नेपालले आज लाओससँग खेल्दै



काठमाडौं । विश्वकप २०२६ को प्रारम्भिक छनोटअन्तर्गत अवे मैदानमा आज मंगलबार नेपालले लाओससँग खेल्दैछ । होम मैदानमा खेलिएको खेलमा नेपालले लाओससँग १–१ बराबरी खेलेको थियो । यसमा अन्जन विष्टले गोल गर्दै नेपाललाई बराबरीमा पु¥याएका थिए ।

लाओसमा नेपालले कस्तो नतिजा निकाल्नेछ त्यो खेलपछि नै थाहा हुनेछ । नेपालले दशरथ रंगशालामा खेलेको खेल पस्केमा भने कुनै सकारात्मक नतिजा निस्कन सक्नेछैन । यो खेलमा नेपालका कोच भिन्सेन्जो अल्बर्टो एनेस खुशी देखिएनन् । पोस्ट म्याच पत्रकार सम्मेलनमा उनको अनुहारमा पटक्कै चमक देखिएन ।

भिन्सेन्जोले बताएका थिए—हामीले जुन सोचेका थियौ त्यो अनुसार प्रदर्शन भएन । धेरै ब्याक पास खेले । म यो प्रदर्शनबाट केही शब्द पनि बोल्न सकिरहेका छैन ।

बिहीबार करिब ११ हजार घरेलु दर्शक सामु नेपालले जितको नतिजा निकाल्ने सक्थ्यो । अन्जन विष्टको क्लोज रेन्जमा भएको हेड प्रहार गोल हुन सकेन । उनको प्रहारलाई लाओसका गोलकीपरले सहजै बचाएका थिए । त्यसो त अन्जनले १३ औं अन्तर्राष्ट्रिय गोल गरेर सर्वाधिक गोलको कीर्तिमानीसँग बराबरी गरेका छन् । उनलाई यो कीर्तिमानीमा एकल अग्रता बनाउन एक गोल मात्रै आवश्यक छ । शायद त्यो गोल लाओसमा हुनसक्नेछ ।

लाओसविरुद्ध स्ट्राइकर अन्जनमाथि धेरै निर्भर भएको थियो । अन्य खेलाडी गोल गर्न नजिक पनि थिएनन् । त्यो खेल हेर्दा विमल घर्तीमगर जस्ता अनुभवी खेलाडीको कमी महसुस भने भएको थियो । उनले जस्तै अन्य नेपाली फुटबलरहरु अस्टे«लियामा आफ्नो भविष्य बनाउन लागेका छन् । उनी या अरु अनुभवी खेलाडी यो खेलका लागि उपलब्ध भएको भए शायद लाओसविरुद्ध नेपालले जित्न सक्नेथियो ।

तर, यसमा अन्जन सहमति थिएनन् । उनले बताए—खेलाडी पलायन हुनुबाट कुनै असर भएको मैले देखेको छैन । उनीहरु केही अप्ठ्यारो परेर नै विदेश गएका हुन् । यसमा नकारात्मक कुरा केही छैन । खेलमा एक गए अर्को आउँछ । नयाँ नयाँ खेलाडीले मौका पाइरहेका छन् । मेरो विचारमा जति पनि खेलाडी बाहिर गएपनि या म नै टोलीमा नभएपनि नेपाली फुटबल रहिरहन्छ ।

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछ । त्यसको लागि नेपालले एसिया क्षेत्रको छनोटतर्फ प्रारम्भिक चरण खेल्नु परेको छ । प्रारम्भिक चरणमा एसियाका शीर्ष २६ बाहिर रहेका टिमहरुले खेलिरहेका छन्, जसमा २० टिमले होम एण्ड अवेका आधारमा दुई लेगको खेल खेल्नेछन् । यसमा विजेता १० टोली दोस्रो चरणमा खेल्न पाउनेछन् ।

कोच एनेसले लाओसविरुद्ध खेल्न अघिको प्रि म्याच पत्रकार सम्मेलनमा बताए —हामीले यो खेल जित्नैपर्छ र हामी आक्रमक फुटबल खेल्नेछौं ।’

नेपाल र लाओसबीच खेलको विजेता टोली दोस्रो चरणमा समूह एच मा पर्नेछ । सार्वजनिक भएको खेल तालिकाअनुसार सो समूहमा युएई र बहराइन सम्मिलित छन् । यस्तै यमन र श्रीलंकामध्ये एक टिम पनि यही समूहमै पर्नेछ । यसमा यमन पर्ने धेरै सम्भावना छ किनभने यमनले पहिलो लेगमा श्रीलंकालाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्