीवनशैलीको बारेमा परामर्श प्रदान गरिएको थियो ।

 शिविर सञ्चालनकै क्रममा डा. ओम मूर्ति अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो । चिकित्सा पेसा मार्फत गरेको जनसेवा तथा आम नेपालीको स्वस्थ जीवनशैलीका निम्ति उहाँले सञ्चालन गर्दै आउनु भएको सचेतनामुलक अभियानले विश्व कीर्तिमान कायम गरेको सन्दर्भमा डा. ओम मूर्ति अनिलको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो । महोत्तरीको धमौरा डा. ओम मूर्ति अनिलको जन्मस्थान पनि हो ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका  मुख्यमन्त्री सरोज कुमार यादवले नगरपालिकाको तर्फबाट अभिनन्दन–पत्र डा. अनिललाई प्रदान गरेका थिए  ।
कार्यक्रममा  वडा नम्बर १०का  वडा अध्यक्ष राजकुमार यादवको स्वागत मन्तव्य र पूर्वशिक्षक सुशील यादवले शुभकामना मन्तव्य प्रदान गरेका थिए।

 बलवा नगरपालिकासँगको समन्वयमा सञ्चालन भएको उक्त  शिविरमा फाउन्डेसनका संस्थापक अध्यक्ष डा. ओम मूर्ति अनिलको नेतृत्वमा काठमाडौँबाट गएका डा. अभिषेक कुमार यादव, डा. पूजा सिंह, डा. ओम मूर्ति निखिल, गौरव सिंह, पार्वती भगत, सत्यम् कुमार गुप्ता, राजन कुमार गुप्तालगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४०  जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन  दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो ।

फाउन्डेसनका अनुसार शिविरमा स्वास्थ्य जाँच र औषधिका निम्ति प्रतिव्यक्तिले औसत ५ हजार रुपैयाँको स्वास्थ्य खर्च सञ्चित गरेका थिए  ।

फाउन्डेसन औपचारिक सुरुवात हुनुपूर्व नै आफ्नो उद्देश्य अनुरूप सक्रिय रहँदै आएको छ । काठमाडौँको बसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब ३  सय जनाले फाउन्डेसनको वेवसाइडमा सम्पर्क गरी निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्