गाउँमा के आवश्यक ? ‘साहित्य सम्मिलन’ या पुस्तकालय



मुलुकमा साहित्य सम्मिलनका नाममा आफ्ना गुटका केही कथित मठाधीशलाई जिल्ला लगेर, खानपिन गराएर, मोटो खाममा ‘पान–फूल’ हालेर दिँदैमा साहित्य पन्पिन्छ कि जिल्ला–जिल्लामा पुस्तकालय खोेलेर ‘पठन संस्कृति’ बढ्छ ? अब खुलेर बहस चलाउने बेला भैसक्यो । साहित्यको सनातन परिभाषाले भन्छ– ‘साहित्य समाजको ऐना हो । समाज बुझ्नुपरे साहित्य अध्ययन गर्नुपर्छ ।’ यी र यस्ता मान्यतामा यतिखेर धमिरा लागिसकेको अवस्था छ । हुन त साहित्य समाजको ऐनाबाट तल खस्केकोचाहिँ छैन तर साहित्य लेख्ने÷लेखाउने, गोष्ठी गर्ने÷गराउने र साहित्यिक सम्मेलनका नाममा अनेक भाँतीका कार्यक्रमहरू आयोजना गर्ने परम्पराले गर्दाचाहिँ यतिखेर समग्ररूपमा नेपाली साहित्यको अवस्था अझ व्यापारमुखी भई खस्केको पाइन्छ ।

जीवनका चार दशक ऊर्जाशील उमेर शिक्षण औ पठनमा लगाएका साहित्य अध्येता नारायणप्रसाद सुवेदी यस्तो प्रवृत्तिलाई ‘राजनीतिक रोग’ भन्न रुचाउँछन् । वास्तवमा गुटोपगुटमा विभाजित भई यसरी जिल्ला–जिल्लामा गरिने र सर्वस्वीकार्य नहुने गरी आयोजना भएका साहित्यिक÷सांस्कृतिक कार्यक्रमहरू कुनै राजनीतिक दलका भ्रातृ संगठनका रूपमा डामिएर वा प्रेसरमा आएर गरिएका कार्यक्रममा साबित हुन पुगेका उदाहरणहरू छ्यासछ्यास्ती पाइन्छन् ।

गत चैत महिनामा पूर्वको इलाम र पश्चिम टीकापुरमा यस्तै दुई ‘साहित्यिक सम्मेलन’ सम्पन्न भए तर तिनले के आउटपुट दिए, केही बाहिर आएको देखिएन । मात्र फरक–फरक अनुहारहरूले जिल्ला सयर गरे । यस्तै गरी चैत १२–१४ सम्म तीनदिने ‘साहित्यिक सम्मिलन’को ऐलान गरी रामेछापको मन्थलीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, बागमती प्रदेश कमिटीले ‘प्रदेश स्तरीय साहित्यिक तथा सांस्कृतिक सम्मिलन’ नामको कार्यक्रम आयोजना ग¥यो तर दुःखको कुरा तीसौं वर्षदेखि जिल्लामा रहेर गतिलो साहित्य लेख्ने प्रगतिशील लेखकको परिचय बनाइसकेका स्थापित कथाकारलाई सम्मेलनले सम्झने झन्झट गरेन । सम्झने मात्र नभएर स्थापित लेखकलाई बोलाएर सम्मान गर्नु, तिनका विचार सुन्नु र सम्मेलन समापनमा प्रकाशित गरिने घोषणापत्रमा तिनका विचारसमेत समावेश गरिनु राम्रो हुन्थ्यो । ती केही पनि भएनन् । दुःखको कुरा नेपालका पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म हुने यस्ता साहित्य सम्मेलनमा बाहिरी जिल्लाबाटै गएका अतिथि लेखकहरूको फाइँफुट्टी हेर्नलायक हुन्छ । कतै–कतै स्थानीय साहित्यकारहरू बोलाइहाले भने पनि ती दर्शकदीर्घा आसनमा बसेर थपडी मार्ने काममा सीमित हुन्छन् ।

यसो किन हुने गर्छ ? विगत तीस वर्षदेखि प्रगतिशील साहित्य लेखिरहेका कथाकार माधव सयपत्री आफ्नो मनोभाव जस्ताको त्यस्तै भन्छन्– ‘एक दर्जन गुटग्रस्तहरू जम्मा पा¥यो, ‘साहित्य सम्मेलन÷सम्मिलन÷महोत्सव’ भन्दियो, भैहाल्यो । यसको आधिकारिकता कहाँ पुष्टि हुन्छ ? अनुमोदन कहाँबाट हुन्छ ? साहित्यको नाममा एक झुन्डले सम्मेलन भन्दैमा सम्मेलन हुन्छ ? पक्कै समयले यसको उत्तर खोज्छ एक दिन ।’ सयपत्रीको यो भनाइमा रोषमात्र प्रकट छैन यहाँ बौद्धिक उत्तर सुझाइएको छ । सम्मेलन वा सम्मिलन हुनका लागि कतैबाट त आधिकारिकताको पुष्टि हुनुप¥यो नि ! हैन र ?

एक हिसाबले भन्दा अहिले समय नै अराजक भएको हो । भन्नलाई बहुलवादी समाज भनिन्छ । यस्तो बहुलवादी समाजमा राजधानीबाट दौडाहा शैलीमा साहित्य वा सांस्कृतिक सम्मेलन गर्न आउनेहरूले स्थानीय तहका साहित्यिक संघसंस्था, क्लब, लेखक र पत्रकारहरू सम्मिलित आयोजक टोली बनाएर केन्द्र र स्थानीय स्तरको सेतु बन्दै कार्यक्रम आयोजना गरे पो उत्पादनमूलक बन्छन् । नत्र उही दुई–तीन दिनसम्म हाहाहुहु ग¥यो, स्थानीय होटल र लजको विक्रीबट्टा बढायो र फर्कियो । त्यसभन्दा बेसी काम केही तात्तोछारो हुँदैन ।

यस्ता आयोजकले बरू एक दिन छुट्याएर केन्द्रबाट आएका विविधि विधा÷क्षेत्रमा लागी नाम कमाएका स्वनामधन्य लेखक, कवि, कलाकार र चित्रकारहरूको बेग्लै सेसनहरू डिजाइन गरी बालबालिकालाई बालसाहित्यबारे, किशोरकिशोरीहरूलाई किशोरसाहित्यबारे र नवोदित लेखकहरूलाई समसामयिक लेखनका विविध आयाम या धारबारे भलिभाँती बुझाउन सके भनेचाहिँ पक्कै उपलब्धि हुन्थे होलान् । तर, त्यस्ता कार्यक्रमहरूको उपसंयोजन भने स्थानीय रुपमा क्रियाशील स्कुल, कलेज या संघसंस्थाहरूका पदाधिकारीको सक्रियतामा हुनुपर्दछ ।

यो लेखको लेखकले रामेछापमा रहेर करिब १५ वर्षदेखि त्यस्ता साहित्य सम्मेलनको संयोजन, व्यवस्थापन र कार्यक्रम एङ्करिङ गर्ने मौका पाएको छ तर जति वर्ष आयोजना गर्दा पनि उही पहिलेकै कुराहरू दोहोरिने, नयाँ सिर्जनात्मक काम केही नहुने, हरेक वर्ष लेखकहरू मात्र फेरिएर आउनाले धेरैभन्दा धेरै नाम र व्यक्तित्वसँग परिचित हुने अवसर मात्र पाइयो । के यो नै उपलब्धि हो ?

यस्ता सम्मिलनको समापनमा स्थानीय लेखकहरूको रचना वाचन कार्यक्रम भन्दै झारा टारेर बोलाउने काम गर्दा स्थानीय स्तरमा रहेर राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइनमा निरन्तर लेखिरहने कुनै पनि स्थापित लेखकहरू सो समारोहमा गएनन् । राजधानीबाट कार्यक्रमको सबै पोकोपुन्तुरो बोकेर आफ्ना गुटीय सदस्यलाई काखी चेपेर आउने त्यस्ता आयोजकहरू उहिले–उहिले गाउँमा बिहेका लागि जाने ‘कुम्ले बिहे’ जस्ता लाग्छन् । बास बस्यो । खायो पियो । हल्लाखल्ला ग¥यो अनि फेरि गाउँठाउँ नै शून्य बनाउँदै उसै गरी फर्कियो जसरी आएका हुन्छन् ।

‘यस्ता गुटहरूले गर्ने कुनै पनि साहित्य सम्मेलन वा सम्मिलनले साहित्यका क्षेत्रमा माखो नमार्ने’ कुरा दर्जन कृति लेखेर लामो अनुभव लिइसकेका महाकाव्यकार रामचन्द्र वियोगी भन्छन् । उनी हाकाहाकी नै भन्छन्– ‘प्रतिभाले आकाश माग्छ तर यहाँ गुटको प्रतिभा छ भने त्यो चाँडो चर्चा÷चासोमा आउँछ तर गुटको प्रतिभा रहेनछ भने पाखा लाग्छ ।’ वास्तवमा साहित्यलेखन अलिकति युगिन चेतना, अलिकति सिर्जनात्मक भोक र अलिकति अहंतुष्टिसमेत हो । यिनै तीनवटा कुराको पुष्ट्याइँका लागि साहित्य लेखिने परम्परा विश्व साहित्य र नेपाली साहित्यमा अद्यावधि चलेको छ । ‘बजार, विज्ञापन र हल्लाबाहिरको साहित्य खाँटी साहित्य हुने गर्छ’, कटु आलोचक भनेर चिनिने समीक्षक हरि अधिकारी विन्दुमा सिन्धु अटाउने भावाभिव्यक्ति प्रकट गर्छन् ।

आधुनिक नेपाली साहित्यको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि शिरोमणि लेखनाथ पौड्यालजस्ता त्रिमूर्तिहरू साथै कथाकार गुरुप्रसाद मैनाली, उपन्यासकार रुद्रराज पाण्डे, कथाकार विश्वेश्वरप्रसाद कोइराला र कथाकार रुपनारायण सिँहजस्ता फरक धारका फरक खाले प्रतिभाहरूको कलात्मक चेतद्वारा नै नेपाली साहित्यको आधुनिक काल त्यति सशक्तरूपमा पन्पिएको थियो । तिनै महारथीहरूद्वारा विरचित साहित्यिक विधाका जगमा अहिले आएर भने प्रकाशन हुने कृतिहरूको गुणवत्तालाई दाँजेर हेर्दा कतिपय अवस्थामा भने लाजमर्दो स्थिति देखा पर्छ ।

नेपाली गीति आकाशमा चम्किने प्रयाससाथ राजधानीमा बसेर दह्रोसँग गीतमा पकड राख्दै गीत÷गजल लेखिरहेका युवा गीतकार दिनेश पुरी भन्छन्– ‘यो ‘खानपिन’को थिति बसाल्ने र अझै यही थितिलाई निरन्तरता दिने लयमा अझ बढी अग्रजहरू देख्दछ– मेरो नजरले । नातावाद, कृपावाद, सुन्दरीवाद, रौसीवाद आदि आदि वादहरूको कोक्रोमा सैसला खेल्न पल्केको साहित्यले जबसम्म कसैको लेखाइको आयतन नापिबस्छ, तबसम्म यस्तै हुन्छ । कोही खुवाउन सक्ने, कोही चटक्क मिलेको, कोही अलिअलि द्रव्य पेल्न सक्ने भयो भने ऊ कार्यक्रमको सबैभन्दा ‘ठालु’ भएर आसनग्रहण गर्न बस्छ । यसले कतातिर औंला ताकेर गिज्याउँछ, त्यो तपसिलको कुरा भो । तर, यो अभ्यास रहिरहेकै छ । यो साहित्य सृष्टिकै सबसे झुर अभ्यास हो । र, पनि यो अभ्यासको कद अझै धेरै समय दुब्लाउने छैन । साहित्यमा ‘कोर–टिम’ हाबी छ । गीतमा पनि छ । स्टेज प्रोग्राममा नि छ । शायद, ठूला अक्षरका ब्यानरहरू लोभीपापी हुन्छन् होला । पुस्तकालयतिरको आवाज लुलो हुन्छ, अझै केही समय ।’

यस्तै चिन्ता÷चासो प्रकट गर्छन् कलात्मक चेतमा कविता लेख्ने युवाकवि नवीन गाउँले । उनका कविताका दुई कृति एक दशकअघि प्रकाशित भैसकेका छन् । उनी भन्छन्– ‘यहाँ कसैलाई चिन्ता छैन । राजनीति गर्ने र नेता भन्नेहरूसँग कुनै सांस्कृतिक चेतना र चिन्तन नै छैन । पठन संस्कृति के हो ? पठन संस्कृतिले के गर्छ भन्ने चेत नभएका लठेप्राहरू स्थानीय सत्तामा छन् । कुनै नेताको कोठा÷घरमा छिर्नुस्– पाँचवटा पुस्तक पनि भेट्नुहुन्न । त्यस्तो व्यक्तिले पुस्तकालयको महत्ता के बुझ्ला ? हामी यत्रो समय यही क्षेत्रमा लागी केही न केही गर्न खोजेकै हौं । सकेनौं । पुस्तकालय स्थापना हुने हो भने मैले अध्ययन गरेका पुराना र नयाँ किताबहरू मसँग १२ देखि १५ सय संख्यामा होलान् । अहिले बोरामा कोचिएका दुई सयवटा पुस्तक म सहयोग गर्नेथेँ । पुस्तकालयका लागि मैले रामेछाप पुरानो सदरमुकामको बजारका लागि त्यहाँका स्थानीय नेता, नागरिक समाज, शिक्षक र बौद्धिक वर्गलगायत सरोकारवालालाई पटक–पटक आग्रह र अनुरोध गर्दा पनि कसैले सुनुवाइ गरेनन् ।’

यो भनेको आफ्नो गाउँठाउँको विकास आफैँले गर्नुपर्छ भन्ने चेतनामा कमी हो । विकास भनेको अहिले जिल्लामा मोटरबाटो अझ पिचबाटो मात्र गणना हुन्छ । विकसित देशले हार्ड पार्टलाई मात्र विकास भन्दैनन् सफ्ट पार्टलाई पनि विकासको मानकमा राख्छन् । अहिले चित्रकारिता, कलाकारिता, लेखन, गायन र अभिनयलाई समेत विकास भन्ने गरिन्छ । यो कुरा हाम्रोमा लेख्ने, नेतृत्व गर्ने र समाजिक अगुवाहरूले कहिले बुझ्ने ? कहिलेदेखि लागू गर्ने ? यी र यस्ता प्रश्नहरू हिजो राणाशासन, पञ्चायती शासन र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि लागू भएनन् भने कहिल्यै हुने छाँटकाँट देखिन्न ।

चार दशकदेखि गजल र पत्रकारितामा खारिएका गजलकार तथा पत्रकार सुविद गुरागाईंको भने यसबारेमा सन्तुलित विचार रहेको छ– ‘महोत्सव नि गर्नुपर्छ, पुस्तकालय पनि खोल्नुपर्छ । पुस्तक प्रदर्शनी पनि गर्नुपर्छ– नियमित । अझ पठन प्रतियोगिता पनि गर्नुपर्छ ।’ आधुनिक समाजको ढङ्गढाँचा नै बदलियो । अहिले जो पनि आफ्नो कुराको, प्रतिभाको, वस्तुको, बेपारको र विचारको एक्सपोज खोजिरहन्छ । यही एक्सपोज खोज्ने मामलामा यी र यस्ता साहित्यिक सम्मेलन÷सम्मिलनहरू कतै आयोजना भएका त होइनन् ? अतः यिनीहरूका प्रभावकारिता या यिनीहरूले गर्ने ठोस उत्पादनबारे केन्द्र या स्थानीय स्तरबाटै लघु औ बृहत् अनुसन्धानको आवश्यकता भने अब बढेर गएको छ । बरू यसो भैदिए चेक एन्ड ब्यालेन्स हुन्थ्यो । यसमा सरोकारवाला पक्ष गम्भीर हुनु जरुरी भैसकेको छ । नत्र स्थानीय सरकारले आफ्ना वडावडामा पुस्तक जम्मा पारी स–साना पुस्तकालय स्थपना गर्नुको कुनै विकल्प देखिन्न ।

प्रतिक्रिया दिनुहोस्