पर्साको पालिकामा छिर्‍यो अख्तियार



वीरगन्ज। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पर्सामा छिरेको छ ।अख्तियारको हेटौंडास्थित कार्यालयबाट इन्जिनियरसहितको टोली   हाल पर्सामा रही स्थानीय तहरुको छानबिन गरिरहेको छ । टोलीले जिल्लामा रहेका १४ वटै स्थानीय तहमा छानबिन गरिरहेको छ।

स्थानीय तहमा भएका विकास निर्माण कार्यबारे परेको उजुरीका आधारमा अख्तियारको टोली पर्सा जिल्लामा ३ दिनदेखि आएर छानबिन गरिरहेको अख्तियारको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो । अख्तियारमा परेको उजुरीसम्बन्धी फाइल अख्तियारले स्थानीय तहसित माग गरे पनि स्थानीय तहले समयमै ती फाइल नपठाएका कारण कार्यालय आफैँ पर्सा पुगेको सापकोटाले जानकारी दिनुभयो । उहाँले पर्साका १४ वटै पालिकामा भएका भौतिक विकास रोड नालासम्बन्धी कार्यमा भ्रष्टाचार भएको भनी उजुरी बढी परेकाले इन्जिनियरसहितको टोली पर्सामा पुगेको जानकारी दिनुभयो ।

 पर्सामा रहेका स्थानीय तहमा हुने भौतिक विकासका कार्य जस्तै रोड नाला निर्माणमा बढी भ्रष्टाचार हुने गरेको स्थानीय बताउँछन्। रोड नाला तथा भवन निर्माणमा ठेक्का वा उपभोक्ता समितिमार्फत काम हुँदा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बिना कमिसन दिएर कामै नहुने गरेको पर्साको धोबिनी गाउँपालिकाका स्थानीय सन्तोष पटेलले बताउनुभयो । उहाँले आफैँसित पनि केही दिन पहिले नै आफूले कालिकामाई गाउँपालिकामा निर्माण सम्पन्न गरेपछि भुक्तानी लिने बेलामा भने घुस माग गरिएको दाबी गर्नुभयो । आफूसित घुस माग गरिएको भिडियो नै अख्तियारले समेत लिएर गएको पटेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्