५३ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा काँग्रेस डिल्ली चौधरीको दाबी पेश



बुटवल। 

आठ दलीय गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गर्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । चौधरीलाई नेपाली काँग्रेस माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी गरी ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएका लीला गिरीले यही वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादी सहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनु भएको हो । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा दिनु भएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्