अफगानिस्तानसँग इंग्ल्यान्ड स्तब्ध



नयाँ दिल्ली, (एजेन्सी) । अफगानिस्तानले जारी क्रिकेट विश्वकपमा स्तब्ध नतिजा निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै स्तब्ध तुल्यायो । अफगानिस्तानले पहिले ब्याटिङ गरेर २ सय ८४ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको सबै खेलाडी ४०.३ ओभरमा २ सय १५ रनमा आउट भएको थियो । यो अफगानिस्तानको विश्वकपको इतिहासमा १८ औं खेलमा दोस्रो जित हो ।

यो जितसँगै अफगानिस्तानले पनि जारी विश्वकपमा अंक जोडेको छ । जारी विश्वकपमा यसअघि लगातार दुई खेलमा अफगानिस्तानलाई हार मिलेको थियो । बंगलादेश र भारतसँग अफगान टोली हारेको थियो । इंग्ल्यान्डको भने तेस्रो खेलमा यो दोस्रो हार थियो । पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको इंग्ल्यान्डले दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ८० रन जोडेका थिए । उनी दुर्भाग्य तरिकाले रनआउट भएपछि शतक प्रहार गर्न चुके । उनी क्रिजमा रहुन्जेल इंग्ल्यान्डका बलरलाई निकै कसरत गर्नुपरेको थियो । उनले मात्र ५७ बलको सामना गरेर ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसपछि अफगानिस्तानको ब्याटिङ सुस्त गतिमा चलेको थियो । तर, तल्लो इकरम अलीखिलले ५८ रन बनाएर अफगानको ब्याटिङमा ज्यान भरेका थिए । यस्तै, रासिद खानले २३ रन र मुजिब उर रहमानले २८ रन जोडेका थिए । इंग्ल्यान्डका बलरमा आदिल रासिदले सर्वाधिक ३ विकेट लिए भने मार्क वुडले २ विकेट हासिल गरेका थिए ।

इंग्ल्यान्डको खराब ब्याटिङ

इंग्ल्यान्डका लागि जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरुवात गरेका थिए । बेयरस्टोलाई फजलहक फारुकीले एलबीडब्ल्यूको शिकार बनाएपछि यो जोडी चल्नै पाएन । बेयरस्टोले २ रन मात्रै बनाउन सकेका थिए । जोए रुट पनि धेरै टिक्न सकेनन् । उनलाई मुजिब उर रहमानले ११ रनमा क्लिन बोल्ड गरेका थिए ।

६८ रनसम्म पुग्दा बंगलादेशविरुद्ध शतक प्रहार गरेका मलान आउट भए । मलानलाई मोहम्मद नाबीले ३२ रनमा आउट गरेका थिए । उनले प्रहार गरेको बल सीधै इब्राहिम जर्दानको हातमा गएको थियो । इंग्ल्यान्डका लागि संकटमोचनको रूपमा परिचित जोस बटलर पनि जम्न सकेनन् । उनी पनि ९ रन बनाएर छिटै आउट भएका थिए । लायम लिभिङस्टोन पनि १० रनमा आउट भए ।

ब्रुकको अर्धशतक

हेरी ब्रुकले अफगान बलरसँग रन बटुल्ने काम गरिरहे । तर, उनी एक्लैको प्रयास पनि टोलीलाई केही फाइदा भएन । आठौं विकेटको रूपमा आउट भएका ब्रुकले ६६ रन बनाए । इंग्ल्यान्डको आसा बनेका उनलाई मुजिब उर रहमानले आउट गरेका थिए । रहमानले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, आदिल रासिदको विकेट रासिद खानकै हातमा परेको थियो । रासिदले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्