आइची नागोयामा भेट्ने वाचासहित १९ औं एसियाड सम्पन्न



हाङझाउ । सन् २०२६ मा जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड)को आइतबार भव्य समापन भएको छ ।

हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो। बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति समेत भएको थियो । २०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो।

ओलम्पिक काउन्सिल अफ एसिया (एसिया) का एक्टिङ प्रेसिडेन्ट राजा रणधिर सिंहले १९औं संस्करणको समापन भएको घोषणा गरेका थिए । उनले आइची प्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झण्डा हस्तान्तरण गरेका थिए । समापन समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङको उपस्थित रहेको थियो ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहका १९औं एसियाडको भिडियो हाईलाइट्ससहित विभिन्न उत्कृष्ट क्षणहरुको भिडियो देखाइएको थियो ।

त्यस्तै तीन वर्षपछि २०औं एसियाड आयोजना गर्ने आइची नागोया शरहको कलात्मक प्रस्तुति समेत देखाइएको थियो ।

त्यस्तै डिजिटल टर्चबियरले ओलम्पिक ज्योती निभाएका थिए । अन्तिममा हान्झाउ एसियाडको मुख्य नाराको रुपमा रहेको हार्टु हार्टको प्रस्तुति देखाइएको थियो।

१६ दिनसम्म चलेको १९औं एसियाडको आयोजक चीनले पदक तालिकामा दबदबा कायम राख्दा आयोजना पनि भव्य रुपमा सम्पन्न ग¥यो । अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४ सय ८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक तालिकामा नाम लेखाउन सफल भए ।

जसमा आयोजक चीनले कीर्तिमानी २ सय १ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । चीन सर्वाधिक २ सय १ स्वर्ण सहित १११ रजत र ७१ कास्यहसित ३ सु ८३ पदक जितेर शीर्ष स्थानमा रह्यो ।

जापान ५२ स्वर्ण ६७ रजत ६९ कास्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कास्यसहित १ सय ९० पदक जितेर तेस्रोमा रह्यो ।

भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कास्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । नेपाल एक रजत र एक कास्य जित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो। नेपालक लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कास्य जिते ।

समापन समारोहको मार्सपासमा नेपालको झण्डा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङले बोकेकी थिइन् । नेपालले २९ खेलमा २५३ खेलाडी सहभागि गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्