लक्ष्मणको खेलाडीदेखि अन्तर्राष्ट्रिय निर्णायक यात्रा



काठमाडौं । शारीरिक सुंगठनमा अन्तर्राष्ट्रियस्तरमा सफल हुन नेपाली शारीरिक सुंगठन खेलाडीको एउटा सपना हुन्छ । कति यसमा सफल पनि भए, कति संघर्षरत छन् भने कति राष्ट्रिय प्रतियोगितासम्म सीमित भए । यही क्रममा एक खेलाडी आफ्नो लगन, मेहनत र धैर्यका साथ अघि बढ्दै अन्तर्राष्ट्रियस्तरसम्म पुगेर आफ्नो नाम र देशको नाम राख्न सफल भए । उनी हुन् तनहुँको भिमाद १ मा जन्मेका लक्ष्मण भट्ट ।

लक्ष्मण प्रवेशिका सकाएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । राजधानी आइसकेपछि उनको झुकाव अरु कुनै खेलमा नभइ शारीरिक सुंगठनमा भयो । जतिबेला उनको शारीरिक सुंगठनमा लगाव भयो, त्यतिबेला मार्शल आर्ट, फुटबल, भलिबलमा प्रायजसो सबैको लगाव हुने गथ्र्यो । तर, लक्ष्मणले २०५६ सालदेखि व्यायाममा लागेर एक उत्कृष्ट बडी बिल्डरको रुपमा आफुलाई उभ्याउन सफल भए ।

लक्ष्मणले बालाजुस्थित द पर्फेक्ट जिममा व्यायाम गर्न थालेका थिए । उनले करिब ४ वर्ष शरीर बनाउन र व्यायामको कलाको तालिम लिए । यसपछि उनले पहिलो पटक २०६० सालमा पोखरामा भएको मिस्टर पोखरामा भाग लिए । त्यहाँ उनले ५५ केजि तौल समूहमा स्वर्ण पदक जिते । यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन । सफलता उनको पछि लाग्दा उनले आफ्नो कोठालाई पदकैपदकले सजाए ।

२०६१ सालमा लक्ष्मणले भैरहवामा भएको मिस्टर पश्चिमाञ्चलमा स्वर्ण जिते । यसपछि २०६२ सालमा धरानमा भएको मिस्टर बुढासुब्बामा रजत जिते । यस्तै २०६३ सालमा पोखरामै भएको मिस्टर पोखरामा उनी समग्रमा उपविजेता हुन सफल भए । उनले त्यहाँ ६० केजी समूहमा स्वर्ण समेत जितेका थिए । २०६४ सालमा पाल्पामा भएको मिस्टर पाल्पामा पनि उनले स्वर्ण जित्न सफल भए ।

लक्ष्मणले मेहनत जारी राखे । उनको लागि पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्यरुपमा टर्निङ प्वाइन्ट सावित भयो । उनले काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुदमा समावेश शारीरिक सुंगठनमा रजत पदक जित्न सफल भए । उनले यो प्रतियोगितामा पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेका थिए । उनले आफ्नो क्षेत्रको लागि पदक जितेर ठूलो योगदान समेत गरे ।

नेपालमा धर्मश्री शारीरिक सुंगठन निकै चर्चित प्रतियोििगता हो । यो प्रतियोगितामा पनि लक्ष्मणले पदक जितेर आफुलाई सफल बडी बिल्डरको रुपमा सफल पारे । उनले धेरै प्रतियोगितामा सहभागि भएर थुप्रै पदक जितेका छन् । जस्तै धर्मश्री, हिमालयन, मि. नेपाल जस्ता प्रतियोगितामा उनले पदक जितेका छन् ।

प्रशिक्षक र जिमखाना

लक्ष्मणले कलंकी जिममा २०६३ सालबाट प्रशिक्षण गर्न थालेका थिए । उनले २०६७ सालमा करारमा राष्ट्रिय खेलकुद परिषदमा पनि सहायक प्रशिक्षणको रुपमा कार्य गरेका थिए । उनको कामको कदर नेपाल आर्मीले ग¥यो । भद्रकालीस्थित नेपाल आर्मी अफिसर्समा उनलाई २०६८ सालमा प्रमुख प्रशिक्षकको भुमिकाको लागि जिम्मेवारी दिइयो ।

लक्ष्मणले आर्मी अफिसर्समा २०७४ सालसम्म काम गरे । त्यहाँ राम्रो भएपनि आफ्नो पनि जिमखाना पनि भएकोले समय मिलाउन नसकेको लक्ष्मणले बताए । उनले भने—मलाई आर्मीमा राम्रो भइरहेको थियो । तर, मेरो आफ्नै जिम खानामा हेर्नु परेको हुँदा यो जागिर छाड्नु परेको हो ।

लक्ष्मणले ढुंगे अड्डा, कलंकीमा २०६९ सालमा विनोद वज्राचार्यसंग मिलेर जिमखाना खोलेका थिए । फिटनेस फस्र्ट जिम नामाकरण गरेको यो जिमखानाबाट थुप्रै शारीरिक सुंगठनका खेलाडी उत्पादन पनि भएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जित्न सफल भएका छन् ।

यसैले पनि होला लक्ष्मणले फिटनेस फस्र्टअन्तर्गत शाखा पनि विस्तार गरे । उनले २०७२ सालमा सतुंगलमा, २०७३ सालमा थानकोटमा शाखा खोले । तर, यो दीर्घकालीन भने भएन । हुनत कुनै पनि जिमखानाको यसरी शाखा विस्तार भएको यो पहिलो पटक पनि हो । तर, विश्वव्यापी खतरनाक बनेको कोभिड १९ ले गर्दा यी शाखाहरु नचाहेर पनि बन्द गर्नु परेको लक्ष्मणले दुखेसो पोखे ।

तर, लक्ष्मणले मुख्य जिमखाना फिटनेस फस्र्टलाई भने निरन्तरता दिएका छन् । उनले यसैबाट शारीरिक सुंगठनको ५ संस्करणसम्म प्रतियोगिता आयोजना गरेका छन् । उनले केही प्रायोजनबाट केही आफ्नै खर्च जुटाएर यी प्रतियोगितालाई सफल पारेका छन् । प्रत्येक संस्करणमा ५० भन्दा बढी सहभागिहरु रहेको पनि उनले बताए ।

खेलाडीबाट निर्णायक

लक्ष्मणले खेलाडी जीवन समाप्त गरे पनि त्यसपछि विश्राम लिएनन् । उनले निर्णायकको करियर शुरु गरे । २०७० सालमा खेलाडी करियरलाई समाप्त गरेर निर्णायक बन्ने निधो गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका राम्ररी निर्वाह गरेका छन् । हालै मात्र पनि माल्दिभ्समा भएको ५४ औं वल्र्ड बडी बिल्डिङ प्रतियोगिता २०२२ मा उनले निर्णायकको भुमिका राम्ररी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्