कालिकोट ।
जिल्लाको तिलागुफा नपा७१० रुडु र रानावाडा गाउँमा एक हप्तादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया नाबालिका कर्मा थापाको बुधवार बिहान मृत्यु भएको छ । सोही ठाउँमा अज्ञात रोगकै कारण १ सय ७८ जना बिरामी परेका हुन् ।
१०,११ र १२ वर्ष उमेरका बालवालिकाहरुलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने ,टन्सील हुने लक्षण रहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका सूचना अधिकारी कटक महतले नेपाल समाचारपत्रलाई टेलिफोनमा जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार बिमारले महादेव मावि रुडुमा कक्षा ६ मा पढ्ने बालिकाको मृत्यु भएको र धेरैको सङ्ख्यामा बालबालिकाहरु सिकिस्त बिरामी भएको नगरपालिकाबाट जानकारी आएपछि डा रामानन्द चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट खटाइएको छ।
हालसम्म कुनै रोग पत्ता लागेको छैन भने गाउँमा थप रोग फैलिने त्रास बढिरहेको छ । लगातारको ज्वरोले बालिकाको मृत्यु भयो,गााउँभरी बिरामी सोतर छन्’ सोही वडाका अध्यक्ष मुनबहादुर थापाले भन्नुभयो ।
उहाँले बालबालिकामा फरक रोग देखिएकाले तिलागुफा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयलाई खबर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार केही बालबालिकालाई अभिभावकले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीलाई उपचार गर्न सुर्खेत लगेको पनि सुनाए ।
अज्ञात रोगकै कारण बालविकास केन्द्रमा पढ्ने १३, कक्षा १ का २१, कक्षा २ का ९, ३ का १८, कक्षा ४ का १२, ५ कक्षाका १६, ६ कक्षाका ५, ७ कक्षाका १२, ८ कक्षाका १३, ९ कक्षाका ७ र १० कक्षाका ४ जना गरी १३० जना बिरामी परेको विद्यालयका निमित्त प्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी गराउनु भएको छ ।
तिलागुफाको रुडु गाउँमा अज्ञात महामारी फैलिएपछि १ जना बालिकाको मृत्यु भएको, ५१ जना बिरामी परेको, बिरामीमध्ये २९ जना जुम्लामा भर्ना भएका र १८ जना प्रदेश अस्पताल सुर्खेतमा गएको कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो ।











प्रतिक्रिया