प्रधानमन्त्रीद्वारा कमजोरी स्वीकार, संसद् चल्यो

रास्वपा–राप्रपाको असन्तुष्टि



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकमा भावनामा बहकिएर प्रितम सिंहबारे आफूले दिएको अभिव्यक्ति गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गर्नुभयो । उहाँले अबदेखि आफू सतर्क रहने प्रतिबद्धता व्यक्त संसद्को कामकारबाहीलाई सबै सांसद मिलेर निरन्तर अघि बढाउन आग्रह पनि गर्नुभयो । सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरदार समुदायका भारतीय व्यवसायी प्रितम सिंहले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको भन्ने अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको हो ।

आफूले प्रधानमन्त्रीको हैसियतामा उक्त कुरा बोल्न नहुने स्वीकार गर्दै प्रचण्डले भन्नुभयो– ‘प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो, ज्ञानुको बुबा भएर बोल्न पुगेँ ।’ यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै प्रचण्डले २०६८÷०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनेको हुँ । त्यही बेलाको कुरा सम्झेँ । प्रितमजीले भनेको पनि सम्झेँ । म भावनात्मक छु नै । ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भेट्न जाँदा प्रितमको दिल्लीस्थित फ्ल्याटमा भएको उक्त संवाद सम्झिएको हुँ।’

प्रधानमन्त्री दाहालले गत मंगलबार ‘रोड्स टु द भ्याली : दि लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नाम पुस्तक विमोचन समारोहमा भन्नुभएको थियो–‘उहाँ (प्रितम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौंमा नेता साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’ दाहालको यस्तो अभिव्यक्ति आइरहँदा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत कार्यक्रममै सहभागी हुनुहुन्थ्यो । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीसमेत धाएर धेरै मिहिनेत गरेको उहाँको अभिव्यक्ति उहाँकै लागि भारी बन्दै आएको थियो । सोही अभिव्यक्तिलाई लिएर संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको थियो । एमालेको संसद् अवरोधका कारण मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयकसमेत निष्क्रिय भएको थियो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपश्चात उहाँको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध गरेको एमालेले सोमबार तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री प्रचण्डले गल्ती स्वीकार गर्ने प्रतिबद्धता जनाएपछि सदन चल्न दिने सहमति जनाएको थियो । सोही सहमतिअनुसार संसद् बैठक चलेको र बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो कमजोरी स्वीकार गर्न बाध्य हुनुभएको हो । सांसदमाझ उहाँले छोरी ज्ञानु दाहालको उपचारको समयलाई स्मरण गर्दै भन्नुभयो– ‘म छोरी भेट्न जाँदा प्रितम सिंह र उहाँका आफन्त त्यहीँ हुनुहुन्थ्यो । त्यही बेला नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भन्नुभयो । उहाँले भावनामा आएर मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु र नेपालमा पार्टीहरूसँग कुरा गर्ने गरेको छु भन्नुभयो । मैले धन्यवाद भनेँ । यो मेरो कुरा पनि थिएन । पारिवारिक वातावरणमा उठाएको कुरामा सदाशयताका लागि धन्यवाद भनेँ ।’ प्रितम सिंह त्यस्तो शक्ति केन्द्र नभएको समेत दाहालले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालमा प्रधानमन्त्री बन्न भारतीय पक्षको निर्णायक रहने सन्देश प्रवाह भएको भन्दै राजनीतिक वृत्तमा उहाँको कडा आलोचना भएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गर्दै प्रेस नोट जारी गरेको थियो । प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यले जारी गरेको उक्त प्रेस नोटका कारण एमाले अध्यक्ष ओलीले अझै आक्रोशित बन्नुभएको थियो ।

नेपालको सार्वभौम संसद्को बहुमतबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डको उक्त गैर जिम्मेवारपूर्ण अभिव्यक्तिको सत्ता पक्षकै नेताहरूले समेत टिप्पणी गर्दै आएका थिए । सोमबारको संसद् बैठक अघि प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसद्मा प्रधानमन्त्री दाहालले कमजोरी स्वीकार गरी संसद्लाई सम्बोधन भएपछि संसद् चल्न दिने सहमति भएको थियो ।

सिंहदरबारमा बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठकले प्रधानमन्त्रीलाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठकमा सहमति भएको थियो । शीर्ष तीन नेताबीच प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद् अवरोध नगर्ने सहमति जुटेपछि प्रतिनिधि सभाको अवरोध हप्ता दिनपछि हटेको हो । एमालेको अवरोधबीच यसअघि १२ दिनमा १३ पटक बैठक बसेर नाराबाजीकै बीच सरकारले बजेट पारित गरेको थियो । पछिल्लो समयमा संसद् अवरोधलाई नियमितजस्तै बनाएको एमालेले सत्तापक्षलाई माफी मगाउँदै अवरोध खुलाउँदै आएको छ ।

रास्वपा–राप्रपाको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद तीन दलको बन्धक बनेको आरोप लगाउनुभएको छ । उहाँहरूले तीन ठूला दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रले अन्य दलहरूलाई संसद्मा बाइपास गरेको टिप्पणी गर्नुभएको छ ।

सोमबार संसद् बैठकमा बोल्दै नेताद्वयले संसद्मा तीन दल मात्रै नरहेको भन्दै बाइपास गरेर अगाडि नबढ्न चुनौतीसमेत दिए । रास्वपा सभापति लामिछानेले संसद्लाई भन्नुभयो– ‘यो संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ ? संसद्को गरिमालाई केही दलहरूले आफ्नो जुँगाको लडाइँको विषय बनाउनुहुँदैन ।’ सभापति लामिछानेले प्रतिपक्ष र सरकार दुवैले गरेको राम्रो काममा रास्वपाले समर्थन गर्ने जिकिर गर्दै भन्नुभयो– ‘प्रतिपक्षले गरेको राम्रो काममा एक ढिक्का छौं । सरकारले राम्रो काम गरे त्यसको समर्थन गर्छौं । तर, हाम्रो आफ्नै एजेन्डा छन् ।’ संसद्ले गर्नुपर्ने धेरै काम भए पनि तीन नेताको मूड नचल्दा संसद् रोक्ने काम भएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो । जनताको मुद्दामा संसद् रोकिए पनि पार्टी र केही नेताको रुचिमा संसद् रोकिन नहुने उहाँको भनाइ छ ।

त्यस्तै, राप्रपा अध्यक्ष लिङ्देनले तीन दलका नेता बसेर सबै निर्णय नगर्न चेतावनी दिँदै भन्नुभयो– ‘हामी केही दलले गरेको निर्णयको भारी बोकेर हिँड्न सक्दैनौं । संसद्मा नयाँ विचारको प्रतिनिधित्व गर्ने धेरै दलहरू छन् । उहाँले संसद्लाई ठूला दलका नाममा तीन दलका तीन नेताले बन्धक बनाएर अन्य दलहरूलाई बेवास्ता गर्दै आएको टिप्पणी गर्नुभयो । संसद्मा १३ दल सहभागी भए पनि संसद्का हरेक निर्णयहरू तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको सहमतिमा गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्