सयपत्री फूल : बिक्री नभएपछि सडकभरि

भारतबाट धेरै परिमाणमा सयपत्री फूल तथा माला भित्रिएपछि फाल्नु पर्ने अवस्था बनेको व्यवसायीहरूको गुनासो



काठमाडौँ। 

चार महिना अघि सयपत्री फूलको खेती सुरु गर्दा दोलखा शैलुङ गाँउपालिका– ७ फस्कुका भूषण कार्की निक्कै उत्साहित थिए । तिहार सुरु हुँदै गर्दा स्थानीय बजार र काठमाडौँमा झन्डै आठ लाखको फूल  बिक्री गरेका उनले तिहारलाई १४ लाख बढीको फूल जोहो गरेका थिए ।


काठमाडौँमा चार ट्रक सयपत्री फूल  र माला लिएर गए।  तर , भारतबाट ३० लाख बढी माला भित्रिसकेकोले स्थानीय उत्पादन बिक्री नहुँदा घर फर्कँदा ऋण खोजेर फर्कनु पर्ने अवस्था बन्यो– भूषणले गुनासो गर्दै भने ।

काठमाडौँमा कार्तिक २६ गते झन्डै ६० हजारको फूल  र माला बिक्री गरेको भएपनि त्यसपछि  फूल र माला बिक्री नभएकोले सबै  फूल काठमाडौँका बाटोमा फालेर घर फर्कनु परेको भूषणले बताए । दुई सयमा बिक्री हुने माला १० रुपैयाँमा  पनि बेच्न सकिएन– भूषणले भने ।

स्थानीय बजारमा फुलको माग राम्रो देखेर विदेश जान छोडेर सयपत्री फूल खेतीमा लागेको तर सरकारले विदेशी आयातलाई रोक्न नसक्दा स्थानीय व्यवसायी बर्वाद भएको दोलखा फस्कुकै अर्का व्यवसायी सागर बस्नेतले बताए ।

हामी पाँच भाइले विदेश जान छोडेर ६५ रोपनी जग्गामा फूल खेती सुरु गरेका छौँ  सागरले भने– तर मुख्य सिजनमै  फूल– माला बिक्री गर्न नसकिएपछि हाम्रो ऋणको पैसा सबै डुब्ने निश्चित भयो । सरकारले स्वदेशी व्यवसायलाई प्रोत्साहन गर्न नसक्दा सबै नेपाली विदेशीन बाध्य हुनुपरेको सागरको बुझाई छ ।
एक जना व्यवसायीले ५० लाख ऋण खोजेर विभिन्न ठाउँबाट जम्मा गरी सयपत्री  फूल काठमाडौँ ल्याएको भएपनि भारतीय फुलका कारण स्थानीय उत्पादन बिक्री गर्न नसकेपछि उनी रुँदै घर फर्किएको भूषणले सुनाए ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ६ रामकोटका कृषक माधव न्यौपाने आफ्नो जमिनमा झन्डै चार लाखको सयपत्री  फूल भएपनि काठमाडौँमा स्थानीय  फूल व्यवसायीको पीडा देखेर बारीबाट  फूल टिप्दै नटिपेको बत्ताउँछन् ।

बेकारमा मानिस लगाएर  फूल टिप्यो, गाडीमा काठमाडौँ पु¥यायो अनि उतै फालेर आउनु पर्ने माधवले भने– यसरी ज्याला, गाडी भाडा र खाना खर्च बर्बाद गर्नुभन्दा बारीबाटै नटिप्नु जाति लाग्यो ।

स्थानीय किसानले सयपत्री  फूल केजीको दुई सय र सजाउने माला प्रति मिटर एक सय तथा लगाउने माला प्रति गोटा एक सय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए । तिहारको मुखैमा भारतबाट धेरै परिमाणमा सयपत्री फूल तथा माला भित्रिएपछि स्थानीय किसानको उत्पादन फाल्नु पर्ने अवस्था बनेको व्यवसायीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्