धनगढीमा डेंङ्गु महामारी- निजी अस्पतालको ब्रह्मलुट !



धनगढी । सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ । विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ ।

आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको संक्रमण भैसकेको देखिएको छ । यो महिना (भदौ)को मात्र तथ्यांक हेर्दा अहिलेसम्म ३०८ जनामा संक्रमण देखिएको छ । यसले गर्दा संक्रमण तीव्र रुपमा फैलिईरहेको देखिन्छ । हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (१ जना) बैतडीमा रहेको देखाएको छ ।

यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालहरुले भने मौकामा चौका हान्न खोजेका छन् । उनीहरूले डेङ्गु परीक्षणका नाममा लुट मच्चाइएको पाइएको छ । धनगढीका निजी अस्पतालहरूले सेवाग्राहीबाट डेङ्गु परीक्षणको मात्रै चर्को शुल्क लिँदै ब्रह्मलुट मच्चाएका हुन् ।

स्रोतका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालले डेङ्गु परीक्षण गरेको ५ सयमात्रै रुपियाँ लिने गरेको छ । डेङ्गु परीक्षणमा प्रयोग गरिने कीट पनि करिव ३०० सम्मको मूल्यमा पाइने बताइन्छ ।

तर, धनगढीका निजी अस्पतालहरुले भने महामारीकै बेला डेङ्गु परीक्षणको दोब्बर मात्र होइन, तेब्बरसम्म शुल्क लिने गरेको पाइएको छ । जसअनुसार लुट्नैको लागि खोलिएझैँ गरि धनगढीको सारथी अस्पतालले डेङ्गु परीक्षाणको २ हजार शुल्क लिइरहेको छ । उसो त यो अस्पताल बेलाबेला विवादित पनि भैरहने अस्पताल पनि हो ।

यस्तै अर्को मेडिकल माफिया दुष्यन्त बस्नेतको सञ्जीवनी अस्पतालले १ हजार ८ सय शुल्क लिने गरेको छ । जबकी यो अस्पतालले सञ्चालन का लागि स्वीकृति तथा अनुमती नलिएको पाएको छ ।

यस्तै सिपी अस्पताल र कैलाली अस्पतालले १ हजार ५ सय शुल्क लिने गरेका छन् । सिपी अस्पताल धनगढीको पुरानो निजी अस्पताल भएपनि सेवा सुविधा जे–जस्तो होस् ठगीमा संलग्न देखिन्छ ।

यस्तै धनगढीको मायामेट्रो अस्पताल, स्वस्तिक अस्पताल, ओमआशा अस्पताल र केजी अस्पतालले भने १ हजार २ सय रुपियाँ लिने गरेको पाइएको छ । यिनीहरूले लिइरहेको रकम पनि दोब्बर बढी नै हो । त्यस्तै अर्को धनगढीको नवजीवन अस्पतालले १ हजार १ सय, सौभाग्य अस्पतालले १ हजार शुल्क लिने गरेको छ ।

त्यस्तै धनगढीको नोभा अस्पतालले भने ६ सय मात्रै शुल्क लिने गरेको पाइएको छ । यसरी निजी अस्पतालहरुले चर्को शुल्क असुल्दा सेवाग्राही भने महामारीकै समयमा ठगिन थालेका छन् । यस्तो प्रकारको ठगी नियन्त्रण तथा यी अस्पतालहरुलाई नियमन गर्ने निकायहरु भने सुतेजस्तै रहेको सेवाग्राहीहरूको गुनासो छ ।

यस विषयमा जिल्ला प्रशासन कैलालीका प्रमुख (सिडिओ) युवराज कटेलले भने पालिकाबाट अनुमती पाएकारनपाएका र प्रदेश मातहत सञ्चालनमा रहेका अस्पतालहरुको अनुगमन नहुँदा समस्या आएको बताए ।

उनका अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालयले अनुगमन नै गरेको छैन, यस्तै धनगढी उपमहानगरपालिकाले पनि अनुगमन नगर्दा यस्तो दुःखद् परिस्थिति आएको हो ।

तर, अब आफूले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर यो लुटधन्दा रोक्न भोलिबाटै काम गर्ने बताए । यो स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्