जन्मजात मोतीबिन्दु भएका १० वर्षीय बालकको निःशुल्क शल्यक्रियापछि फेरियो दैनिकी



काठमाडौ । रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतीबिन्दको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रष्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चार कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरेपछि उनको दैनिकीसमेत फेरिएको छ ।

सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आँखामा समस्या देखिएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो । तर, अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो । सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रमअन्तर्गतको विद्यालयमा आँखा र कान जाँचको  क्रममा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखाको मध्यम दृष्टि कमजोरी थियो । स्वास्थ्यकर्मीले सागरको परिवारलाई नजिकैको आँखा अस्पतालमा परामर्श गर्न सुझाव दिएका थिए ।

अरू दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । “रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं” सागरको आमाले भन्नुभयो, “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो । तर, अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।”

“उसको आँखामा जन्मजात मोतीबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहाँ नै थिएन । जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा हुने पनि कुरै भएन ।” सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा. पवन श्रेष्ठले भन्नुभयो “यहि कारणले हो नियमित रूपमा आँखाको परीक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरू यो समस्या हो भन्ने थाहा नपाएर नै बिरामीहरूले समस्यालाई झेलिरहेका छन् ।”

अस्पतालको मेडिकल डाइरेक्टर डा. रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरू उपचारबाट बञ्चित हुनु नपरोस् भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायहरूसँगको सहकार्यमा विभिन्न ठाँउहरूमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने बिरामीहरू पनि आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनु नपर्नेसमेत बताउनु भयो ।

“उसले हामीलाई वस्तु÷शब्दहरू हेर्न समस्या भएको कुरा कहिले भनेन, समयमै बताएको भएको भए चाँडै उपचार गर्न सकिन्थ्यो । कतै हिँड्दा, पढ्ने, लेख्दा कहिलेकाहीँ उहाँलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौं । तर, यो समस्यामा हामीले खासै ध्यान दिएनौँ, हाम्रो गल्तीले यो अवस्था आयो,’ सागरकी आमाले भन्नुभयो ।

शल्यक्रिया पछि पट्टी खोलेपछि सागरले मुस्कुराउँदै भन्नुभयो, “म पहिलेभन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राति पनि पढ्न, लेख्न र हिँड्न सक्ने छु ।’

प्रतिक्रिया दिनुहोस्