प्रजिअ पाण्डेको नेतृत्वको टोलीद्वारा यातायातका साधनहरुको छड्के अनुगमन



बझाङ। 

जिल्लामा सञ्चालनमा रहेका साना यातायातका साधनहरुले मनपरी भाडा असुल गरेको व्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ । जिल्लाको जयपृथ्बी राजमार्ग , खप्तड छान्ना गाउँपालिका जाने ग्रामीण सडक र बुगंल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा सञ्चालनमा रहेका यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय र यातायात व्यावसायिक समितीहरुले निर्धारण गरेको भाडा दर कायम भएको भए पनि  यातायात व्यवसायीहरूले मनपरी भाडा असुल गर्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नेत्र केसी लगायत ट्राफिक प्रहरीको टोलीले छड्के अनुगमन गरी नियम विपरीत सञ्चालन गरिएका जिपहरु र अटोहरुलाई कारबाही गरी कानुनी प्रक्रियामा आएर मात्र सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले अनुगमनको क्रममा मनपरी भाडा लिने जिपहरुलाई जरिवाना गरेको , रातो प्लेटका सवारी साधनहरुले समेत यात्रु ओसारेकाले कारबाही गरी यात्रु नबोक्न र यात्रुहरुलाई रातो प्लेटको सवारी साधनहरुमा नबस्न सुझाव दिएको , सबै जिपहरुका छतहरु हटाउन लगाएको , यात्रुहरुलाई समेत जिल्ला प्रशासनले निर्धारण गरेको भाडा दर अनुसार तिर्न सुझाव दिएको र ब्यवासायिले आनाकानी गरे प्रहरीलाई खबर गर्न सुझाव समेत दिएको बताउनुभयो । उहाँले नियम विपरीत सञ्चालनमा रहेका १५ वटा जिप तथा अटोबाट मात्र २०हजार रुपैयाँ जरिवाना बाफत उठाएको बताउनुभयो । प्रजिअ पाण्डेले अनुगमनका क्रममा जिल्लाको जयपृथ्बी राजमार्गमा चल्ने अधिकांश अटो चालकहरुको लाइसेन्स नभई क्षमता भन्दा बढी यात्रुहरु ओसारेकाले नियम अनुसार लाइसेन्स लिएर सञ्चालन गर्न सुझाव दिनुका साथै भोलि देखि सञ्चालन गरेको खण्डमा प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडी बढाउन  स्थानीय प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

यसैबिच अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी समितिको बैठकको निर्णय अनुसार निर्धारण गरेको भाडा दर समेत सबै यातायात ब्यवसायिहरुलाई अनिवार्य गाडीमा टास्न लगाइएको छ । टोलीले जिप तथा अटोमा यात्रा गरी रहेका यात्रुहरुलाई समेत निर्धारण गरेको भाडा भन्दा बढी नतिर्न आग्रह गरेको छ ।

यातायात ब्यवसयीहरुले डिजेलको मूल्य सरकारले घटाएको भए पनि स्थानीय व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेका कारणले आफूहरूले चर्को भाडा लिनु पर्ने बाध्यता सुनाए । खप्तड छान्नामा सञ्चालनमा रहेको जिपमा चालक धनराज भट्टराईले डिजेल व्यवसायीहरूले मनोमानी मूल्यमा डिजेल बिक्री गरेका कारणले पनि भाडा महड्ढो भएको समेत बताउनुभयो । उहाँले यसको मूल्य घटाएर यकिन गरी दिन समेत अनुगमन टोलीलाई आग्रह गर्नुभयो ।

यता अनुगमन टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी पाण्डेले तमैलमा रहेका डिजेल बिक्रेता सँग समेत मूल्य घटाउन सुझाव दिनुभएको छ भने अगामी दिनमा जिल्लाका सबै डिजेल बिक्रेतासँग समेत बैठक बसालेर मूल्य यकिन गरिने समेत जानकारी दिनुभयो । जिल्ला प्रशासन , यातायात व्यवसायी र सरोकारबालाको बैठकबाट पक्की सडकमा प्रति किलो मिटर रु नौ रुपौया र कच्ची तथा ग्रामीण सडकहरुमा प्रति किलोमिटर २० रुपैयाँ निर्धारण गरेको थियो ।

यातायात ब्यवासायिहरुले निर्णयको अटेर गर्दै दोब्बर तथा तेब्बर भाडा असुल गर्दै आएका छन् । प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले निर्धारण गरेको भाडा भन्दा बढी नतिर्न सबैलाई सुझाव दिएको तथा कुनै पनि व्यवसायीले बढी भाडा असुल गरेको खण्डमा १०० मा फोन गरी गाडी नम्बर टिपाउन आग्रह गर्नु भयो । जिल्ला प्रशासन कार्यालयले गरेको यस अभियानमा सर्वसाधारण नागरिक भने खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्