नवौं जितसँगै चर्च ब्वाइज शीर्षमा



काठमाडौं । चर्च ब्वाइज्स युनाइटेडले जारी शहिद स्मारक ए डिभिजन लिगमा नवौं जित निकाल्दै शीर्षस्थानमा पुन कब्जा जमाएको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइज्सले सातदोबाटो युवा क्लबलाई १–० ले हराएको हो । सुभाष गुरुङले दोस्रो हाफमा गरेको गोल नै टोलीलाई तीन अंक दिलाउन पर्याप्त भएको थियो । खेलको खेलको ६३ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई सुभाषले गोलको दिशा दिएका थिए ।

यस जितसँगै चर्च ब्वाइज्स १८ खेलमा ३३ अंक जोड्दै शीर्षस्थानमा उक्लियो भने जावलाखेल ३१ अंकसहित दोस्रो स्थानमा झरेको छ । पराजित सातदोबाटो २६ अंकसाथ सातौं स्थानमा यथावत रहेको छ । यस्तै दुई पटकको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र ३० अंकसहित तेस्रो स्थानमा रहेर उपाधि रक्षाको आशामा रहेको छ ।

पुलिसले बदला लियो

विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ एफसीलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसको जितमा मोसेसले गरेको गोल नै निर्णायक बनेको थियो । ६१औं मिनेटमा मोसेसले गोल गर्न सफल भएका थिए ।
यस जितसँगै पुलिसले रेलिगेसन क्षेत्र छाडेको छ । पुलिसले एपीएफसँग पहिलो लेगको खेलमा व्यहोरेको हारको बदला समेत लियो । पहिलो लेगमा पुलिस एपीएफसँग २–० ले पराजित भएको थियो ।

पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एपिएफको पनि समान खेलबाटै २२ अंक रहेपनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा रहेको छ ।

आर्मीको सातौं बराबर

जारी लिगमा त्रिभुवन आर्मी एफसीले सातौं पटक बराबरी नतिजा आत्मसात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा विभागिय टोली आर्मीले थ्रीस्टार क्लबसँग १–१ बराबरी खेलेको थियो । खेलमा पहिलो गोल थ्रीस्टारबाट भएको थियो । टोलीका लागि लाकेन लिम्बुले ६८ औं मिनेटमा मैदानको बीच भागबाट दर्शनीय गोल गरेका थिए । उनले गरेको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन कोशिस गरे पनि उनी सफल भएनन् । तर, दिनेश हेन्जनले ८६ औं मिनेटमा बराबरी गोल फर्काएर आर्मीलाई हारबाट जोगाएका थिए । यो बराबरी नतिजा थ्रीस्टारको लागि जारी लिगमा आठौं थियो ।

यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लियो भने आर्मी १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा यथावत रहेको छ ।

गोलकर्ता :
१३ गोल—मेसुके ओलोमोउ (खुमलटार), एन्कोटे मासोबी (जावलाखेल)
१२ गोल—दीपकराज सिंह ठकुरी (सातदोबाटो), ओलावाले आफिज (मच्छिन्द्र)
१० गोल—रफिक अमिनु (फ्रेन्ड्स)
८ गोल—फोडे फोफाना (जावलाखेल)
७ गोल—अजायी मार्टिन्स (थ्रीस्टार), स्टेफान बिनोङ (खुमलटार),
६ गोल—संजिव विष्ट (एनआरटी), कोफी कोडु (मनाङ), अर्मान्ड बीडोम (एपीएफ), जिलेस्पीजंग कार्की (आर्मी)
५ गोल—अन्जन विष्ट (चर्च ब्वाइज), नवयुग श्रेष्ठ (आर्मी), अहमद हिजाजी (पुलिस), विलियम ओपोकु (सातदोबाटो), ओन्गुना एन्केन्गु (संकटा)

 

 

प्रतिक्रिया दिनुहोस्