जगन्नाथ–डढेकोत पर्यटन पदमार्ग निर्माण (तस्बिरसहित)



म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ–डढेकोत क्षेत्र पर्यटन पदमार्गले जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको जगन्नाथ र डढेकोत दरबार क्षेत्र जगन्नाथ मन्दिरदेखि डढेकोतसम्म हालै पदमार्ग निर्माणले पूर्णता पाएको हो ।

आर्थिक वर्ष २०७७/०७८ देखि सुरु भएको जगन्नाथदेखि डढकोतसम्म पदमार्ग निर्माणले चालु आर्थिक वर्ष ०७९/८० मा आएर पूर्णता पाएको छ । चालु वर्षमा कुल तीनलाख ५२ हजार रुपैयाँको लागतमा जगन्नाथदेखि डढेकोतसम्म यसअघि निर्माण गरेर बाँकी रहेको पदमार्गको निर्माण कार्य पुरा गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त बजेटले जगन्नाथ मन्दिर रहेको गाजने गाउँदेखि डढेकोत दरबारसम्मै ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

जगन्नाथ मन्दिरदेखि बाघकाटे र बाघथला डाँडो हुँदै डढेकोतसम्म पदमार्ग निर्माण गरिएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समिति गाजनेका सचिव नीलकण्ठ शर्माले बताउनुभयो । उहाँले अब जगन्नाथ मन्दिरमा आउने भक्तजन र केभहिल भ्रमणमा आउने पर्यटकहरु सजिलै डढेकोत दरबार क्षेत्रमा पुग्ने जानकारी दिनुभयो । पदमार्ग निर्माणपछि जगन्नाथ मन्दिरदेखि झण्डै १ घण्टाको पैदल दुरीमा रहेको डढेकोतको बाटो १५ मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

ग्रामीण स्तरमा रहेका बेरोजगारहरुलाई रोजगारी दिने उद्देश्यसहित नेपाल सरकारबाट प्राप्त बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । स्थानीय स्तरको आवश्यकता र मागको आधारमा योजना छनोट गरी सञ्चालन गरिएको हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित योजनाहरु अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणले स्थानीय स्तरमा धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन हुने अपेक्षा समेत गरिएको छ।

चालु आवमा बेनी नगरपालिकामा कुल ५ सय २० जना बेरोजगारहरु सुचीकृत भएकोमा ६७ जनालाई न्यूनतम १ सय दिन बराबरको रोजगारी सिर्जना हुने गरी बजेट आएको बेनी नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक कुलचन्द्र रेग्मीले बताउनुभयो । उहाँले सोही बजेटमध्ये जगन्नाथ–डढेकोत पर्यटन पदमार्ग निर्माणमा यसवर्ष तीनलाख ५२ हजार रुपैयाँ लगानी भएको जानकारी दिनुभएको छ । डढेकोतसम्म पुग्ने पदमार्ग निर्माणमा गतवर्ष नयाँगाउँ–जगन्नाथ क्षेत्रमा पाँचलाख ३७ हजार र गतभन्दा अघिल्लो आवमा सातलाख ६७ हजार रुपैयाँ बजेट परेको थियो ।

यसवर्ष विश्व बैंकको ऋण अनुदान र नेपाल सरकारबाट रोजगारी सिर्जना गर्नेगरी कुल ४६ लाख दुई हजार रुपैयाँ बजेट प्राप्त भएकोमा बेनीका सबै वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको रोजगार संयोजक रेग्मीको भनाइ छ । चालु वर्षमा बेनीको रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, पुलाचौर, घतान र पात्लेखेत वडा भित्रका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पदमार्ग निर्माणको काम भइरहेको छ ।

ऐतिहासिक जगन्नाथ मन्दिर तथा गाजने गाउको सिरमा डढेकोत राजदरबार रहेको ठाउँ पर्दछ । यहाँ अहिले दरबारको भग्नावशेष मात्रै भेट्न सकिन्छ भने एउटा सानो कोत मन्दिर रहेको हुँदा स्थानीयबाट हरेक वर्षको बडादशैंमा नवदुर्गाको पुजा गरिन्छ । समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित डढेकोत दरबारको आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनसहित ग्रामीण सौन्दर्ययतालाई धित मरुन्जेल नियाल्न पाइन्छ ।

तत्कालीन पर्वत राज्यको दरबार रहेको डढेकोतमा भीषण बज्रपात परेपछि दरबार ध्वस्त भई डढेको भन्ने इतिहास रहेकाले डढेकोत दरबार भनिएको हो ।

 नेपालमा बाईसे–चौबीसे राज्य कायम रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको दरबार डढेकोत भन्ने ठाउँमा रहेको इतिहासमा भेटिन्छ । सोही क्रममा पर्वत राज्यको राजकाज सम्हालेका समालवंशका तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब)ले डढेकोतमा रहेको राजदरबारबाट पर्वत राज्यको शासन गरेका थिए । राजा मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई गाजने गाउँको हलहलेचौर भन्ने स्थानमा जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्