स्थानीयको मागबमोजिम काम गरिरहेका छौं : प्रमुख प्रशासकीय अधिकृत खत्री



नेमबहादुर खत्री
प्रमुख प्रशासकीय अधिकृत
ठाँटिकाँध गाउँपालिका, दैलेख

ठाँटिकाँध गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ– नेमबहादुर खत्री । प्रस्तुत छ, उहाँसँग पालिका केन्द्रित भएर जिल्ला संवाददाता दीपेन्द्र कार्की बस्ताकोटीले गरेका कुराकानीको सम्पादित अंश :

विकास निर्माण र सेवा–प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

हामीले भौतिक विकासको बाटो एकातिर र अर्कोतिर सामाजिक काम अगाडि बढाइरहेका छौं । सेवा प्रवाहको कुरा गर्नुपर्दा विगतमा कर्मचारीको अभावका कारण केही समस्या भए पनि यति बेला त्यस्तो समस्या छैन । हामीले स्थानीयको मागबमोजिम हरेक शाखाबाट सेवा प्रवाह उचितरूपमा गरिरहेका छौं ।

बजेट एवं नीति कार्यक्रमको कार्यान्वय गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

बजेट नीति एवं कार्यान्वयनको सिलसिलामा दैनिक कर्मचारी बैठक, दैनिक प्रतिवेदन तयार पारी तालिम र जिम्मेवारी हेरफेर गरिरहेका छौं । कर्मचारी भनेको जनप्रतिनिधिहरुले बनाएको नीति नियमबमोजिम काम गर्ने हो । हामी गाउँपालिकामा बाँकी रहेका विधेयक र ऐन निर्माणको चरणमा छौं ।

ठाँटिकाँधलाई नमुनायोग्य बनाउन विशेष कार्यक्रम के ल्याउनुभएको छ ?

यहाँको स्रोत साधन, पुरातात्वयिक सम्पदालाई चिनाउन लागिपरेका छौं । काइनाइट लगायत धेरै खानी र जडीबुटी हाम्रोमा छ । तिनलाई पहिचान गर्ने चरणमा छौं भने हुड्के, मगर नाच मारुनी नाचलाई संरक्षण गर्ने र तिनको प्रचार–प्रसार गर्ने तयारीमा छौं ।

जनप्रतिनिधि विकास निर्माण, सेवा–प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?

विकास निर्माणका लागि जनप्रनितिधिहरु र हामीसँगसँगै जानु आजको आवश्यकता हो । चुनावको समयमा राजनीतिक लडाइँ भए पनि आज सिंगो जनता र गाउँपालिकाको आवश्यकता परिपूर्तिका लागि एक भएर यहाँको रोग भोग र गरिबीसँग लडिरहेका छौं । यति बेला सम्म सबै चिन्तनशील नै भएको पाएको छु । सानातिना गुनासो त हुन्छ नै त्यसमा हामीले सहकार्य गर्ने गरेका छौं ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधि र कर्मचारी भनेको गाउँपालिकाको एक परिवारका व्यक्ति हुन्, जसमा नङ र मासुको जस्तो सम्बन्ध हुनु जरुरी छ । यो भएन भने आपसी सहमति सहकार्य हुन सक्दैन, जसले गर्दा पालिकाको गतिविधि सहीरूपमा अघि बढ्न सक्दैन । जनप्रतिनिधिमा मतभेद भयो भने कर्मचारीमा समेत त्यसको प्रत्यक्ष असर पर्छ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

ठाँटिकाँध विकास निर्माणको हिसावले पछाडि परेको पालिका हो । जनताको अपेक्षा भनेको भौतिक विकासको नै हो । विकास निर्माणमा जनताको सहभागिता उल्लेख्य मात्रामा नै छ । व्यक्तिगत स्वार्थ बाँझिएको खण्डमा कहिलेकाहीं मनमुटाव भने हुने गरेको छ । राजनैतिक पक्ष–विपक्षका कारण यस्तो हुने गरेको हो । सबैलाई मिलाएर नै विकास निर्माणमा जनसहभागिता जुटाउने गरेका छौं ।

बेरुजु र सार्वजनिक खरिदको अवस्थाचाहिँ के छ ?

बेरुजुको अवस्था जटिल नै छ । संघीय कानुन र खरिद ऐन बनेको छ, तर पालिकाको ऐन नबनिसकेकाले काम गर्दा समस्या आएका छन् । संघीय सरकारले कुनै काम गर्दा बेरुजु नआउने तर त्यही काम स्थानीय तहले काम गर्दा बेरुजु आउने गरेको छ । यो कस्तो कार्य हो ? म आफैं अचम्मित छु । विशेष गरेर स्थानीय तहका जनप्रतिनिधिहरु बढी महत्वकांक्षी हुने, शीर्षकभन्दा बाहिर गएर काम गर्न खोज्ने, साथै संघीय सरकारले हेयको दृटि राख्दा बेरुजु बढिरहेको छ । जुन हाम्रो पालिकामा बढ्दो क्रममा छ ।

काम गर्दै जाँदा उत्पन्न भएका समस्या के छन् ?

ठाँटिकाँध भौगोलिक हिसावले मात्र नभएर स्रोत–साधनले पनि पछाडि परेको पालिका हो । जनताको अपेक्षा धेरै छन्, बजेट कम छ, बजेट र आवश्यकताको तालमेल मिल्दैन । कतिपय जनप्रतिनिधिले नै समस्या पहिचान गर्न नसक्दा कठिनाइ भएको छ ।

प्रदेश र केन्द्रीय सरकारसँग कसरी अन्तरसम्बन्ध स्थापित गरिरहनुभएको छ ?

कर्णाली र केन्द्रसँग विगतको भन्दा राम्रो सम्बन्ध बनाएका छौं । प्रदेश सरकारको सदस्य यही पालिको र केन्द्रको सांसद छिमेकी पालिकाको भएकाले हामीे उहाँहरूसँग नै छौं । परेको समस्याको बारेमा भन्ने गरेका छौं । अझै पनि केन्द्र र प्रदेश सरकारले यस पालिकालाई उपेक्षा गरिरहेको छ । हेयका दृष्टिले हेर्ने र ठाँटिकाँध देशको एक पालिका हो भन्ने नसोचेको हो कि भन्ने लाग्छ, तैपनि हामीले सक्दो प्रयास गरिरहेका छौं ।

यति बेला भोग्नुपरेका मुख्य समस्या के छन् ?

हामी भौगोलिक हिसावले पछाडि रहेकाले विकास निर्माणमा थुपै्र चुनौती छ । जनताको चाहनालाई सम्बोधन गर्नु पहिलो आवश्यकता हो । राजनैतिक खिचातानी र प्रतिसोध मुख्य समस्या छ । जसले गर्दा कर्मचारीले बढी समस्या भोग्नुपरेको छ । अख्तियारमा मुद्दा परेको छ । राजनैनिक पक्ष–विपक्षबाट जनप्रतिनिधि अघि बढ्नु, दक्ष जनशक्ति बिदेसिनु र आवश्यकताबमोजिम कार्यक्रम तय गर्न नसक्नु नै यहाँको अर्काे समस्या हो ।

ठाँटिकाँधलाई देशभर चिनाउन विशेष योजना के बनाउनुभएको छ ?

सामाजिक, सांस्कृतिक, धार्मिक रूपमा हाम्रो पालिका प्रख्यात छ । बिजारेचौर, मदानताल, धौलापडा क्षेत्र, झरना यहाँको पर्यटकीय गन्तव्य हो । मारुनी नाच, मगर नाच, हुड्के लगायत थुपै्र कला संस्कृति छन् । पर्यटक आकर्षित गर्न होमस्टेको परिकल्पना गरेर कार्य अगाडि बढाएका छौं ।

स्थानीय तहको स्रोत वृद्धिका लागि के गरिरहनुभएको छ ?

मूलतः करको दर भन्दा पनि दायरा बढाउने प्रयास गरिरहेका छौं । केन्द्र र प्रदेशको कानुन नबाँझिने गरेर राजस्व संकलनको प्रयास गरिरहेका छौं । नागरिकलाई मर्का नपर्ने गरेर विभिन्न माध्यमबाट करको दायरा फराकिलो पार्ने काम गरिरहेका छौं ।

अन्त्यमा विशेष केही भन्नु छ कि ?

देश संघीयतामा गइसके पनि संघीय सरकारको हस्तक्षेप अझै बाँकी छ । जस्तै, संघले बाटो बनाउँदा मेसिन लगायो भने बेरुजु नहुने त्यही बाटो उपभोक्ताबाटा मेसिन लगाउँदा बेरुजु हुने गरेको छ । अर्कोतर्फ केन्द्रले केही अधिकार स्थानीय तहलाई नसुम्पिँदा धेरै काम गर्न सकिएको छैन । स्थानीय तहको विकासका लागि केन्द्र र प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरू तन–मनले लागिदिने हो भने विकास निर्माणले चाँडै नै फड्को मार्ने थियो ।

प्रतिक्रिया दिनुहोस्