नेपालको लगातार दोस्रो जित



 काठमाडौं । नेपालले एसिसी यू १९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै सेमिफाइनलको संभावनालाई बलियो बनाएको छ ।

मलेसियामा भएको खेलमा ७८ रनको सामान्य विजयी लक्ष्य नेपालले ११..४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो जित थियो । टोलीलाई जित दिलाउन देव खनाल र अर्जुन कुमालले समान ३२ रनको योगदान दिएका थिए । बहराइनका बलरमा अन्स ओबैद सैइदले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । टोलीका लागि मोहम्मद बासिल अब्दुल हाकिमलेसर्वाधिक ३४ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा दीपेश कँडेलले घातक बलिङ गरे । उनले ९.५ ओभरमा ८ मेडन फ्याल्दै मात्र ४ रन खर्चेर ६ विकेट लिएका थिए । त्यस्तै दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्