एसईईको नतिजामा उल्लेख्य सुधार



–२२ हजार ४ सय ७५ विद्यार्थीले ल्याए ३ दशमलव ६० देखि ४ जीपीए
–२ देखि २ दशमलव ४ जीपीए ल्याउने सबैभन्दा धेरै
–मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गरिने

भक्तपुर । अघिल्लो वर्षको तुलनामा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेख्य सुधार आएको छ । गत वर्षको तुलनामा यो वर्ष ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेको संख्या र प्रतिशत बढेको छ । गत वर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका थिए भने यो वर्ष बढेर ४ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यसै गरी ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको प्रतिशत पनि गत वर्षको ८ दशमलव ४ बाट बढेर ११ दशमलव ३६ प्रतिशत पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गरेको थियो । बोर्डले अन्तिम पटकका लागि यस पटक २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीए (ग्रेड प्वोइन्ट एभरेज) ल्याउनेको संख्या २२ हजार ४ सय ७५ रहेको छ । जुन कुल परीक्षार्थी संख्याको २ दशमलव ९ प्रतिशत हो । त्यसै गरी ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ७२ हजार ३ सय ६२ र २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३ सय ३१ जना रहेका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक फरक हिसाबबाट अंग्रेजी, गणित र विज्ञानको स्तरीकृत प्रश्नपत्रबाट परीक्षा सञ्चालन भएको, कक्षा कोठामा भएको सिकाइमा सुधार र विद्यार्थीको राम्रो पढाइका कारण नतिजामा सुधार आएको बताउनुभयो । उहाँले गत वर्ष कोभिडका कारणले कक्षाकोठामा पढ्न नपाएको र यो वर्ष नियमित पठनपाठन भएकोले नतिजामा सुधार आएको जिकिर गर्दै भन्नुभयो– ‘परीक्षा प्रणालीमा आएको सुधारका कारण तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरिएको सुधारले पनि नतिजा राम्रो आउन मद्दत ग¥यो ।’

यो वर्ष २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै अर्थात १ लाख २ हजार २ सय ९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९ सय ३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईईमा १ दशमलव ६ देखि २ दशमलव ० जीपीए ल्याउनेको संख्या ८८ हजार ४ सय ४७, १ दशमलव २० देखि १ दशमलव ६० जीपीए ल्याउने ३८ हजार ७ सय ७० र ० दशमलव ८० देखि १ दशमलव २० जीपीए ल्याउनेको संख्या २ हजार २ सय रहेको छ ।

बोर्डका अनुसार जीपीए ० दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने ० दशमलव ४५ प्रतिशत देखिएका छन् । गत वर्ष यस्तो ग्रेड ल्याउने विद्यार्थी ०. ६६ प्रतिशत थिए ।

यसपटक जीपीए १ दशमलव २० देखि १ दशमलव ६० सम्म ल्याउने ७ दशमलव ९९ प्रतिशत छन् भने गत वर्ष नौ प्रतिशत थिए । जीपीए १ दशमलव ६० देखि २ सम्म प्राप्त गर्नेको प्रतिशत १८ दशमलव २४ छन् भने गत वर्ष यो प्रतिशत २० दशमलव ३० थियो ।

यसपटक २१ दशमलव ०९ विद्यार्थीले २ देखि २ दशमलव ४० जीपीए ल्याए भने गत वर्ष यस्तो जीपीए ल्याउने २३ प्रतिशत थिए ।

२ दशमलव ४० देखि २ दशमलव ८० सम्म ल्याउनेको प्रतिशत यसपटक १८ दशमलव ४२ छ भने गत वर्ष १८ दशमलव ३१ प्रतिशत थियो ।

बोर्डका अनुसार यसवर्ष १३ हजार नौ सय ९२ विद्यार्थी अर्थात् २ दशमलव ८९ प्रतिशत ननग्रेडेड भएका छन् ।

यो वर्ष ४ सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । बोर्डका सदस्यसचिव अर्यालले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

बोर्डले बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बैठक बोलाएको भए पनि केही त्रुटि सुधार्न भन्दै बैठक आजका लागि सारिएको थियो ।
गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

उक्त पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘इर्’ ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

एसईई परीक्षाको नतिजा

 

प्रतिक्रिया दिनुहोस्