वैदेशिक रोजगारमा झापा सबैभन्दा अगाडि 



भद्रपुर। 

 वैदेशिक रोजगारका लागि झापा सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा झापाबाट २७ हजार ९ सय ६६ जना बिदेसिएका थिए भने चालु आर्थिक वर्षको दश महिनामा २८ हजार ८ सय ३६ जना वैदेशिक रोजगारमा गएका छन् ।

स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी)को तथ्यङ्कले यस्तो देखाएको हो ।

यो तथ्याङ्कमा ९० प्रतिशत काम गर्नकै लागि बिदेसिने गरेको पाइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगीमा परेपछि हालसम्म १६ लाख ९५ हजार रकम उठाइएको र आर्थिक सहायता तर्फ ८६ लाख प्रदान गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका झापा  संयोजक फणीन्द्र दाहालले जनाउनुभयो । ठगी दाबी रकम धेरै भएपनि सबैको पहलमा ठगी गर्नेहरुबाट उठाइएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको दश महिनामा ११० वटा मुद्दा परेकोमा ३४ वटा समाधान भइसकेको र बाँकी प्रक्रियामा रहेको उहाँको भनाइ छ ।

झापामा२०७२ सालदेखि तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना २०७४ सालको स्थानीयतहको निर्वाचन पछि स्थानीय तह हरूले नै सो परियोजना सञ्चालन सुरु गरेका हुन् ।  २०७६ मङसिरदेखि भद्रपुर नगरपालिकाले परियोजना सञ्चालन गर्न बिर्तामोडको विराट सामुदायिक अध्ययन केन्द्रलाई जिम्मेवारी दिएको थियो । तर, यस आ.व.देखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुर नगरपालिकाले आफै सञ्चालन गरिरहेको संयोजक दाहालले जानकारी दिनुभयो । सूचनाको पहुँच अन्तरगत नै वैदेशिक रोजगारीबाट फर्केकाहरूबाटै स्वयम् सेवकहरू घरदैलोमा सूचना प्रवाह गर्ने, सम्भावित स्थानमै गएर सामुदायिक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिरहेको उहाँको भनाइ  छ । गत आवमा भनपामा १५ वटा र चालु वर्षमा ३ वटा सामुदायिक अभिमुखीकरण कार्यक्रम रहेको बताइएको छ ।

 सूचनाको पहुँच, न्यायिक सहजीकरण, सीपमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श यि शीर्षकले वैदेशिक रोजगारी सम्बन्धी सबै समस्या समाधान गर्ने संयोजक दाहालको भनाइ छ ।
सूचनाको पहुँच अन्तरगत नै सम्भावित वैदेशिक रोजगारीमा जाने अर्थात राहदानी लिएकाहरूलाई विशेष अभिमुखीकरण र पत्रकारहरूलाई समेत वैदेशिक रोजगार सम्बन्धीका समस्या समाधानमा सूचना प्रवाहको लागि अभिमुखीकरण रहेको दाहाल बताउनुहुन्छ ।

स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वैदेशिक रोजगार सम्बन्धी कुनै पनि समस्या समाधान नगरपालिकाबाटै हुने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका समस्याहरूलाई सहजीकरण गरी नगरवासीको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भद्रपुर नगरपालिकाले  सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सञ्चालन गरेको हो ।

राहदानी बनाउने बेलादेखि वैदेशिक रोजगारीबाट घर फर्कने बेलासम्म अझ घर फर्केर पनि श्रम स्वीकृति रहेको अवधिसम्ममा पर्ने कुनै पनि समस्या समाधान सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले गर्ने संयोजक दाहालको भनाइ छ ।

मुद्दा दर्ता गराउन सहयोग गर्ने,  विदेशमा भएको अवस्थामा मृत्यु भएमा शव घरसम्म ल्याउन सहयोग गर्ने, मृतकको छोराछोरीलाई १२ कक्षासम्म छात्रवृत्ति उपलब्ध गराउन सहयोग गर्ने,  वैदेशिक रोजगारमा रहेको बेलामा दुर्घटनामा परी अङगभङग भएमा ७ लाखसम्म उपचार खर्च, श्रम स्वीकृति रहेको अवस्थामा तथा श्रम स्वीकृति सकिएको एक वर्षसम्म विदेशमा वा स्वदेशमा रहे पनि ७ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउन पहल लगायतका कामहरू क्षतिपूर्ति तथा बिमाको रकम उपलब्ध गराउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सहयोग गरिरहेको उहाँले जनाउनुभयो ।

गत आवमा भद्रपुर नगर पालिकाको तीनवटा वडामा १ सय १३ जनालाई र चालु आवमा पनि तीनवटा वडामा गरी १३० जनालाइ २१ हप्ते वित्तीय साक्षरता तालिम दिइएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी भद्रपुर नगरपलिकाले  वैदेशिक रोजगारमा रहेका व्यक्ति र उनका परिवारलाई मानसिक तनावबाट छुटकारा दिन गतआवमा १० वटा मनोसामाजिक परामर्श कार्यक्रम गरिएको थियो भने चालु आर्थिक वर्षमा ४ वटा कार्यक्रम रहेको कार्यक्रम संयोजक दाहालले बताउनुभयो ।

सुरक्षित तहमा आप्रवासन (सामी) कार्यक्रम झापाको भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालनमा रहेपनि अन्य पालका समेत निगरानी गरिरहेको जनाइएको छ ।

सामीले गरेको अनुसन्धानमा वैदेशिक रोजगारमा मुख्यतया सूचनामा कमी, न्यायको पहुँच नहुनु, सीप र तालिमको अभाव, वित्तीय साक्षरतामा कमी र मनोसामाजिक परामर्शमा कमी जस्ता समस्याले धेरै जसो रोजगारहरुले दुःख झेल्नु परिरहेको जनाइएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप २०६७ सालमा नेपालका पहिलो २ वटा खोटाङ र सर्लाही जिल्लामा सञ्चालित भएको थियो । जसको परिणाम राम्रो भएपछि अहिले ३८ वटा जिल्लाका १५६ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको पनि दाहालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्