गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे, भागबण्डा नमिल्दा आज शपथ



पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएको पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको थियो । तर, अधिकारीको विपक्षमा बहुमत भएपछि गण्डकी मुख्यमन्त्रीविहीन भएको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक जना सदस्य छन् भने एमालेका २२ र राप्रपाका २ रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ३५ जना सांसदको समर्थन रहेको पत्रसहित मुख्यमन्त्रीको दावा पेस गरेका पाण्डेलाई प्रदेश प्रमुखले तत्कालै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएको ६ दिनपछि गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको हो । यद्यपि, सत्तारुढ दलहरूबीच अझै भागबण्डा नमिल्नाले मुख्यमन्त्रीकै शपथ ग्रहणमा ढिलाइ भएको छ । उहाँले आज १२ बजेपछि शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मुख्यमन्त्रीका लागि दावा पेस गर्न दिइएको समय आजै (बिहीबार) ४ बजे सकिने भएकाले भागबण्डामा सहमति नभए पनि पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो ।

‘मन्त्रालय भागबण्डा भइसकेको छैन, कसले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने विषय अझै टुङ्गिन बाँकी छ’, चुमानले भन्नभुयो– ‘त्यसपछि मात्र को को मन्त्री बन्ने भन्ने टुङ्गो लाग्ला ।’

उता कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षी धेरै छन् । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन भने बाबुराम भट्टराईको नेकपा समाजवादी र माधवकुमार नेपालको नेकपा एसले पनि एक–एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालयको दाबी गरेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री पाण्डे दबाबमा हुनुहुन्छ । उता मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आफूले एक्लै नभई केही साथीलाई लिएरै शपथ ग्रहण गर्ने बताउनुभयो । ‘म एक्लै नभई केही साथीलाई लिएर शपथ ग्रहण गर्न चाहन्छु । बाँकी कुरा विशेष गरी गठबन्धनको दल माओवादीसँगको छलफलबाट हुनेछ’ –उहाँले भन्नुभयो ।

उहाँले दलहरूको न्यूनतम साझा कार्यक्रम बनाएर जानेसमेत बताउनुभयो । चाँडै बजेट बनाउन पर्ने भएकाले पनि सरकारालई पूर्णता दिन आवश्यक रहेको उहाँको भनाइ रहेको छ । पहिलाको जस्तो लामो समय लगाएर मन्त्रालय नबनाउने उहाँको भनाइ थियो । उहाँका अनुसार गण्डकीमा सात मन्त्रालय मात्रै रहनेछ । उहाँले अब गठबन्धनको सरकार चार वर्ष नै टिक्ने सुनाउनुभयो ।

‘अब प्रदेशसभाको समय कति छ त्यति नै यो सरकार जान्छ’, उहाँले भन्नुभयो– ‘आलोपालो सरकार बन्छ । हामीले प्राथमिकता भनेको हाम्रो प्रदेशलाई कसरी सस्टेनेबल बनाउन सक्छौं त्यता ध्यान दिन्छौं ।’ विशेष गरी ३ क्षेत्र प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । पर्यटन, खेलकुद र कृषिको क्षेत्रमा विशेष काम गर्ने उहाँले बताउनुभयो ।

कृषिमा आधारित साना साना उद्योग र कृषिमा आधारित रहेर स्वरोजगार कसरी रहन सकिन्छ भन्ने विषयलाई ख्याल गरेर अघि बढ्नेसमेत बताउनुभयो । सरकारको तर्फबाट सहयोग गरी बाँझो जमिनलाई खेतीयोग्य गर्न विदेशिने युवालाई रोक्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

पाण्डे गोरखा क्षेत्रनम्बर २ प्रदेश सभा क्षेत्र (ख) बाट विजयी हुनुभएको हो । कांग्रेसका पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँले एमालेका उम्मेदवार वसन्तकुमार गुरुङलाई हराउनुभएको हो । पाण्डे यसअघि राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्