क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको उद्घाटन 



काठमाडौँ।

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच  धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले  उद्घाटन गर्नु भयो।

उद्घाटन कार्यक्रममा बोल्दै  अध्यक्ष  हमालले लामो समयदेखि नयाँ ब्रोकरलाई थप गरी सिन्डिकेटलाई खारेज गर्न सफल भएको र  अझै पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाकी रहेको बताउनुभयो । उहाँले आउदै गरेको मौद्रिक नितिमा राष्ट्र बैङ्कबाट पुजिँबजारको हितमा नीतिहरू सुधार हुने विश्वास समेत व्यक्त  गर्नुभयो ।

उहाँले  ४३ वटा एल.ओ.आई. आइसकेका ब्रोकरहरुमध्ये हिजोसम्म २९ वटा कम्पनीले लाइसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाइसेन्स दिने जानकारी गराउनुभयो ।

कार्यक्रममा लगानीकर्ताका अगुवा छोटेलाल रौनियारले क्यापिटल म्याक्स सेक्यूरिटिज परिवारलाई बधाई ज्ञापन गर्दै लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैकलाई ब्रोकर लाइसेन्स दिने माग पूरा  गर्नका लागि बोर्डका अध्यक्ष रमेश कुमार हमाल सफल हुनुभएको हुँदा लाखौँ लगानीकर्ताको माग पुरा भएको भन्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभयो।  उहाँले आगामी दिनमा ब्रोकर कमिसन पनि घटाउनुपर्ने धारण राख्नु भयो  ।

त्यसैगरी नेप्सेका निवर्तमान कार्यकारी अध्यक्ष चन्द्र सिंह साउदले आफ्नो  कार्यकालमा नेप्से ३० लेराउनको लागि कार्यविधि बनाएको बताउँदै पुँजीबजारको विकास तथा बिस्तारको लागि ब्रोकर लाईसन्स वितरणले ठूलो सहयोग पुग्ने एवं बजारलाई अझ चलाएमान बनाउनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको  बताउनुभयो ।

त्यसै गरी सि.डि.एस. एण्ड क्लीयरिङ लि.का प्रमुख  कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले आफूहरूले सीमित स्रोतका बाबजुद लगानीकर्तालाई गुणस्तरीय सेवा दिइरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आफ्नो  सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन अगाडी बढेको जानकारी गराउनुभयो । साथै,उहाँले  लामो समयदेखि लगानीकर्ताहरुले कारोबारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिनुभयो ।

यस्तै यस क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले  “के नयाँ सुविधा दिदैछ नयाँ ब्रोकरहरुले” भन्ने सन्दर्भमा लगानीकर्ताहरुले झेल्दै आएको समयमै भुक्तानी नपाउने समस्यालाई क्यापिटल म्याक्सले तत्कालै समाधान गर्ने प्रतिबद्धता  जनाउनुभयो । साथै उहाँले आफ्नो  २० वर्ष देखिको विज्ञतालाई प्रयोग गरी क्यापिटल म्याक्सलाई प्रविधि मैत्री बनाउँदै क्यापिटल म्याक्सका हरेक लगानीकर्ताहरूलाई आफ्नै  वेवसाईटमार्पmत सम्पूर्ण प्राविधिक विश्लेषण एवं आधारभूत विश्लेषणको सफ्टवेयर समेत निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नयाँ सुविधा अन्तर्गत लगानीकर्तालाई चौबिसै घण्टा अफलाइन अर्डर राख्न मिल्ने गरी व्यवस्थापन गर्ने र  लगभग ७०० बर्गफिट को डिस्प्ले कक्ष मार्फत दुईवटा ठूला  स्क्रिन र लगानीकर्तालाई भेला गराई हरेक क्यापिटल म्याक्सका लगानीकर्ताहरूलाई सुझबुझ गरी स्मार्ट तरीकाले लगानी गर्ने वातावरण निर्माण गर्नेमा  जोड दिनुभयो । साथै उहाँले  लगानीकर्ताको विश्वास जित्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्