रुस र बेलारुसका खेलाडीले भिसा पाएका छैनन्



लन्डन, (एजेन्सी) । रुस र बेलारुसका खेलाडीहरुको लागि यस सिजनको विम्बल्डनमा खेल्न नपाउने हो कि भन्ने डरले सताएको छ । संयुक्त अधिराज्य (यूके) ले उनीहरुलाई अहिलेसम्म भिसा नदिएकोले ती देशका खेलाडीको लागि डर बढेको हो । अल इंग्ल्यान्ड क्लबले गत वर्ष विम्बल्डनमा खेल्नबाट उनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।

रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेपछि विश्वले रुसको कार्यमाथि निन्दा गरेको थियो । यसपछि विश्वका विभिन्न प्रतियोगितामा रुसी खेलाडीलाई खेल्न प्रतिबन्ध लगाएको हो । यही क्रममा रुसलाई सहयोग गरेकोले बेलारुसका खेलाडी पनि विश्व प्रतियोगितामा खेल्न वंचित भएका हुन् ।

विम्बल्डन आगामी जुलाई ३ देखि १६ सम्म लन्डनमा संचालन हुनेछ । यो मिति नजिकिएको अवस्थामा अहिलेसम्म कोही पनि रुसी र बेलारुसी खेलाडीले भिसा पाएका छैनन् । रुसकी उदीयमान खेलाडी मीरा एन्ड्रीभाले विम्बल्डनमा खेल्ने प्रतिक्षा गरिरहेकी बताइन् । उनले मेड्रिड ओपन र फ्रेन्च ओपनमा सबैको ध्यान खिचेकी थिइन् । एन्ड्रीभाले ६ साता अघि नै भिसाको लागि यूकेमा निवेदन दिएकी थिइन् । तर, उनलाई भिसा मिलेको छैन ।

हाल पेरिसमा जारी फ्रेन्च ओपनमा एन्ड्रीभा वाइल्डकार्डमार्फत् सहभागिता जनाएकी थिइन् । उनले बताइन्—फ्रेन्च ओपनमा मैले राम्रो गरिरहेको सबैले भनेका छन् । अब मेरो अकोै प्रतियोगिता विम्बल्डन हुनेछ । तर, मैले अझै भिसा पाएकी छैन । त्यसैले मैले विम्बल्डनमा सहभागिता जनाउने वा नजनाउने टुंगो लागेको छैन ।

विश्व वरियतामा ११ औं स्थानमा रहेकी रुसी खेलाडी कारेन खाचानोभले पछिल्लो वर्षहरुमा भिसा छिटै पाएको बताइन् । तर, यसपटक दस्तावेजको कारण समय लम्बिएको उनले बताएकी थिइन् । यसैगरी रोलान्ड ग्यारोसमा पहिलो चरणमै पराजित भएका डेनील मेदभेदेभले विम्बल्डनमा सहभागिता शंका भएको बताए । रुसी खेलाडी मेदभेदेभ विश्व वरियतामा दोस्रो स्थानमा रहेका छन् । उनले बताए—यदि म यूकेको ग्रास कोर्ट ग्रान्डस्लाममा खेल्न पाएमा खुशी हुनेछु ।

यस्तै बेलारुसकी खेलाडी एरिना सबालेन्काले जारी फ्रेन्च ओपनमा क्वार्टरफाइनलको यात्रा गरेकी छन् । सबालेन्का विश्व वरियतामा दोस्रो स्थानमा रहेकी छन् । उनले पनि यूकेको भिसा नपाएको बताइन् । रुसकी खेलाडी एनाटासिया पाभ्ल्यूचेन्कोभा पनि फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेकी छन् । तर, उनको विश्व वरियता ३ सय ३३ औं स्थान भएको हुँदा उनले विम्बल्डन खेल्ने कमै संभावना छ । उनको एउटै आसा छ कि उनी फ्रेन्च ओपनमा राम्रो खेलेकोले वाइल्डकार्डमार्फत् विम्बल्डनमा प्रवेश हुन सक्नेछ ।

रुसी र बेलारसियन खेलाडीले एटीपी र डब्ल्यूटीए टुरमा तटस्थ भएर भाग लिइरहेका छन् । जबदेखि रुस र युक्रेनबीच युद्ध भयो त्यतिबेलादेखि उनीहरुले आ–आफ्नो देशको झण्डामुनि खेल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्