लाओसविरुद्धको खेलका लागि नेपाली टोली घोषणा



काठमाडौं । नेपालले लाओसविरुद्ध खेल्ने टिमको घोषणा गरेको छ ।

विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा नेपालले बिहीबार लाओसको सामना गर्दैछ । जसका लागि नेपालले लाओसविरुद्ध खेल्ने टिमको घोषणा गरेको हो । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गतको घरेलु मैदानमा हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको हो । मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । बन्द प्रशिक्षणबाट सिमान्त थापा र अनिश देउला भने बाहिरिएका छन् ।

२३ सदस्यीय नेपाली टोली :

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षक : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विष्ट
मिडफिल्डर : सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी
फरवार्ड : अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

२३ सदस्यीय टोलीको छनोट अघि बुधबार नै भएको पत्रकार सम्मलेनमा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको बताएका थिए । ‘लाओसविरुद्धको खेल हाम्रा लागि कती महत्वपूर्ण छ भन्ने सबैलाई सबैलाई थाहा छ । हामीले दुई महिनाको तयारी गरेका छौँ । यसबीचमा म्यानमारसँग दुई तथा स्थानीय क्लबसँग केही मैत्रीपुर्ण खेल्यौ । सबै खेलाडी सबै फिट छन्’, एनेसले भने,‘ हामीलाई घरेलु मैदानको फाइदा हुनेछ । मेरा लागि यो पहिलो विश्वकप छनोट भएकाले झनै महत्वपूर्ण छ । हामी भोलि मैदानमा राम्रो प्रदर्शन गर्छौ । हामीले गत मार्चमा थ्री नेसन्स लिगमा लाओसको सामना गरेका थियौं । तर, त्यती बेला र अहिलोको पस्थितिमा निकै परिवर्तन भइसकेको छ । लाओसको टोली फेरिएको छ । उनीहरुले पनि राम्रो तयारी गरेका छन् । खेल रोमाञ्चक हुन्छ भन्ने आशा छ । खेलका लागि उत्साहित छौं । जित निकाल्दै दोस्रो चरणमा पुग्ने चाहना छ ।’

त्यसैगरी नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले पनि घरेलु मैदानमा नेपाल लाओसविरुद्धको खेल हेर्नका लागि दर्शकलाई रंगशालामा उपस्थित हुन आग्रह गरेका छन् । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरण अन्तर्गतको खेलअघि बुधबार किरणले दर्शकलाई रंगशालामै उपस्थित भएर हौसला बढाउन आग्रह गरेका हुन् । ‘दशरथ रंगशालामा दर्शकमाझ खेल्न रमाइलो लाग्छ । जहाँ खेले पनि होम क्राउडमा खेल्नुको मजा छुट्टै हुन्छ । धेरै दर्शक आउने र समर्थन गर्ने विश्वास छ । भोलि केही फरक हुन्छ भन्ने विश्वास छ । नेपालकै ठूलो झन्डा देख्न पाउँ । सबै जना मिलेर राष्ट्रिय गित गाउँ । ९० मिनेट नै रातो र चन्द सूर्य गित गुन्जियोस् । तपाईँहरु यसरी आइदिनु होस् की रंगशालामै नअटाओस् । हामी १५ हजार भन्दा बढी दर्शक चाहन्छौं । नेपालमा व्यवस्थित फ्यान कल्चर देख्न पाईएको छैन । पक्कैपनि लाओसविरुद्ध त्यो अपेक्षा छ ।’

यसैगरी किरणले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको बताएका छन् । ‘तयारी राम्रो छ । यो सबैभन्दा लामो तयारी हो । विश्वकप छनोट खेल्न फरक हुन्छ । त्रिकोणात्मक श्रृंखला जस्तो हुँदैन । टोलीमा केही परिवर्तन भएको छ । घरमा जित्न चाहन्छौं,’ किरणले भने,‘टोली शारीरिक, रणनीति र प्राविधिक रुपमा राम्रो छ । लाओसको टोली पनि राम्रो छ । हामी खेल खेल्न तयार छौ ।’ बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे नेपाल र लाओसबीच खेल हुनेछ ।

हेड टू हेडमा नेपालविरुद्ध लाओस

हेड टू हेडमा नेपाल र लाओसबीचको नतिजा हेर्ने हो भने नेपाल नै हावी देखिन्छ । तथ्याङ्क अनुसार अहिलेसम्म नेपाल र लाओसबीच कुल चार म्याच भएको छ । जसमध्ये नेपालले दुई पटक जितेको छ भने दुई पटक खेल बराबरीमा टुंगिएको छ । नेपालले जितेका दुई खेल दशरथ रंगशालामा खेलिएका थिए । गोलको कुरा गर्दा नेपालले लाओसविरुद्ध सात गोल गरेको छ भने चार गोल बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्