एनआईसी एसिया बैंकमा ‘स्क्याम’ प्रकरण

एक आरोपित समातिए, झन्डै एक दर्जन अझैँ फरार



राजविराज । 

एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका एक जना आरोपित पक्राउ परेका छन् । ‘नेपाल समाचारपत्र’ले सो विषय खुलासा गरेपछि गत वैशाखको दोस्रो साता जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट बैंकर्ससहित एक दर्जन व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पुर्जीको आधारमा सोमबार व्यवसायी मो.सदामलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । गत माघ २२ गते सो बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरेको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएपछि नेपाल समाचारपत्रले सो ‘स्क्याम’बारे खुलासा गरेको थियो ।

श्रोतका अनुसार बैंकका प्रबन्धक सन्तोषकुमार यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरसँग मिलेर राजविराज नगरपालिका-८ का रवीन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी-९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण-पत्र बनाई राजविराज नगरपालिका-९ (तत्कालीन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी खडा गरेका थिए ।

सोही जग्गा धनी प्रमाण-पत्रको आधारमा बैंकले रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई सो ऋण प्रवाह गरेको थियो ।

पक्राउ परेका मो. सदाम आसमाका श्रीमान् हुनुहुन्छ। आसमाले ऋण लिॅंदा आफ्ना श्रीमान् मो. सदामकै मोबाइल पसल मुल्याकंन गराएकी नेपाल समाचारपत्रले पाएको प्रमाण उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्