शेयर र घरजग्गा कर्जामा राष्ट्र बैंक लचिलो



काठमाडौं।

शेयर धितो कर्जा र घरजग्गा कर्जामा राष्ट्र बैंक लचिलो बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाएर १५ करोड रुपियाँ पु¥याएको छ । यसअघि १२ करोड रुपियाँ रहेको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताले लिने शेयर धितो कर्जाको सीमा भने २० करोड रुपियाँ बनाएको छ । घरजग्गा क्षेत्रमा जाने कर्जामा पनि नेपाल राष्ट्र बैंक लचक देखिएको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै काठमाडौ उपत्यकामा पनि घरजग्गा क्षेत्रका कर्जाको ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पु¥याएको छ।

राष्ट्र बैंकका अनुसार घरजग्गा कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म कायम गर्नुपर्ने भएको छ । निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनालाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गरिएको छ।

यसअघि काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था थियो । एकीकृत परिपत्र अनुसार अब ५० लाख रुपियाँभन्दा बढी मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएको छ ।

राष्ट्र बैंकले २५ लाख रुपियाँमाथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ । एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाखमाथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो । यसअघिको १५० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्