सन्दर्भ- जनै पूर्णिमा वैज्ञानिक दृष्टिमा जनै लगाउने संस्कृति



आज जनै पूर्णिमा । यस पूर्णिमालाई रक्षाबन्धन पूर्णिमा, ऋषितर्पणी पूर्णिमा वा क्वाँटी पूर्णिमा पनि भनिन्छ । तागाधारीहरुले अभिमन्त्रित नवयज्ञोपवीत (जनै) धारण गर्ने भएकाले यस दिनलाई जनै पूर्णिमा भनिएको हो भने अभिमन्त्रित रक्षाडोरो वा राखी हातमा बाँधिने भएकाले रक्षाबन्धन पूर्णिमा पनि भन्ने गरिएको छ । त्यसै गरी ऋषिहरुलाई तर्पण गरिने दिन भएकाले ऋषितर्पणी पूर्णिमा र भिजाएको गेडागुडी (क्वाँटी) खाने दिन भएकाले यस दिनलाई क्वाँटी पूर्णिमासमेत भन्ने गरिएको छ । यी सबै कार्य आ–आफ्ना ठाउँमा महत्वपूर्ण छन् । यी मध्ये आज म जनै अर्थात् यज्ञोपवीतका बारेमा उल्लेख गर्न गइरहेको छु ।

उपनयन–संस्कारका क्रममा यज्ञोपवीत धारण गर्ने परम्परा सनातनदेखि चलिआएको हो । आजकल समाजमा देखाउनका लागि धूमधामसँग व्रतबन्ध त गरिन्छ तर जनै लगाएर नियमित गायत्री मन्त्र जप्नेहरू कम हुँदै गएका छन् । हुन त धार्मिक मान्यताप्रतिको आस्था घट्दै गएका कारण जनै लगाउने परम्परा लोप हुन लागेको हो । नियमपूर्वक जनै लगाएर गायत्री मन्त्र जप्नाले धर्म हुने कुरा त आफ्नो ठाउँमा होला, मानसिक एवं शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हाम्रा धर्मशास्त्रीहरूले बुझाउन नसक्नु नै यसप्रतिको विश्वास घट्नु हो ।

बरु स्वीट्जरल्यान्डका नागरिक रुडोल्फ होगरले नेपालमा समेत आएर अध्ययन गरी ‘द सेक्रेड थ्रेड’ नामको यज्ञोपवीतसम्बन्धी पुस्तक नै लेखेका छन्, जुन पुस्तक सन् २०१४ मा प्रकाशित भएको थियो । उनले आफ्नो पुस्तकमा जनैको धार्मिक महत्वका साथै यसले मानिसमा पार्ने मनोवैज्ञानिक प्रभावका बारेमा दर्शाएका छन् ।

सङ्क्षेपमा भन्दा एक केस्रा जनैमा पाँचवटा शिखा (ग्रन्थि) हुन्छ अर्थात् पाँचवटा विशेष गाँठो बनाइएको हुन्छ । पछिल्लो संयुक्त ग्रन्थि ब्रह्मरूप हो भने बाँकी चारवटा ग्रन्थि धर्म, अर्थ, काम र मोक्षका प्रतीक हुन् । यस्ता तीनवटा केस्रा मिलाएपछि पूर्ण यज्ञोपवीत बन्छ । तीन केस्रालाई ब्रह्मा, विष्णु र शिवको प्रतीक पनि मानिन्छ । त्यसै गरी सत्व, रज र तम तीन गुणको प्रतिनिधित्व पनि जनैले गरेको हुन्छ । भूर्लोक, भूवर्लोक र स्वर्गलोक अर्थात् पृथ्वी, अन्तरिक्ष र देवलोकको प्रतिनिधित्व पनि यसले गरेको हुन्छ ।

यज्ञोपवीत र ब्रह्माण्ड :

हुन त यज्ञोपवीतका प्रत्येक तन्तु र ग्रन्थिलाई विभिन्न विद्वान्हरूले आ–आफ्ना किसिमले व्याख्या गरेको पाइन्छ । तर पनि यज्ञोपवीतले यो चराचर जगत् ब्रह्माण्डको स्वरूप धारण गरेको कुरामा भने शायद द्विमत छैन होला ।

अब थोरै चर्चा गरौँ, यज्ञोपवीतलाई कसरी ब्रह्माण्डको स्वरूप मानिन्छ ? यो विषय धेरै गहिरो छ । त्यसैले नवयज्ञोपवीत धारण गर्दा भनिने मन्त्रबाट कुरा उठान गर्नु सान्दर्भिक होला ।

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।

अर्थात् ‘यज्ञोपवीत परम पवित्र हो, जुन प्रजापतिसँगै पहिले नै उत्पन्न भएको हो । आयु बढाउने, शुभ मोक्षदायक यस्तो यज्ञोपवीतबाट बल र तेज मिलोस् ।’

माथि उल्लिखित मन्त्रबाट प्रजापतिले पनि जनै धारण गरेको ज्ञात हुन्छ । जबकि प्रजापति भनेका सृष्टिकर्ता ब्रह्मा हुन् । ब्रह्मा मानिसजस्तो स्वरूपकै होइनन् भने कसरी जनै धारण गरे ? अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने, ‘यत् पिण्डे तत् ब्रह्माण्डे अर्थात् पिण्डमा जे छ ब्रह्माण्डमा पनि त्यही छ ।’ यहाँ पिण्डरूपी मानव शरीरलाई ब्रह्माण्डसँग तुलना गर्दा कुरा बुझ्न सजिलो हुन्छ । ब्रह्माण्डमा प्रजापतिले संवत्सर (वर्ष) धारण गरेका छन् । त्यसैले उनलाई संवत्सर प्रजापति भन्ने गरिएको हो । यिनै भावनात्मक संवत्सर प्रजापतिले अयन, ऋतु, महिना, तिथि, वार, ग्रह, नक्षेत्र, राशि आदि सबैलाई समेटेर एक सूत्रको रूपमा धारण गरेका छन् । उनको यज्ञोपवीत नै यही हो । त्यसैले यज्ञोपवीतले यो ब्रह्माण्डको प्रतिनिधित्व गरेको हुन्छ ।

हामी रहेको पृथ्वीलाई आधार मान्दा संवत्सर प्रजापतिमा सूर्य शिर, अन्तरिक्ष हृदय र पृथ्वी कटिस्थान हो । सूर्यभन्दा तल मानौँ काँधदेखि अन्तरिक्ष (हृदय) हुँदै पृथ्वी (कटिस्थान) सम्म ग्रह, नक्षेत्र, राशि आदि सूत्रबद्ध गरी यज्ञोपवीतका रूपमा ब्रह्माले धारण गरेजस्तै हामीले यी सबैको प्रतीकको सूत्र (धागो) को यज्ञोपवीत धारण गर्ने गरेका हौँ । त्यसैले यज्ञोपवीतलाई ब्रह्मसूत्र पनि भनिन्छ ।

खोतल्दै जाने हो भने यस्ता कुरा कति भेटिन्छन् कति ! सूर्य दक्षिणायण (कर्कट रेखाभन्दा तल) हुँदा जनै दाहिने काँधमा र सूर्य उत्तरायण (मकर रेखाभन्दा माथि) हुँदा जनै देब्रे काँधमा अनि सूर्य भूमध्य रेखाको क्षेत्रमा हुँदा जनै कण्ठी (गलामा) गर्नुपर्ने हो । तर नेपाल–भूमिकै कुरा गर्दा यो नियम श्राद्धका समयमा मात्र लागू गर्ने गरेको देखिन्छ । यसरी प्राकृतिक रूपमा हुने समय परिवर्तन अनुसार हाम्रो शरीरमा पनि यज्ञोपवीतको स्थान परिवर्तन गर्नुपर्ने नियम कति वैज्ञानिक होला ?

यज्ञोपवीत धारणबाट हुन सक्ने लाभ :

यज्ञोपवीत धारणले निश्चित नियममा रहन मद्दत मिल्छ । जति धेरै विश्वास र आस्था हुन्छ त्यति धेरै यज्ञोपवीत धारणबाट मानिसले फाइदा लिन सक्छ । पेटको स्वास्थ्य समस्या न्यून हुने र रक्तचाप सन्तुलन हुने कुरामा पनि काँधमा राखेको जनैले सहयोग मिल्ने विभिन्न विद्वान्हरूद्वारा लिखित लेख–रचनामा पढ्न पाइन्छ ।

जनै काँधबाट छातीको बीच (मुटु) को छेउ हुँदै कम्मरसम्म पुगेको हुन्छ । यसले रक्तरञ्चारमा सहयोग पु¥याउने हुँदा हृदय रोगको सम्भावनामा कमी आउन सक्ने कुरा मानस अमृतबाट साभार गरी वैदिक डट ब्लगपोस्ट डट कममा प्रकाशित निरञ्जनप्रसाद पारीकद्वारा प्रस्तुत ‘यज्ञोपवीत का विज्ञान’ शीर्षकको लेखमा बताइएको छ । सो लेखमा भनिएको छ, ‘शरीरको दाहिने काँधदेखि कम्मरसम्म प्राकृतिक विद्युत् रेखा हुने र जनैले यस रेखामा प्रवाह हुने विद्युत् सन्तुलन गरी काम–क्रोधमा समेत नियन्त्रण राख्न मद्दत पुग्छ ।’

हाम्रो कानको पछाडिका दुईवटा नसाको सम्बन्ध पेटको आन्द्रासँग हुन्छ । त्यसैले दिसा–पिसाब गर्दाको समयमा कानमा जनै राख्दा यसले आन्द्रामा दबाब परी मलत्यागमा सहज हुन्छ । कानको जनैले रक्तचाप सन्तुलनमा ल्याउन पनि मद्दत पुग्ने हुन्छ । रक्तचाप बढेको समयमा यसलाई सन्तुलनमा ल्याउनका लागि कतिपयले कानमा मसाज गर्ने गरेको हामीले देखेका पनि छौँ । साथै दायाँ कानको नसा अण्डकोषसँग जोडिएको हुनाले कानमा जनै राख्दा शुक्राणुको समेत रक्षा हुने बताइएको छ । कानमा लपेटिएको जनैले सूर्य नाडी जाग्रित हुन मद्दत पुग्ने कुरा पनि छ । हाम्रा पूर्वजहरूले शौच गर्ने बेलामा कानमा जनै राख्ने गर्नुको पछाडिका यस्ता रहस्यहरूलाई पारीकले बुँदागतरूपमा आफ्नो लेखमा प्रस्तुत गरेका छन् । यहाँ सन्दर्भवश सङ्क्षेपमा उल्लेख गरेको हुँ ।

जनै धारण गर्ने व्यक्ति नियममा बाँधिएको हुन्छ । उसले जहाँ पायो त्यहीँ र जे पायो त्यही सेवन गर्दैन । यसले गर्दा उसलाई स्वस्थ रहन मद्दत पुग्ने नै भयो । मलमूत्र त्याग गरिसकेपछि गुप्ताङ्गसहित हातगोडा धुनुका साथै मुख कुल्ला गरेर मात्रै कानबाट जनै उतार्नुपर्ने हुँदा विभिन्न कीटाणुको सङ्क्रमणबाट बच्नसमेत मद्दत मिल्छ ।

यज्ञोपवीत धारण गरेपछि नियमित गायत्री मन्त्र जप्नुपर्छ । गायत्री मन्त्रलाई सबैभन्दा उत्कृष्ट मन्त्रको रूपमा लिइन्छ । मन्त्रबाट तरङ्ग पैदा हुन्छ । सोही तरङ्गले शक्ति पैदा भई तेज बढ्छ । जे होस्, मन, वचन र कर्मको तादात्म्यता यज्ञोपवीतले गरेको हुन्छ । तर सांसारिक मोह, माया, ममता त्यागेर संन्यास धारण गरेकाहरूका लागि जनैको औचित्य छैन भनिन्छ । त्यसैले उनीहरूले जनै लगाएको देखिँदैन । गृहस्थ, ब्रह्मचर्य र वानप्रस्थको अवस्थामा यज्ञोपवीत धारण गरी नियममा रहनुपर्ने हुन्छ । यी सबै कुरालाई विचार गर्दा विधिसम्मत तयार गरी मन्त्रिएको यज्ञोपवीत धारणमा अनन्त विज्ञान लुकेको नकार्न सकिँदैन । यसबारे धार्मिक वेत्तासहितको वैज्ञानिक टोलीले गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्