नौबिसे नागढुंगा सुरुङमार्गको आपतकालिन बाटोको “ब्रेक थ्रु”



नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आपतकालीन उद्दार सुरुङ (रेस्क्यु टर्नेल)को ब्रेक थ्रु उत्सवमा सहभागी हुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदुत किक

धादिङ ।

शिलान्यास गरिएको चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङ मार्गको आपतकालिन बाटोको सोमबार ब्रेक थ्रु गरिएको छ ।

नौबिसे–नागढुङ्गा सुरुङमार्गका आपत्कालीन  सुरुङ बाटोको प्वाल पारिएको हो । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाडौँ  दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ।

सुरुङमार्गको ब्रेक थ्रु गर्ने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो । ब्रेक थ्रु को पूर्व सन्ध्यामा र ब्रेक थ्रु भएपछि उत्साहपूर्ण माहौल  भएको थियो ।

मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने सडक विभागले जनाएको छ । दुई किलोमिटर छ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । अब समस्या नआएमा ०८१ सालको पुसमा सुरुङबाट गाडी चलाउन सकिने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।
केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरिएको सुरुङमार्ग  ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य  राखेपनि  कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको छ ।

हालसम्म ६६ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने बाँकी काम अब डेढ वर्ष भित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउने छ । मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको सडक विभाग वैदेशिक महाशाखा प्रमुख विजय जैसीले जानकारी दिए ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो तीन लेनको डिजाइन रहेको छ।  सुरुङमार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमी र सडकको लम्बाइ २ दशमलव ४५ किमी हुनेछ ।

 कुल २२ अर्ब रुपैयाँमा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्