सुदूरपश्चिममा आज सरकार विस्तार नहुने, भोलि १० बजे शपथ 



धनगढी। 

 सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको सरकार विस्तार नहुने भएको छ। सत्तारुढ दलहरुबीच बैठकमा सहमति नजुटेपछि सरकार विस्तार भोलिका लागि सरेको हो।

भोलि बिहान १० बजे शपथ ग्रहण गर्ने गरी सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। सत्ता गठबन्धनका दलहरूबिच मन्त्रालयका विषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको हो।

यहाँ चार मन्त्रालय अहिले मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २÷२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो। नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने विषयमा छलफल भएको थियो। उनीहरुले यस विषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए। उनीहरुले भोलि बिहान सम्म आन्तरिक छलफल गर्नेछन्। एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने विषयमा उनीहरुले निर्णय गर्ने जनाइएको छ।

उनीहरुको सहमति भएमा भोलि तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुनेछन्। माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ। रमेशसिंह धामी र झपटबहादुर साउद मन्त्री बन्ने पक्का छ। नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ। यस्तै नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्