नेपालको द रेड सुटकेस र गुराँस मुम्बई फेस्टिभलमा



भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटाद्वारा निर्देशित फिल्म द रेड सुटकेस मुम्बई फिल्म फेस्टिभलको साउथ एसिया कम्पिटिसनमा परेको छ। सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको गुराँस पनि प्रतिस्पर्धामा परेको छ। आइसफल प्रडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनस“ग मिलेर निर्माण गरेको द रेड सुटकेस यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो।

द रेड सुटकेसबाहेक सौरभ राई निर्देशित गुराँस पनि यही विधाको प्रतिस्पर्धी रहेको छ। यो फिल्म आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्। लो आइक्यू प्रडक्सन, क्राउलिङ एन्जल फिल्म्स् र निओनेट अडियो एलएलपीसमेतको निर्माण रहेको गुराँस भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो। यो दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउथ एसियन प्रिमियर भएको थियो।

निर्माता पोखरेलले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको भएको बताएका छन्। आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा दुई सय ५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्