कोशी प्रदेशमा असार १५ पछाडि एमालेको सरकार ढल्छ : सांसद सुनुवार 



ओखलढुंगा।

कोशी प्रदेशका सांसद प्रदीप कुमार सुनुवारले कोशी प्रदेशमा एमालेको सरकार अल्पमतमा रहेको र यही असार मसान्तमा एमालेको सरकार ढल्ने र गठबन्धनको सरकार बन्ने बताएका छन् । ओखलढुंगामा सञ्चालन भइरहेको कोशी प्रदेश स्तरीय मुख्यमन्त्री कप प्रतियोगिताको उद्घाटन सत्रको सम्बोधन गर्दै सांसद सुनुवारले उक्त कुरा बताएका हुन् ।

सम्बोधनकै क्रममा संसद सुनुवारले अल्पमतमा रहेको प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएको र बजेट कस्तो छ भनेर प्रतिपक्षका सांसदहरुलाई कुनै जानकारी नरहेको बताएका छन् । सांसद सुनुवारले असार १५ गते पछाडि गठबन्धनको सरकार बन्ने र नागरिकले चाहे अनुसारको पूरक बजेट ल्याउने बताएका छन् ।

गठबन्धनको सरकारले समग्र खेल जगतको विकासका लागि ध्यान दिएर बजेट ल्याउने सांसद सुनुवारले जोड दिएका छन् । आगामी सरकारले ल्याउने बजेटमा प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि प्राथमिकता दिने र सदरमुकाममा रहेको खेल मैदान सुधारका लागि आफूले सक्दो कोसिस गर्ने समेत बताएका छन् ।

सोही कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले अर्जेन्टिनाका राष्ट्रपतिलाई आम नागरिकहरुले कमै चिन्ने गरेको तर, फुटबल खेलाडी मेस्सीको चर्चा बिश्वा भरि रहने गरेको र खेलले खेलाडीको नाम संसारमा फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सबै खेलाडीहरुलाई अनुशासन पूर्वक खेल्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्