खेल संघहरु इमान्दार हुनुपर्छ : मन्त्री लिम्बू

बजेटमा खेलकुद मन्त्रालय प्राथमिकतामा नपरेको गुनासो



कास्की।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले विगतको वर्षमा भन्दा धेरैं कम बजेट छुट्याइएको बताए ।

‘सरकारले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेन, यो भन्दा अगाडि झण्डै पौने ४ अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठायो’ उनले भने । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भएपनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए ।

मन्त्री लिम्बूले खेलसंघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरुलाई इमान्दार बन्न जोड दिए ।

उनी भन्छन् -‘संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य हुनुपर्‍यो । एक खेल एक संघ हुनुपर्ने भन्ने ऐनमा व्यवस्था छ । यहाँ एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो । त्यसकारण संघमा रहेका साथीहरुले पनि खेलको वृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस् ।’ राजनीतिक स्वार्थको लागि मात्र संघमा नलाग्न उनको आग्रह छ ।

पदाधिकारीबिचको टसलका कारण युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका कर्मचारीको वृत्ति विकास लामो समयदेखि हुन नसकेको पाइएकोले त्यसलाई यसलाई सुधार गर्न सुरु गरेको उनले खुलाए ।

खेलकुद विमालाई प्रभावकारी बनाई खेलाडीलाई सुरक्षित भएको महशुस गर्ने उद्धेश्यले केही काम थालेको उनको भनाई थियो । नीतिगत समस्याका कारण कतिपय काम हुन नसकेको महशुस गरी नीति बनाउन थालिएको उनले सुनाए ।

खेलाडीको सुविधा समेत पदाधिकारीले लिने गरेकोे भन्ने गुनासो आएको भन्दै पदाधिकारीले न्युनतम सेवा सुविधाको प्रयोग गरी अधिकतम सेवा सुविधा खेलाडीलाई नै प्रदान गर्न आग्रह गरें ।

१९ औं एसियन गेमको तयारी सुरु भइसकेको भन्दै केही खेलको बन्द प्रशिक्षण पोखरामा हुन सक्ने संकेत उनले गरें । मन्त्रालय अन्तर्गतका कार्यालयको संघिय संरचना अनुसार स्वामित्व हस्तान्तरण गर्ने कार्य अगाडि बढेको उनले खुलाए ।

पछिल्लो समयमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको अवस्थालाई ध्यान दिँदै यो मन्त्रालय सबैको प्राथमिकतामा कसरी पर्न सक्छ भन्ने ध्ययका साथ आफूले काम गर्दै गरेको भनाई समेत उनले राखे । पत्रकारले सोधेका केही जिज्ञाशाको भने उनले स्पष्ट जवाफ दिएनन् । मन्त्रालयमा योजना लिएर आएमा पोखराको खेल क्षेत्रको विकासको लागि काम गर्ने प्रतिवद्धता भने व्यक्त गरें ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए । पत्रकार भेटघाट पश्चात् मन्त्री लिम्बुले पोखरा रंगशालाको निरीक्षण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्