सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, आजै मन्त्रीहरूको सपथ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । सत्ता साझेदार दलहरूबीच आपसी भागबण्डा मिलेपछि आजै सरकार विस्तारको तयारी थालिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद् विस्तार हुने र ५ बजे सपथको समय तोकिएको जानकारी दिए ।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीनवटै दलले एक–एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए ।

भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाममा समेत सहमति भइसकेको जनाएको छ ।
दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए ।

यता कांग्रेसले भने मन्त्रीको नाम टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर एउटा मात्र मन्त्रालय पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा दलको बैठक बसेर छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्