गाईघाटमा तरकारी अत्यधिक महँगो : पसलै पिच्छे फरक भाउ



उदयपुर । 

उदयपुरको सदरमुकाम गाईघाट स्थित सगरमाथा कृषि उपज बजारमा तरकारीको भाउ पसलै पिच्छे फरक रहेको छ भने अत्यधिक महँगो भएको बताइएको छ ।

गाईघाटको सगरमाथा कृषि उपज बजारमा थोक तथा खुद्रा तरकारी खरिद बिक्री हुन्छ भने आलु, प्याज, मुला, गाँजर, परवल बाहेकका तरकारी उदयपुरका विभिन्न नगर तथा गाउँ पालिकामा उत्पादित बिक्री हुने गरेको छ ।

आज तरकारी बजारमा हाम्रा समाचारदाताले सगरमाथा कृषि उपज बजारमा तरकारीको खुद्रा मूल्य प्रत्येक पसलमा सोध्दा फरक फरक भाउ मूल्य  पाएको छ भने तरकारी ढुवानीमा लागत बढ्दा  मूल्य  फरक परेको व्यापारीहरुले बताएका छन् ।

आज सगरमाथा कृषि उपज बजारमा तरकारीको सरदर भाउ यस्तो  छ

हरियो खोर्सानी प्रतिकिलो  २००।, टमाटर १००।, लसुन  ४००।, जरेसिमी १६०।, तीते करेला १२०।, सानो बोडी ८०। लमो बोडी १००।, बन्दाकोबी ६०।, ओल ९०। प्रतिकिलो रहेको छ । यसैगरी परबल १००।, घिरौला ४०।, रामतोरिया ५०।, स्कुश ६०।, रामझिगनी ४०। फर्सी ६०।, अदुवा १००।, आलु ५०। काक्रो ५०।, भान्टा ९०।, रायोको साग १६०।, मिश्रित साग १००। प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै प्याज ९०। मुला ८०।, पहाडे निगुरो ६०। मुठाको, स्थानीय निगुरो रु २० प्रतिमुठा, पिँडालु १०० । तरकारी खाने खोर्सानी २०० । बेसार मानाको ४० देखि ५० सम्म, कुर्नी साग प्रतिकिलो रु ५० । रहेको छ । स्थानीय गुन्द्रुक प्रतिमाना ५० । रहेको छ ।

तरकारी महँगो हुनुको कारणका बारेमा सगरमाथा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दशरथ साहले ढुवानीभाडाले गर्दा महँगो पर्न गएको बताए । सिराहको लहान, गोलबजार, धनगढी, चोहर्वा सप्तरीको रुपनी राजविराज लगायतका ठाउँबाट किनेर ल्याउने गरेकोले ढुवानी भाडा महँगो भएकोले तरकारी पनि महँगो भएको बताए ।

यस बारेमा कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख महेश कुमार चौधरीले अहिले बजारमा बिक्री हुने तरकारी मध्ये साग, आलु, फर्सी, बोडी, निगुरो, भान्टा, घिरौला , पिडालु, रामतोरिया, अदुवा, बेसार, केरा लगायतका तरकारीहरु स्थानीय उत्पादन बजारमा बिक्री हुने गरेकोम बताए ।
सूचना अधिकारी चौधरीका अनुसार अदुवा बेसार र केरामा उदयपुर आत्म निर्भर भएको र उदयपुरको बेसार नेपालको बजारमा अत्यन्तै चल्तीले बिक्री भइरहेको छ ।

यहाँको बजारमा पाइने तरकारीको थोक तथा खुद्रा मूल्य  बजार भाउ कृषि ज्ञान केन्द्रले पनि बुझिरहने र कहिले काही बाहिरबाट ल्याएको तरकारीमा मूल्य फरक हुन सक्ने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख समेत रहेका चौधरीले बताए ।

कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्रसार अधिकृत तथा तथ्याङ्क प्रमुख फूलमाया शेर्पाले विगतको भन्दा अहिले बजारमा स्थानीय तरकारी, अदुवा बेसार र केराले राम्रो बजार पाएको छ र उत्पादन पनि विगतको तुलनामा गत वर्ष बढी भएको बताइन ।

प्रतिक्रिया दिनुहोस्