एरिकाले दिलाइन् नेपाललाई रजत पदक



हाङझाउ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा कराँते खेलाडी एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् ।

जारी एसियाडको समापन समारोह हुने एक दिनअघि शनिबार कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहअन्तर्गत सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अंकले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले फाइनल पुगेलगत्तै रजत पदक भने पक्का गरेकी थिइन् ।

त्यसपछि शनिबारै राति स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एरिक काजकस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । उनले त्यसअघि शनिबार दिउँसो भएको क्वार्टरफाइनलमा जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १–१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।

विश्व कराँते महासंघको वरीयतामा पाँचौं स्थानमा रहेकी जापानकी प्रतिद्वन्द्वी एजुकी जापान कराँते प्रिमियर लिगमा स्वर्ण तथा कन्टिनेन्टल च्याम्पियनसिपकी पनि स्वर्ण विजेता थिइन् । जसले गर्दा एरिकाको पहिलो खेल निकै चुनौतीपूर्ण हुने ठानिएको थियो ।

तर, उक्त खेलमा साहसिक प्रदर्शन गरेर निर्धारित समयको खेलमा दुवैले १–१ अंक प्राप्त गरेपछि बराबरी भएको थियो । त्यसपछि खेल विजेताको निर्णय ‘सेन्सु’ को आधारमा भयो । जसमा एरिकाले बाजी मारिन् ।

उक्त जितपछि उनले सेमीफाइनलमा हङकङका खेलाडीलाई उत्कृष्ट खेल पस्किँदै पराजित गर्न सफल भइन् र नेपाललाई ऐतिहासिक रजत पदकको सामु पु¥याइन् । फाइनलमा पराजित भएपछि एरिकाले भनिन्– ‘मैले आफूले सकेको प्रयास गरेँ । फाइनल जित्ने प्रयास पुरा हुन सकेन ।’

एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमार्फत् कांस्य पदक भित्राएको थियो ।

नौ वर्षअघि मनमैजु डोजोमा कराँते खेल्न सुरु गरेकि उनले यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएकी हुन् । रजत पदक जितेपछि खुसी हुँदै देशको लागि रजत जित्न सकेकोमा निकै खुसी भएको बताइन् ।

उनले भनिन् – ‘फाइनलमा पनि सक्दो प्रयास गरेकी थिएँ । छोटो अवधिको तयारीका बाबजुद पनि देशको लागि रजत जितेँ, धेरै खुसी लागेको छ । यो जितको श्रेय म मेरो बुबा आमा, मेरो गुरु र सम्पूर्ण नेपालीहरूलाई दिन चाहन्छु ।’, उनले भनिन् – ‘मैले आफ्नो प्रतिद्वन्द्वीहरूले खेलेको भिडियो हेरेर नै सिक्ने मौका पाएको थिएँ । त्यसैको आधारमा खेल्ने रणनीति पनि बनाएको थिएँ ।’ केही समयअघि इन्डोनेसियामा भएको प्रतियोगिताले गर्दा पनि तयारीको लागि प्लस पोइन्ट भयो ।

कराँतेका प्रशिक्षक कुशल श्रेष्ठले छोटो अवधिको प्रशिक्षणका बाबजुद पनि पदक ल्याउन सकेकोमा खुसी लागेको बताए । उनले भने– ‘कजाकस्तानका खेलाडी विश्वस्तरकै शीर्ष स्थानका खेलाडी हुन् । ¥याकिङगका खेलाडीविरुद्ध एरिकाको प्रदर्शन प्रशंसायोग्य छ । तयारी अवधि छोटो भए पनि कुनै दिन पनि खेलाडीहरूले ट्रेनिङ रोकेनन् ।’

यसअघि एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत पदक जितेको थियो । सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । योसमेत एसियाली खेलकुदमा भने नेपाली खेलाडीले प्राप्त गरेको यो तेस्रो रजत पदक हो । यसअघि गत २०१८ को जकार्ता एसियाडमा पाराग्लाइडिङमा नेपालले रजत जितेको थियो ।

एसियाड कराँतेतर्फ भने नेपालले जितेको यो पहिलो रजत पदक हो । एसियाडमा कराँतेमार्फत भने नेपालको यो चौथो पदक हो । यसअघि भने नेपालले कराँतेबाट तीनवटा कांस्य पदक जितेको थियो । जसमध्ये सन् १९९४ मा सीता राई, १९९८ मा सम्बरबहादुर गोले र २०१४ मा विमला तामाङले कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्