चोटग्रस्त बने मार्टिनेज



लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका रक्षक लिसान्ड्रो मार्टिनेजले खुट्टामा चोट बोकेका छन् ।

२५ वर्षीय मार्टिनेज युरोपा लिग अन्तर्गत स्पेनिस क्लब सेभियाविरुद्धको खेलमा घाइते भएका थिए । मार्टिनेजको दायाँ खुट्टाको हड्डी भाँचिएको छ । चोट बोकेसँगै मार्टिनेजले सिजनको बाँकी खेल समेत गुमाउने भएका छन् । बिहीबार राति भएको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । अर्जेन्टिनाका मार्टिनेजले ८६औं मिनेटमा मैदान छाडेका थिए । खेलमा परिवर्तन गर्ने खेलाडीको कोटा पनि सकिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो ।

खेलमा युनाइटेड २–१ ले अघि रहँदा २५ वर्षीय मार्टिनेज ८६औं मिनेटमा चोट बोक्न पुगेका थिए । मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफेल भरान पनि घाइते भएका छन् र उनी केही हप्ता मैदान बाहिर रहने बताइएको छ । अर्जेन्टिनाका लागि विश्वकप विजेता मार्टिनेजलाई ओल्ड ट्राफोर्डको पिचबाट बाहिर निस्कन सेभियाका गोन्जालो मोन्टिएल र उनका अन्तर्राष्ट्रिय टोलीका साथी मार्कोस अकुनाले मद्दत गरेका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर उपचारका लागि लगिएको थियो ।

मार्टिनेज गत जुलाईमा डच क्लब आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए र उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन् । अगस्ट २०२१ मा स्पेनिस क्लब रियल मेड्रिडबाट क्लबमा आवद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ लिग म्याच खेलेका छन् । भरानले पनि चोट बोकेपछि ४६औं मिनेटमा ह्यारी मगाएरले प्रतिस्थापन गरेका थिए । युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा ९ खेल बाँकी छ र क्लब अझै एफए कप र युरोपा लिगमा छ ।

आइतवार नटिङहम फरेस्टविरुद्ध युनाइटेडको लिग खेलअघि बोल्दै प्रशिक्षक एरिक टेन ह्यागले हामीसँग धेरै राम्रो सेन्टर ब्याक रहेको र मगाएर र भिक्टर लिन्डेलोफ मार्टिनेज र भरानको सम्भावित विकल्प रहेको बताएका छन् । युनाइटेडले क्लबको शीर्ष गोलकर्ता मार्कस रासफर्डलाई पनि गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्