वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री डा.महत



काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वस्थ प्रतिस्पर्धाको बाटोमा जाने उहाँको भनाइ छ ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ ।’

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा. महतको जोड थियो । उहाँले भन्नुभयो, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ ।’

२०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको बताउदै उहाँले बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको बताउनु भयो । ‘बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाउनु पर्ने भन्दै उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो।

निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको मन्त्री डा. महतको भनाइ थियो ।

मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको भन्दै पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्ने समेत बताउनुभयो।

मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको बताउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई सम्बोधन गर्नेछ । बैंकसँग तरलता भए पनि पूँजीप्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरु समाधानको बाटो खोज्नुपर्छ । ठूला लगानीकर्तामा मात्रै पूँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरु पूँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थितिनेपालमा रहेको बताउंदै आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्