संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्छ : रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्ने बताएका छन् । आज संविधान दिवसको अवसरमा उनले संविधान कार्यान्वयनमा समस्या देखाएर नहुने समेत तर्क गरेका छन् ।

रेग्मीले समस्याको समाधान, परिणाममुखी कार्य गर्न सके संविधानको मर्म र भावना अनुरूप अघि देश अघि बढ्ने बताए । संविधानले प्रत्यभूति गरेका नागरिकको हक र अधिकार सुनिश्चित गरिए संविधान कार्यान्वयनका देखिएका चुनौती हटेर जाने बताए ।

अध्यक्ष रेग्मीले नवौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संवैधानिक विधि र विधानलाई पालना र अनुशरण गर्दै हाम्रो लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाउनुपर्नेमा जोड दिए ।

‘ऐतिहासिक रूपमा सम्पन्न भएका पटकपटकका संघर्ष र आन्दोलनबाट भत्किँदै र फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनको चरणमा आईपुगेका छौं’ रेग्मीले भनेका छन्– आफ्नो संविधान जनता आफैले बनाउने अवसर प्राप्त भएको ऐतिहासिक दुर्लभ क्षणको पनि आज आठ वर्ष बितिसकेको छ ।

यसबीचमा नेपाली जनताको आकांक्षा अनुरूप संविधानको भावनाअनुसार कति काम गर्न सक्यौं र कति अगाडि बढ्न सक्यौं ? संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटकपटक दोहोर्याई तेहर्याई किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।

अहिले त धार्मिक र सामाजिक सदभाव खलबलिने असहिंष्णु वातावरण निर्माण गर्ने प्रवृत्ति पो देखा पर्दैछ । स्वतन्त्रताको नाममा अतिवाद हावी हुँदो छ र सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । सामाजिक मर्यादा भङ्ग हुने र स्व–अनुशासनमा रहने भन्दा भत्काउन उद्दत हुने प्रवृत्ति बढ्दो भन्दै रेग्मीको प्रश्न छ– यसरी कसरी लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सदभाव सुदृढ होला ?

संविधान दिवस उल्लासमय तरिकाले मनाइरहदा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा रहेको द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा पीडितको पीडा जस्ताको तस्तै रहेको भन्दै उनले यसले समाजमा द्वन्द्व र संघर्षलाई सम्झाउने काम गरिरहेछ । जो सुखदपक्ष भएको बताएका छन् । संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानूनहरू अझ निर्माण हुन बाँकी नै छन् । संघीयताको कार्यान्वयनमा गर्नुपर्ने कामहरू प्रसस्तै छन् ।

यस अवस्थामा छिटोभन्दा छिटो संविधानको व्यावहारिक कार्यान्वयनलाई पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्याउनु अहिलेको महत्वपूर्ण कार्यभार रहेको छ । रेग्मी भन्छन्– यसमा ढिलो गर्ने छुट कत्ति पनि छैन । परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने गरी कार्य गरी संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न रेग्मीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्