विश्वकपमा भारतको पाकिस्तानमाथि वर्चश्व जारी



काठमाडौं । जारी क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । यो भारतको लगातार तेस्रो जित हो भने पाकिस्तानको तेस्रो खेलमा पहिलो हार थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले १ सय ९१ रन मात्रै बनाउन सकेको थियो । टोलीका लागि कप्तान बाबर आजमले ५० रन र मोहम्मद रिजवानले ४९ रन जोडेका थिए । अन्य खेलाडीको प्रदर्शन राम्रो भएको थिएन ।

पाकिस्तान २ विकेटको क्षतिमा १ सय ५५ रनमा थियो । यसपछि ८ विकेट केवल ३६ रन बनाएर गुमाएको थियो । भारतका बलर हार्दिक पाण्डे, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराजले २÷२ विकेट बाँडेका थिए । उनीहरुले पाकिस्तानका चार खेलाडीलाई बोल्ड गरेका थिए । जसमा बाबर र रिजवान पनि सामेल थिए । उनीहरुको विकेट गएपछि पाकिस्तानले सोचे जस्तो ब्याटिङ गर्न सकेन ।

जवाफमा आयोजक राष्ट्रको भारतीय टोलीले १ सय ९२ रनको लक्ष्य ३ विकेटको क्षतिमा ३०.३ ओभरमै प्राप्त गरेको थियो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन जोडे । विश्वकपमा आठौं शतकतिर अग्रसर भइरहँदा उनलाई शाहिन शाहिद अफ्रीदीले आउट गरेका थिए । उनले ६३ बलको सामना गरी ६ छक्का र ६ चौका प्रहार गरेका थिए । अन्यमा श्रेयस अय्यरले ५३ रनको योगदान दिए ।

५० ओभरको क्रिकेट विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतमाथि जित हासिल गर्न सकेको छैन । पाकिस्तान र भारतबीचको खेललाई सबैभन्दा प्रतिस्पर्धाको रुपमा दर्शकले लिएका हुन्छन् । यो खेलका लागि जहाँ भएपनि रंगशाला भर्ने गर्छ । हिजै पनि अहमदाबादको रंगशालामा करिब १ लाख भन्दा बढी दर्शक रहेको जनाएको थियो । सन् १९९२ को विश्वकपदेखि यी दुबै टोलीले २००७ को विश्वकपलाई छाडेर हरेक विश्वकपमा एक अर्कासँग खेल्दै आएका छन् । यति समयमा ९ वटा विश्वकप आयोजना भएकोमा ८ वटा खेल भयो र आठ वटै खेलमा भारत विजयी भएको छ ।

१९९२ विश्वकप, सिडनी

१९९२ को विश्वकप उपाधि पाकिस्तानले जितेपनि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ४३ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । यो रन कम भए पनि पाकिस्तानी टोली १ सय ७३ रनमा समेटिएको थियो । आमिर सोहेलले ६२ रन बनाउनु नै पाकिस्तानको तर्फबाट एक मात्र उत्कृष्ट इनिङ थियो । भारतको तर्फबाट सचिन तेन्दुलकरले ५४ रन बनाएका थिए ।

१९९६ विश्वकप, बेंगलुरु

यो विश्वकपमा पाकिस्तान र भारतको सामना क्वार्टरफाइनलमा भएको थियो । यो खेलमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ सय ८७ रन बनाएको थियो । टोलीका लागि अजय जडेजाले २५ बलमै ४५ रन जोडेको थियो । यही इनिङले भारतको स्कोर ठूलो भएको थियो । टोलीका लागि सर्वाधिक योगदान नवजोत सिद्धुले गरे । उनले ९३ रन जोडेको थियो । जवाफमा पाकिस्तानी टोली २ सय ४८ रनमा समेटियो । टोलीका लागि यस पटक पनि आमिर सोहेलले सर्वाधिक ५५ रन जोडेका थिए । यो विश्वकप उपाधि श्रीलंकाले जितेको थियो ।

१९९९ विश्वकप, म्यानचेस्टर

यो विश्वकपको सुपर सिक्समा भारतले तीन खेल खेलेको थियो । तीन खेलमा एक खेल मात्रै जितेकोमा पाकिस्तानलाई पराजित गरेको थियो । न्युजिल्यान्ड र अस्टे«लियासँग भारत पराजित भएको थियो । यो विश्वकप उपाधि अस्टे«लियाले जित्दा पाकिस्तान प्रतिद्वन्द्वी टोली थियो । तर, भारतसँग हार्ने क्रम भने यो विश्वकपमा पनि जारी रह्यो । भारतले पाकिस्तानलाई ४७ रनले हराएको थियो । भारतले २ सय २८ रनको सामान्य लक्ष्य दिएपनि पाकिस्तानी टोली १ सय ८० रनमै समेटिएको थियो । भारतकोतर्फबाट राहुल द्रविड र कप्तान मोहम्मद अजरुद्दिनले अर्धशतक प्रहार गरे । तर, पाकिस्तानबाट कोही पनि खेलाडी अर्धशतकमा पुग्न सकेनन् ।

२००३ विश्वकप, सेन्च्युरियन

यो विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेको थियो । भारत र पाकिस्तानबीचको खेल निकै रोमाञ्चक भएको थियो । पहिलो पटक भारतविरुद्ध ब्याटिङ गर्न पाएको पाकिस्तानले २ सय ७३ रन बनाएको थियो । टोलीका लागि सईद अनवरले १ सय १ रनको आकर्षक इनिङ खेलेका थिए । तर, भारतले यो लक्ष्य ४५.४ ओभरमै प्राप्त गरेको थियो । भारतको तर्पmबाट सचिन तेन्दुलकर र युवराज सिंहले अर्धशतक प्रहार गरे । सचिन भने २ रनले शतक बनाउन चुकेका थिए ।

२००७ विश्वकप, वेस्टइन्डिज

यो विश्वकपमा भारत र पाकिस्तान समूह चरणमा छुट्टाछुट्टै समूहमा परेका थिए । तर, दुबै टोली समूह चरणबाटै बाहिरिएका थिए । यही कारण यी दुई टोलीबीच यस विश्वकपमा आमना सामना हुन सकेन ।

२०११ विश्वकप, मोहाली

यो विश्वकपको उपाधि भारतले जितेको थियो । भारत सेमिफाइनल पुग्न पाकिस्तानलाई सेमिफाइनलमा हराएको थियो । भारतले यो खेल २९ रनले जितेको थियो । भारतले सचिन तेन्दुलकरको अर्धशतकको सहयोगमा २ सय ६० रन बनाएको थियो । जवाफमा पाकिस्तान २ सय ३१ रनमै रोकिएको थियो । शाहिद अफ्रीदीको कप्तानीमा पाकिस्तानका लागि सर्वाधिक योगदान मिसबाह उल हकले दिए । उनले ५६ रन जोडेका थिए । उनले टोलीलाई जित दिलाउन निकै मेहनत गरेका थिए । उनी अन्तिम विकेटको रुपमा आउट भएका थिए ।

२०१५ विश्वकप, एडिलेड

यो विश्वकपमा भारतले ३ सय रन बनाएको थियो । पाकिस्तानका बलरलाई विराट कोहलीले निकै निरास तुल्याएका थिए । उनले १ सय ७ रनको शतकीय इनिङ खेले भने सुरेश रैनाले अर्धशतक बनाएका थिए । ३ सय १ रनको लक्ष्य पाउन ब्याटिङमा उत्रेको पाकिस्तानी टोलीले निकै निरासजनक ब्याटिङ देखाएको थियो । केवल कप्तान मिसबाह उल हकले ७६ रन बनाए । पाकिस्तानी टोली २ सय २४ रनमै समेटियो र भारत ७६ रनले विजयी भयो ।

२०१९ विश्वकप, म्यानचेस्टर

यो विश्वकपमा भारतले पाकिस्तानका बलरलाई निकै दवावमा राखेको थियो । रोहित शर्मा एक्लैले १ सय ४० रन बनाउँदा भारतले समूह चरणको खेलमा ३ सय ३६ रन बनायो । कप्तान विराट कोहलीले ७७ रन र ओपनर केएल राहुललले ५७ रन जोडेका थिए । यी तीनै खेलाडी जारी विश्वकपमा पनि छन् । विश्वकप इतिहासमा भारतको पाकिस्तानविरुद्ध यो उच्चतम स्कोर समेत थियो । जवाफमा पाकिस्तान ४० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन जोडेको थियो । तर, वर्षाको कारण डीएल पद्धतिमा भारत ८९ रनले जितेको थियो । पाकिस्तानबाट फखर जमानले सर्वाधिक ६२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्