विद्यार्थीहरूलाई न्यानो कपडा र झोला वितरण



धादिङ । धादिङको उत्तरी दक्षिण क्षेत्र बेनीघाट रोराङ गाउँपालिका–१ चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा, झोला र स्टेशनरीका सामान वितरण गरिएको छ ।

मानवीय सेवाभावलाई आत्मसात गर्दे नेपालका लोपोन्मुख जाति चेपाङहरूको बाहुल्य रहेको बस्ती चिम्माङमा अवस्थित विद्यालयमा अध्ययनरत १०० भन्दा बढी बालबालिकाहरू लक्षित गर्दे शैक्षिक सामाग्री झोला, स्वीटर, कापीकलम र अति विपन्न बालबालिकाका महिला अभिभावकलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजना, क्लबका पूर्वअध्यक्ष सविता सिग्देल बरालको समन्वयमा विभिन्न सहयोगी मनबाट संकलित दुई लाख बढ़ी बरावरको सामाग्री वितरण गरिएको हो ।

विशेष गरी चेपाङ जातिका बच्चा अध्ययनरत विकट क्षेत्रमा रहेको सो विद्यालयमा अध्ययरत १ सय ६ जना विद्यार्थीलाई स्वीटर, झोला, कापी, कलम वितरण गरिएको थियो ।

चेपाङका बच्चाहरूका लागि राजु थापा र जनार्जन ढुंगेलले एक सय स्थान झोला, स्टेशनरीका सामान उपलब्ध गराएको संयोजक बरालले बताईन् । त्यसैगरी तिल क्षेत्रीले आफ्ना छोराछोरी सुदिन र सुबिनाको नामबाट ५० हजार रूपैयाँ बराबरको स्वीटर तथा स्टेशनरीका समान वितरण गरेका छन् । त्यस्तै अर्का अन्जु गुरूङ र सुवर्ण एक सय ७ पाकेट सिसाकलम उपलब्ध गराएका छन् ।

आर्थिक अवस्था कमजोर भएका चेपाङ महिलाका लागि सुनिता नेहराको सहयोगमा २० हजार रूपैयाँ बराबरको २१ जोर न्यायो कपडा उपलब्ध गराईएको छ ।

न्यानो कपडा र स्टेशनरी लगायत सामग्री वितरणका लागि पोखराबाट लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष केसी माया नेपाली, पूर्वअध्यक्षद्वय सविता बराल, शोभा अधिकारी, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले, डिष्ट्रिक्ट कोअर्डिनेटरद्वय अमृतप्रसाद तिवारी र टंकराज अधिकारी लगायतको टोली विकट ठाउँ चिम्बासस्थित विद्यालय पुगेका थिए । विद्यालय पुग्न बेनीघाट वजारबाट करिव साढ़े दुई घण्टामा गाडीमा पुगेका थिए ।

न्यानो कपडा र स्टेशनरी प्राप्त गर्दा चेपाङ विद्यार्थी तथा उनीहरुका अभिभावकहरु खुसी देखिन्थे । क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षता, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामग्री वितरण पश्चात बोल्दै प्रमुख अतिथि ढुंगानाले विकट ठाउँमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै दुरदराजका क्षेत्रमा सेवा गर्न सकियोस भन्ने चाहना हो त्यो पिस टाउनले पूरा गरेकोमा क्लब परिवारप्रति आभार व्यक्त गरे । ढुङगानाले भने, ‘यहाँहरूले नसक्ने र हामीले सक्ने भनेर हामीले पक्कै पनि यी सामग्री ल्याएका हैनौ,’ साना कलिला विद्यार्थी भाई बैनीहरूलाई असल संस्कार सिकाउनका लागि उपस्थित भएका हौं जो भोली उनिहरूले अनुशरण गर्न सकुन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण बीचमै पढाइ छाड्ने, विकट क्षेत्र भएकाले बालबालिकालाई घरबाट विद्यालय आइपुग्न लामोसमय लाग्ने विद्यालयका प्रध्यानाध्यापक प्रधानाध्यापक दीर्घबहादुर थापाले बताए ।

धादिङको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जाति र तामाङ जातीको बसोबास रहेको छ । बिधालयमा शिशु कक्षादेखि ५ सम्म पढाइ हुने गर्दछ । जहाँ अधिकांश चेपाङ बालबालिका पढ्छन् प्रअ थापा बताउँछन्।

“हामी सेवा गर्छौं” भन्ने नाराका साथ विश्वव्यापी रूपमा सामाजिक र मानवीय सेवामा समर्पित लायन्स अन्तराष्ट्रिय सेवामूलक संस्थाको रुपमा क्रियाशील छ । क्लबले शिक्षा, स्वास्थ्य, वातावरण जस्ता मूलभूत क्षेत्रमा रही सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्