सन नेपाल लाइफकाे आईपीओ बाँडफाँट, ५० कित्तासम्म पाए



काठमाडौँ।

सन नेपाल लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ । यस आईपीओमा आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् । १० देखि ४० कित्तासम्मको लागि आवेदन दिएका ९ हजार ७४ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् ।

त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८२७ जना आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको सेयर ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिएका आवेदकहरुमध्ये १ हजार ६२८ जनाले गोलाप्रथामार्फत थप १० कित्ता अर्थात कुल ५० कित्ता सेयर पाएका छन् ।

यस आईपीओमा विदेशिक रोजगारीमा रहेका कुल २७ हजार ९०५ जनाले आवेदन दिएकामा ४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । सन नेपाल लाइफले साउन १ देखि साउन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ फेस भ्याल्यूमा १३९ रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २३९ रुपैयाँको दरले सेयर बिक्री गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपालको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्