झाडापखालाबाट किशोरीको मृत्यु, एक सय ६० स्थानीय थलिए

गाउँमै उपचार गरिँदै 



डडेल्धुरा । 

डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाबाट एक सय ६० जना स्थानीय थलिएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार गरिन थालिएको छ ।

झाडापखालाकै कारण एक किशोरीको मृत्यु भएको गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमै उपचार सेवाप्रदान गरिरहेको परशुराम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर सिंहले जानकारी दिनुभयो । गत साता झाडापखालाले सिकिस्त बिरामी भएकी १४ वर्षीया सङ्गीता धामीको जोगबुडा अस्पतालले धनगढी रेफरगरेपछि बाटोमा मृत्यु भएको थियो ।

गत मंगलबार बिहान जोगबुडा अस्पताल भर्ना गरिएकी किशोरी धामीलाई साँझ रिफर गरिएको र रिफर गरिएको केही समयमा मृत्यु भएको हो । केही दिनअघि बिरामी परेकी धामीको झाडापखालाका कारण मृत्यु भएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताउनु भयो । मृतक किशोरीको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा बाटोमै मृत्यु भएपछि परिवारजन तथा आफन्तहरुले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।

परशुराम नगरपालिकाले मृतकको परिवारलाई क्षतिपूर्ति दिने र लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय गरेपछि चार दिनपछि मात्रै शव बुझेर दाहसंस्कार गरिएको थियो । हाल गुप्तीगडामा एक सय ६० जना झाडापखाला सङ्क्रमित स्थानीयको सामूहिक उपचार भइरहेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा झाडापखालाबाट प्रभावित भएको जनाएको छ । सरुवा रोग नियन्त्रण फोकल पर्सन हरिप्रसाद भट्टको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली गाउँमा पुगेर उपचार सेवासँगै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तीगडा गाउँका झाडापखालाबाट पीडित आठ जना बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनुभयो । ‘झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धीकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।’

खानेपानीको मुहान प्रदूषित भएका कारण सो गाउँमा झाडापखालाको समस्या देखिएको हो । खानेपानी शुद्धीकरण गरेर प्रभावित बिरामीहरूको उपचार कार्य भइरहेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिंहले बताउनु भयो । उहाँले सोमबारदेखि झडापाखलाका नयाँ बिरामी नदेखिएकाले गुप्तीगडा गाँउमा झाडापखाला नियन्त्रणतर्फ उन्मुख भएको दाबी गर्नुभयो ।

झाडापखाला प्रभावित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उपचारमा संलग्न साँदनी स्वास्थ्य चौकीका इन्चार्ज जयबहादुर धामीले बताउनुभयो । नयाँ केस नदेखिएकाले झाडापखालाको प्रकोप नियन्त्रण हुन थालेको उहाँले बताउनुभयो । नयाँ केस देखिएको अन्तिम समयदेखि पाँच दिनसम्म उपचार शिविर राख्ने प्रावधान अनुसार हाल उपचार शिविरमा स्थानीयको उपचार भइरहेको परशुराम नगरपालिकाले जनाएको छ । २०७५ सालमा पनि सो गाउँमा झाडापखालाको प्रकोप देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्