इटालीको सहज जित



लन्डन, (एजेन्सी) । युरो २०२४ को छनोट खेलमा साविक विजेता इटालीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इटालीले माल्टालाई ४–० गोलअन्तरले हराएको हो । इटालीको जितमा डोमेनिको बेरार्डीले दुई गोल गरेका थिए । जिआकोमो बोनाभेन्टुरा र डेभिड फ्राटेसीले समान एक गोल गरे । जितपछि समूह ‘सी’ मा पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । यो जितपछि इटालीले युरो छनोटमा लगभग स्थान सुरक्षित गरेको छ । समान खेलबाट १३ अंकसहित इङल्यान्ड शीर्षस्थानमा छ । इटाली समूह सी मा इङ्ल्याण्ड भन्दा मात्र तीन अंकले पछि छ । अब मंगलबार इटालीले वेम्बलीमा इङ्ल्याण्डसँग खेल्नेछ ।

साविक विजेता इटालीले तेस्रो स्थानको युक्रेनसँग भने १० अंकको बराबरी गरेको छ । युक्रेनले नर्थ मेसोडोनियामाथि २–० को जित निकालेको थियो । उसलाई अघिल्लो चरण प्रवेश गर्न कम्तिमा पनि दुई जितको आवश्यकता पर्नेछ । मंगलबारको खेलले समूह सी को विजेता टोलीको लगभग टुंगो लाग्नेछ । १० अंकसहित युक्रेन तेस्रो स्थानमा रहंदा नर्थ म्यासेडोनिया चौथो र माल्टा पाँचौं स्थानमा छन् ।

त्यसैगरी डेनमार्कले यूरोकप छनोट खेलमा जितको नतिजा निकालेको छ । शनिबार राति नै भएको खेलमा डेनमार्कले आफ्नो घरेलु मैदानमा कजाकिस्तानलाई ३–१ गेलअन्तरले हराउँदै छनोट नजिक पुगेको हो । डेनमार्कको जितमा खेलको ३६औं मिनेटमा जोनास विन्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल पहिलो हाफको इंज्युरी समयमा रोबर्ट स्कोभले गरे । उनले हजलोन्डको पासमा उक्त गोल गरेका थिए । त्यसैगरी खेलको ४८औं मिनेटमा रोबर्ट स्कोभले गोल गरेपछि डेनमार्कले खेलमा ३–० को अग्रता बनाएको थियो । अर्कोतिर खेलको ५८औं मिनेटमा कजाकिस्तानले एक गोल फर्काएपछि खेलको अन्तिम नतिजा ३–१ ले डेनमार्कको पक्षमा गयो । यो जितपछि घरेलु मैदानमा खेलेको पछिल्ला ११ खेलमा डेनमार्क अपराजित भएको छ । जितपछि डेनमार्क सात खेलपछि १६ अंकका साथ समूह एच मा दोस्रो स्थानमा उक्लेको छ ।

त्यसैगरी समूह जी को खेलमा हंगेरीले पनि सर्बियालाई २–१ ले हराएपछि आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । यो समूहमा अपराजित रहेको हंगेरीले चौथो जित निकालेको हो । हंगेरीले समूहमा पाँच म्याच खेलिसकेको छ । हंगेरीको जितमा खेलको २०औं मिनेटमा बर्नाबास भर्गाले गोलको खाता खोलेका थिए । तर, उक्त अग्रता धेरै समय भने टिकेन । खेलको ३३औं मिनेटमा सर्बियाका स्त्राहिन्जा पाभलोभिन्चले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । तर, बराबरी गोल भएको एक मिनेटपछि नै रोनाल्ड सल्लाइले गोल गर्दै हंगेरीलाई खेलमा पुनः अग्रता दिलाउन सफल भए ।

त्यसपछि खेलमा थप गोल भएन र हंगेरीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको अन्ततिर भने हंगेरी १० खेलाडीमा समेटिएको थियो । उक्त जितपछि हंगेरी पाँच खेलबाट १३ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा लिथुआनियाले बुल्गेरियालाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित ग¥यो । छनोट चरणमा लिथुआनियाको यो पहिलो जित समेत बन्यो । यो जितपछि लिथुआनिया पाँच अंक सहित समूहको तेस्रो र मोन्टेनेग्रो आठ अंक सहित समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको जितविहीन बुल्गेरियाको भने दुई अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्