ओझेलमा म्याग्दीको नर्जा झरना (तस्बिरसहित)



म्याग्दी ।

प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको भए पनि म्याग्दीको नर्जा झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ लुलाङ र ३ नम्बर वडा मुनाको सिमानामा पर्ने पर्यटकीय झरना ओझेलमा परेको हो ।

अग्लो छाँगोबाट तलतिर खसिरहको निकै सुन्दर, आकर्षक अनि मनमोहक नर्जा झरना सरोकारवाला निकाय र स्थानीयको बेवास्ताले गर्दा ओझेलमा परेको बताइएको छ । नर्जा झरनाभन्दा माथि तोस्काटे भन्ने ठाउँ पर्दछ भने तलतिर मुना र लुलाङ गाउँ पर्छ । भिरालो परेको पाखो र नर्जा ठाउँबाट भीर पहराको सहारा लिँदै बगिरहने नर्जा झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन सकिन्छ ।

हिमाली जिल्ला म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । त्यहीमध्येको एक हो, नर्जा झरना पनि । नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायद कमै होलान् । घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । धवलागिरि गाउँपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु लिएर जानेहरु भने झरनामा पुगेर रमाउने गर्दछन् ।

लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट झर्ने नर्जा झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको स्थानीयको भनाइ छ । पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा पुगेर रमाउन भन्दै पर्यटकहरु धेरै जाने गरेका छन् । झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु नर्जा झरनामा जाने गरेका छन् । झरनामा पुगेर मोबाइलमा टिकटक बनाउनेहरुको पनि भीड लाग्ने गरेको छ ।

गर्मी छल्न समेत मानिसहरु झरनामा जाने गरेको स्थानीयवासी बताउँछन् । नर्जा झरना गुर्जा र चुरेन हिमाल जाने पदमार्गअन्तर्गत पर्दछ । आन्तरिक पर्यटक नवराज मोक्तानले झरनामा पुगेर रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको बताउँदै झरनाको आसपास क्षेत्रमा भौतिक पूर्वाधारहरु बनाएर नर्जा झरनाको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटकलक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने देखिन्छ ।

यता लुलाङका वडा सचिव गिरिराज शर्माले झरनाको पर्यटन प्रवर्द्धन गर्नका लागि वडामार्फत आवश्यक पहल थालिएको जानकारी दिनुभयो । धवलागिरि गाउँपालिकाभित्र धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु थुप्रै रहेका छन् । यहाँ नेपालको एकमात्र शिकार आरक्ष (जहाँ शिकार खेल्न पाइन्छ) ढोरपाटन शिकार आरक्ष पनि यसै गाउँपालिकाको १ नम्बर वडा गूर्जामा पर्दछ । त्यस्तै गाउँपालिकाको ७ नम्बर वडा ताकममा ऐतिहासिक ताकम कोत तथा जगन्नाथ मन्दिर समेत रहेको छ ।

मुना र लुलाङको सिमानामा पर्ने नर्जा झरनाको पर्यटन प्रवर्द्धन गर्नका लागि आउँदो वर्ष आवश्यक बजेट विनियोजन गरेर पर्यटकलक्षित भौतिक पूर्वाधारका संरचनाहरु बनाइने धवलागिरि गाउँपालिकाका सूचना अधिकारी ख्यामराज सुवेदीले बताउनुभयो । पर्यटक आकर्षणको सम्भावना बोकेको नर्जा झरनाको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न आवश्यक संरचनाहरु बनाउनुपर्ने स्थानीयवासीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्