पोर्चुगल युरोकपमा छनोट



लन्डन, (एजेन्सी) । क्रिष्टियानो रोनाल्डोको दुईगोल प्रेरित पोर्चुगल युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोलअन्तरले हराएको हो । जितपछि समूह ‘जी’ मा अपराजित पोर्चुगलले सात खेलबाट २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको पोर्चुगल दोस्रो स्थानमा स्लोभाकिया भन्दा आठ अंकले बढी छ ।

पोर्चुगलले सात खेलबाट मात्र दुई गोल बेहोर्दै २५ गोल गरेको छ । स्लोभाकिया समान खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । लक्जमबर्ग ११ अंकसहित तेस्रो स्थानमा छ । शुक्रबार राति नै भएको अन्य खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २–१, ग्रीसले आयरइलान्डलाई २–०, बेल्जियमले अष्ट्रियालाई ३–२, अजरबैजानले इस्टोनियालाई २–० ले हराएको छ ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरेका थिए । गोन्कालो रामोसले एक गोल थपेका थिए । अर्का स्टार ब्रुनो फर्नान्डेजले दुई असिस्ट गरेका थिए । स्लोभाकियाका डेभिड हान्स्को र लोबोक्ताले समान एक गोल गरे । यसै खेलमार्फत रोनाल्डोले पोर्चुगलको लागि दुई सय २ खेलमा एक सय २५ गोल गरेका छन् । खेलको १८औं मिनेटमा गोन्कालोले गोल गरेका थिए । पहिलो गोलको लागि फर्नान्डेजले पास उपलब्ध गराए । २९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

हान्स्कोले ६९औं मिनेटमा अग्रता २–१ को अन्तरमा खुम्च्याए । फर्नान्डेजले मिलाएको पासमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ३–१ को अग्रतामा पु¥याएका थिए । डुडाको पासमा लोबोत्काले गोल गरेपनि बराबर गर्न पर्याप्त भएन । रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करियरमा यो दुई गोल थप भएपछि १ सय २५ गोलसंख्या भएको छ ।

शुक्रबार रातिका अन्य खेलपछि फ्रान्स, बेल्जियम र आयोजक जर्मनीले पनि युरो २०२४ मा स्थान सुरक्षित गरेका छन् । जर्मनीको दश शहरमा आयोजना हुने यूरोकपमा २४ टोलीले सहभागिता जनाउनेछन् । स्टार खेलाडी केलियन एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्सले बलियो नेदरल्यान्ड्सलाई २–१ ले पराजित गरेको हो ।

जितपछि समूह ‘बी’ मा फ्रान्सको ६ खेलबाट १८ अंक छ । अपराजित फ्रान्सले १३ गोल गर्दा एक गोल मात्रै बेहोरेको छ । दोस्रो स्थानको ग्रीसभन्दा ६ स्थान माथि रहेको फ्रान्स युरो २०२४ लाई स्थान सुरक्षित गरेको हो ।

पराजित नेदरल्यान्ड्स पाँच खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ । फ्रान्सको जितमा एम्बाप्पेले दुबै हाफमा समान एक गोल गरेका थिए । खेलको सातौं मिनेटमा फ्रान्सले अग्रता बनायो । ५३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता २–० को बनाएका हुन् । नेदरल्यान्ड्सका हार्टम्यानले ८३औं मिनेटमा गोल गरेपनि बराबरीको लागि पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्