सन्दर्भ : विशेष सामूहिक धम्मपूजा- साहसकी प्रतिमूर्ति गुरुमा धम्मवती



बुद्धजन्मभूमि नेपालको इतिहासमा थेरवाद बुद्धशासनको पुनर्जाग्रित इतिहास वि.सं. १९८५ मा प्रेमबहादुर (नानीकाजी) श्रेष्ठले कुशीनगरमा बर्मेली भिक्षु उ. चन्द्रमणि महास्थवीरको उपाध्यायत्वमा प्रव्रज्यादीक्षा ग्रहण गर्नुभएपछि शुभारम्भ भएको इतिहास आधुनिक नेपालको थेरवाद बुद्धधर्मको इतिहासमा बीउ रोप्ने तथा जग–स्थापनाको ऐतिहासिक घटना हो । पुनर्जागरणकालको इतिहासलाई फर्की हेर्दा भारतमा बुद्धधर्मका पुनरुद्धारक अनागारिक धर्मपालद्वारा प्रभावित धर्मादित्य धर्माचार्य, तिब्बतको खामबाट धर्मप्रचारार्थ आउनुभएका क्यान्छा लामा (कुनसाङ्ग लोसेल), पं. निष्ठानन्द, महाप्रज्ञा, भिक्षु कर्मशील–प्रज्ञानन्द, भिक्षु अमृतानन्द, भिक्षु धर्मालोक, स्वय्म्भू ज्ञानमाला भजन खलः आदिको योगदान अविस्मरणीय छ । राणा शासक श्री ३ चन्द्र शमशेरले वि.सं. १९८२ मा महाप्रज्ञा, महाचन्द्र, महाज्ञान, महावीर्य र महाक्षान्तिलाई धर्मप्रचार गरेकै निहुँमा स्वदेशबाट निष्कासन गरेको इतिहासपछि थेरवाद बुद्धशासनमा भिक्षु महाप्रज्ञाको प्रवेश भएको देखिन्छ । महाप्रज्ञा, कर्मशील, अमृतानन्दजस्ता कर्मठ थेरवादी दीक्षितहरु संलग्न भएपछि नेपाली नारीहरुलाई अनागारिका–दीक्षा दिलाई बुद्धधर्र्ममा नारीहरुलाई समेत प्रव्रजित जीवन प्राप्त गर्न अवसर मिल्यो । वि.सं. १९८८ मा पुण्यतारा, चँछिमि र संघतारा उपासिकाहरु क्रमशः अनागारिका रत्नपाली, धर्मपाली र संघपाली नेपालकै इतिहासमा प्रथम अनागारिका प्रव्रजित–दीक्षा प्राप्त गर्न सफल भए । धर्मप्रचारकै दौरानमा वि.सं. २००१ श्रावण १५ का दिन श्री ३ जुद्ध शमशेरद्वारा भिक्षुहरु प्रज्ञानन्द, धर्मालोक, सुबोधानन्द र प्रज्ञारश्मी, चारजना श्रामणेरहरु अग्गधम्म, रत्नज्योति, कुमार र प्रज्ञारसलाई देश निकाला गरियो । त्यसैको आन्दोलनस्वरुप वि.सं. २००१ मंसिर १५ गते धर्मोदय सभाको गठन भएको हो । यसबीच वि.सं. २००३ वैशाख ५ गते श्रीलंकाली भिक्षु नारद महास्थवीरको नेतृत्वमा आएको बौद्ध शिष्ट मण्डलको आगमनपछि श्री ३ पद्म शमशेरद्वारा निष्कासित भिक्षुहरु पुनः स्वदेश भित्रिन प्रवेशाज्ञा प्राप्तिपछि थेरवाद बुद्धशासनको उदय–उन्नतिको गतिशील इतिहास शुभारम्भ भएको देखिन्छ ।

थेरवाद इतिहासलाई निरन्तरता दिने क्रममा अनागारिका धर्मचारी (लक्ष्मीनानी उपासिका), अनागारिका धर्मशीलाको साहसिक यात्राले नेपाली बौद्ध नारीजगतमा नयाँ आयामिकता थपिएको इतिहासमा अनागारिका धम्मवतीको उदयपछि अझ बहुआयामिक सशक्तता थप्ने कार्य भएको जीवन्त इतिहास आज समग्र बुद्धशासनिक क्षेत्रमा उल्लेखनीय पाटो भएको छ । नेपालको वर्तमान अवस्थामा प्रव्रजित नारीमध्ये गुरुमा धम्मवती नै सबैभन्दा सशक्त एवं प्रभावशाली अनागारिका हुन् भने उहाँकै नेतृत्वमा नेपाली अनागारिकाहरु प्रवाहित छन्, उहाँको ९० वर्ष प्रवैशसँगै ७५ औं प्रव्रज्यादिवसलाई स्मरण गरी उहाँको बुद्धशासनिक बहुआयामिक व्यक्तित्वप्रति श्रद्धेय धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजाको आयोजनामा नयाँ वर्ष २०८० को आरम्भदिन वैशाख १ गते विशेष धर्मपूजा शुभकार्य हुनु सम्बद्ध सबैका लागि सुखकर–शान्तिकर विषय भएको छ ।

पाटनस्थित वकुबहालका पिता हर्षमान शाक्य तथा माता हेराथकुं शाक्यको कोखबाट वि.सं. १९९१ (सन् १९३४) मा जन्मिएकी गणेशकुमारी एकलौटी सुपुत्री हुन् । सुमङ्गल विहारमा भिक्षु प्रज्ञानन्दको आगमनपश्चात् उहाँबाट धर्मदेशना सुन्नेहरुमध्येमा प्रभावित उपासिका हेराथकुंले सानी छोरीलाई विहारमा सँगै लिएर कुशल संस्कारमा संस्कारित गरिएअनुरुप गणेशकुमारीमा धर्मसम्बन्धी चासो बढ्नु स्वाभाविक हो । त्यति बेला भिक्षु बुद्धघोष महास्थवीर (नेपाल पाँचौं संघनायक) बर्माबाट फर्केर सुमङ्गल विहारमा बस्नुहुँदा विहारमा आउने स–साना नानीहरुलाई लोकनीति, त्रिरत्न वन्दना, परित्राण–पाठ, धम्मपद आदि सिकाउनुहुन्थ्यो । त्यति बेला जम्मा हुने नानीहरुमध्ये रुद्रराज (दिवंगत भिक्षु सुदर्शन महास्थवीर) र गणेशकुमारी निकै जेहेनदार–मेहनती साबित भएकाले यी दुवैजनालाई बुद्धशासनमा प्रव्रज्यादीक्षा प्रदान गरी बर्मा देशमा उच्चशिक्षा अध्ययनार्थ पठाउन पाए हुन्थ्यो भन्ने गुरु भिक्षु बुद्धघोषमा ठूलो आशा पलाएको थियो । त्यसै अनुरुप रुद्रराजले इच्छा गरेअनुसार उनलाई कुशीनगरमा सुदर्शन श्रामणेरको नाउँबाट प्रव्रज्या प्रदान गरियो । लक्ष्मीमाया उपासिका (नेपालका सातौं संघनायक भिक्षु अश्वघोष महास्थवीरका माता) की छोरीहरु मनोहरदेवी र शुभलक्ष्मी तथा हेराथकुंकी छोरी गणेशकुमारी बर्मा जाने उद्देश्य राखी भिक्षु बुद्धघोष कुशीनगरमंै छँदा त्यहाँ पुगेलगत्तै वि.सं. २००६ (सन् १९४९) मा बर्माका भिक्षु धम्मावुधद्वारा मनोहरदेवीलाई अनागारिका मागधी, शुभलक्ष्मीलाई अनागारिका माधवी र गणेशकुमारीलाई अनागारिका धम्मवती भनी नयाँ प्रव्रजित नाम प्रदान गरियो । यसरी गणेशकुमारीले आमाको प्रेरणा पाएर विहारमा गई सिकेको धर्मानुसार जीवन जिउनुमा उत्कृष्ट प्रव्रजित जीवन धारण गर्न पाएर धर्म र समाजको सेवा गर्ने जुन लक्ष्य लिएकी थिइन्, त्यतातिर मोडिन सुलभ नयाँ जीवन पाएर उनी अत्यन्त हर्षले विभोर भइन् ।

यौवनमत्तापूर्ण त्यो जवानीको बैंस, भर्खर १४ वर्षकी कलिली उमेरकी धम्मवतीको जीवनले नयाँ गतिसँगै उतारचढावपूर्ण संघर्षलाई आत्मसात् गर्नुप¥यो, वस्तुतः उनले भोग्नुपर्ने ती संघर्षमय जीवन–गाथाले उनको भविष्यत् जीवनलाई उत्कर्षमा पु¥याउन ऊर्जाको भूमिका निर्वाह गरेको सम्भवतः त्यस बेला उनी आफैँ अनभिज्ञ थिए होला । नारीहरुले अध्ययन गर्नै नहुने, लेखपढ गरेमा बिग्रिने सोच हाबी भएको तत्कालीन सामाजिक परिवेशभित्र अझ परदेशमै जान सक्नु कम साहस र आँटको कुरा होइन । दुईवटी संगीनी नेपाल फर्कन बाध्य भए भने भिक्षु धम्मावुधसँगै जस्तोसुकै व्यवधान पार गर्न पनि तम्तयार, आप्mनो लक्ष्यप्राप्तिलाई बाजीका रुपमा मोडिएको नौलो जीवनमा भोग्नुपरेका धेरै कठिनाइ पार गर्दै उनी कलकत्ता हुँदै आसाम पुगिन् । पैदल यात्राको दौरान नागाल्यान्ड हुँदै जङ्गलको कठिन यात्रा भयंकर खतरनाक थियो, यद्यपि आजको समयमा भए त्यस्तो यात्रा रोमाञ्चक हुने थियो होला । नागाजातिको खुल्लंखुल्ला भेषभूषा देखी धम्मवती गजब भए त धम्मवतीको खौरिएको तक्लु कपाल देख्दा उनीहरुले केटा हो कि केटी हो भन्ने ठम्याउनै सकेनन् । हात्ती माहुतेहरुसँगैको जङ्गलयात्रा अत्यन्त भयानक थियो, अजङ्गको अजिङ्गर, कालो सर्प, डरलाग्दो बाघजस्ता जनावरहरु प्रत्यक्षरुपमा देख्दा उनको सातोपुत्लो गई एकचोटि बेहोस नै भइन् । धेरै दिनसम्म दुःखकष्ट झेलेर, खतरा मोलेर, अनेकौं जङ्गल पार गर्दै, कैयौं पहाडका उकाली–ओराली गर्दै, मानवशून्य उजाड ठाउँमा जङ्गलीसरह जीवनयात्राको थकान र प्यास त्यो पनि विशुद्ध धर्मप्राप्तिको लागि खतरा मोलेको त्यो यात्राको गन्तव्य अति नै कष्टप्रद थियो । सम्भवतः त्यस्तो भएरै अगाडि बढेको जीवन भएर नै होला उनको जीवनमा संस्कारजन्य ऊर्जाशक्ति अझ सशक्त हुँदै अगाडि बढ्यो । ६ दिन ६ रात लगातार हिँडाइपछि मिचिना शहर पुग्छिन्, तर अर्को प्रशासनिक लफडामा समेत फँस्छिन् । आखिर विनापासपोर्ट र विनाभिसाको यात्रा र जमानीको अभावका कारण अन्ततोगत्वा धम्मवतीले कठ्यांग्रिएको कारागारमा समेत रात गुजारा गर्नुप¥यो । छ महिना रंगुनमा बसेरै लामो प्रशासनिक तथा कानुनी–अदालती कामकारबाहीपछि उनले भिसा पाइन् र त्यसपछि वि.सं. २००९ आश्विन ८ गते भिक्षु धम्मावुधको अभिभावकीय शासनिक प्रयासमा गुरुमा दो. पञ्ञाचारीले धर्मगुरुत्व स्वीकारेपछि मोलमिनको सुप्रसिद्ध खेमाराममा प्रवेश गर्ने सुअवसर पाइन् ।

वि.सं. २००९ आश्विन ८ (सन् १९५२ सेप्टेम्बर २३) मा बर्माको मोलमिनमा खेमाराममा भर्ना ।

मेहनती धम्मवतीले त्यहाँ पुगेपछि आप्mनो लक्ष्यसहित अध्ययनमा कम्मर कसेर नै पढिन्, परिणामतः वर्षदिनभित्रै सद्धम्मपालक परीक्षा प्रथम श्रेणीमा प्रथम भई आफ्नो सामथ्र्यता उजागर गर्न सफल भइन् । विभिन्न तह उत्तीर्ण गर्दै बर्मादेशको सर्वोच्च धार्मिक शिक्षा सासनधज धम्माचरीय (शासनध्वज धर्माचार्य) अर्थात् बुद्धशासनको ध्वजा फरफराउनमा सामथ्र्य कहलाइएको उपाधि वि.सं. २०१८ मंसिर ६ (सन् २ डिसेम्बर १९६२) गते प्राप्तिपछि वि.सं. २०१९ भाद्र २ गते उनलाई छैटौं धर्मसंगायनास्थल महापाषाण गुफामा सरकारीस्तरले भव्यताका साथ सम्मानपूर्वक उक्त उपाधि प्रदान गरेको थियो । धम्मवतीले १४ वर्षसम्म बुद्धवचन–त्रिपिटकको अध्ययनपछि वि.सं. २०२० आश्विन ३ का दिन नेपालमा धर्मप्रचार–प्रसार गर्ने विशुद्ध अभिप्राय÷उद्देश्यसहित दो. गुणवतीसँगै नेपाल आइन् ।

नेपाल आगमनपछि थेरवाद बुद्ध–शासनलाई जनमानसमा फैलाउन विशेषतः प्रभावकारी प्रवचनशैलीका कारण अनागारिका धम्मवतीको प्रसिद्धि दिनानुदिन लोकप्रिय व्यक्तित्वका रुपमा स्थापित हुँदै गयो । परिणामस्वरुप उहाँकै अथक प्रयासस्वरुप श्रीघःविहार, नघलटोल परिसरमा वि.सं. २०२२ मा धर्मकीर्ति विहारको स्थापना भयो । यस विहार एउटा प्रभावशाली केन्द्रका रुपमा विकास हुँदै गयो, यहाँबाट सक्षम उपासक उपासिकाहरुको भूमिका देखिए भने त्यस विहारलाई वि.सं. २०५९ मा पूर्णरुपमा पुनः निर्माण गर्ने धार्मिक गौरवपूर्ण कार्य गर्न सफल भए, यसका लागि दाता उपासक द्रव्यमान सिं तुलाधर (भाइराजा साहु) तथा दाता उपासिका बसुन्धरा तुलाधर परिवारको स्मरणीय योगदान रहेको छ । यसपछि विविध आयामिक रुपले धार्मिक मर्मका माध्यमले सामाजिक परिवर्तन गर्दै जान जुन भूमिका निर्वाह भयो, त्यसकै उपज हो वि.सं. २०२८ जेठ ७ गते धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको संस्थापना । यसबीच धर्मकीर्ति विहारबाट मिनिकै रुपमा बुद्धधर्मको प्रचारप्रसार गर्न युवावर्गलाई परिचालन गरी राष्ट्रियस्तरमा विविध धार्मिक एवं सामाजिक क्रियाकलापलाई बढावा दिँदै जे–जस्ता क्रियाकलाप एकपछि अर्को स्वरुपमा अगाडि बढाइएको थियो, त्यसमा नेपालका सातौं संघनायक भिक्षु अश्वघोष महास्थवीर, दो. गुणवती तथा अनागारिका धम्मवतीको त्रिपक्षीय धर्मसम्मत सामूहिक प्रयासले सफलिभूत भूमिका निर्वाह गरेको देखिन्छ । आजको धर्मकीर्ति बौद्ध मासिकको निरन्तर प्रकाशन तथा बुद्धधर्म र पालिसाहित्यसम्बन्धी सयौं प्रकाशनमालाको निरन्तर प्रवाह उल्लेखनीय योगदानकै रुपमा लिन सकिन्छ । अनागारिका धम्मवतीको नेतृत्वमा धर्मकीर्ति विहारसम्बद्ध धार्मिक तथा सामाजिक यात्राले बहुआयामिक क्षेत्रमा प्रभाव जमाउन सफल भएअनुरुप राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बौद्ध जगतमा गुरुमा धम्मवतीको बुद्धशासनिक छवि प्रस्फुरण हुन पायो ।

उहाँको अदम्य साहसिक धार्मिक कार्यले जो–कोहीलाई चक्मा दिएझैं भए होलान्, त्यसैले धार्मिक यात्रामा अनेक उकाली–ओरालीसँगै संघर्षमय परिस्थितिलाई सामना गर्नुप¥यो । उहाँले लुम्बिनीमा गौतमी विहारलगायत विभिन्न संघसंस्थाको स्थापना, विमिन्न विहारलाई धर्मकीर्तिको मातहतमा शाखा विहारको रुपमा सञ्चालन, धर्मकीर्ति ज्ञानमाला भजन, स्वास्थ्य क्रियाकलाप आदि विविध क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकै हुनुहुन्छ ।

वास्तवमा जसले केही गर्छ, जो डटेर केही गर्न लगावका साथ अगाडि बढ्छ, उसले हन्डर–ठक्कर खानु र धार्मिक भाषामा भन्नुपर्दा अनेकौं मारहरु तेर्सिने, बाधा–अड्चनले घेरिनुपर्ने परिस्थिति सृजना हुनु अस्वाभाविक होइन भने जसले त्यसलाई आत्मसात् गर्दै अझ निडरताका साथ अगाडि बढ्ने साहस गर्छ उसले सफलतालाई चुम्न सक्ने हुन्छ भनेझैँ गुरुमा धम्मवतीको जीवन–वृत्तान्तले यही पुष्टि गरेको आँकलन गर्न सकिन्छ । अत्यन्त कुशल कथा–वाचक, अभिधर्म–व्याख्याता, व्यवहार–कुशल, आवश्यकता अनुकूल सम्बन्ध कायम गर्न कुशल, दातापक्षलाई समेट्न माहिर, धर्मको माध्यमले सामाजिक, बौद्धिक, राजनीतिक, प्रशासनिक एवं स्वास्थ्य क्षेत्रमा पहुँच कायम राख्न सफल व्यक्तित्व, निडर एवं साहसपूर्ण धर्मयात्रा–धर्मचर्यामा धाराप्रवाह अद्यावधि खटिरहन सफल साहसिक व्यक्तित्वका धनी गुरुमा धम्मवती ९० औं वसन्तको यस घडीमा समेत उहाँबाट बुद्धशासनिक आयामिक क्रियाकलापको आशा गर्न सकिन्छ । उहाँको ओजिलो–तेजिलो धार्मिक व्यक्तित्वलाई कसैले प्रगतिशील विचारधाराको नाउँमा वा अरु कुनै नयाँ आयामिक कार्यको रुपमा भरमग्दुर सदुपयोग गर्नेतर्फ सम्बद्ध सबै चनाखो हुनुपर्छ । धम्मवतीजस्तो गौरवमय इतिहास बोकेकी ऐतिहासिक पात्रलाई अगाडि सारी वा देखाउने दाँत बनाई आप्mनो दुनो सोझ्याउने कार्य अहिले मात्र होइन, भविष्यमा समेत गर्न दिनुहुँदैन ।

धम्मवती गुरुमाको साहसिक यात्राबारे बर्मेली भिक्षु उ. सूर्याभिवंशले निपो मे (नेपाली पुत्री) लेख्नुभएकै आधारमा बर्मेली सुप्रसिद्ध साहित्यकार भिक्षु तिलोकञाण (र वे थ्वँ) ले सन् १९६३ मा तमीः छेत् शीर्षकीय जुन उपन्यास लेख्नुभयो, त्यसपछि उहाँ यःम्ह म्ह्याय्– स्नेही पुत्रीको नामले प्रसिद्ध हुनुभयो । नेपालका दुतीय धम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थवीरले नेपालभाषामा अनुवाद गर्नुभएको यःम्ह म्ह्याय् पुस्तकलाई मोतिकाजी शाक्यले स्नेही छोरी भनी नेपालीमा अनुवाद गर्नुभएको छ । साथै वि.सं. २०४९ मा जीवनीकार रत्नसुन्दर शाक्यले अनागारिका धम्मावती शीर्षकीय जीवनी लेख्नुभयो । स्नेही पुत्री उपन्यास अंगे्रजीमा बिलभ्ड डटरको नाउँबाट साथै बंगाली भाषामा समेत अनुदित भइसकेको छ ।

समग्रमा धम्मवतीको जीवनलाई हेर्दा यस शताब्दीको उत्तराद्र्धयता प्रारम्भ भएर सशक्त रुपधारण गरेको पाश्चात्य मुलुकका अनेकन् आन्दोलनहरुमध्ये स्त्री–स्वातन्त्र्यवादमा उहाँको प्रभावकारिता देखिएकै मान्न सकिन्छ । यस कुरालाई स्पष्ट पार्न उहाँको जीवन्त इतिहास आफैँ बोलिरहेको छ । उहाँको बहुआयामिक व्यक्तित्वलाई कदर गरी सन् १९९२ मार्च १९ मा म्यानमार सरकारबाट उच्चस्तरीय उपाधि ‘अग्गमहागन्थवाचक पण्डित’ प्रदान गरिएको थियो भने ने.सं. १११९ मा नेपाल भाषा परिषद्बाट ‘भाषा थुवाः’ सम्मानले विभूषित गरिएको थियो ।

धम्मवतीको जीवन पक्षलाई नजिकबाट हेर्दा वर्तमान नेपालको बुद्धधर्म तथा नेपाली नारीजगत्मै एउटा अध्ययन–व्यक्तित्वका रुपमा परिणत भइसकेको कुरा जनस्तरमा उहाँको प्रभावशाली व्यक्तित्वबाट स्पष्ट हुन्छ । त्यसो त कुनै पनि व्यक्ति आफ्नो सामाजिक धरातल र त्यसको परिवेशबाट अलग रहन सक्दैन । त्यसैले मानसिक आधारमा नै व्यक्तिको सांस्कृतिक आधारभूमि सबल हुन्छ । यही सांस्कृतिक मूल्य र मान्यताको पृष्ठभूमिमा पात्रको चारित्रिक संरचना र त्यसको विकासका लागि उपयुक्त अवसर प्राप्त हुन्छ ।

धम्मवती–व्यक्तिविशेषको जीवनपद्धति वा शैली नै प्रेरक र उत्प्रेरक भएकाले उहाँका धार्मिक वा वैयक्तिक घटना, धार्मिक जीवनशैलीले जीवन्त जीवनीको रुपधारण गरिसकेको छ । उहाँको जीवनीमा विभिन्न घटना र परिवेशका आधारमा भावभूमि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रकट भएको हुन्छ भन्दा अत्युक्ति नहोला । तर अप्रत्यक्ष प्रस्तुतिमा नै कसैको जीवनी कलापूर्ण र प्रभावपूर्ण हुन्छ भनेझैँ अनागारिका धम्मवती, गुरुमा धम्मवती, बुद्धशासनकै यःम्ह म्ह्याय्–स्नेही छोरीको जीवन जीवन्तरुपमा अगाडि बढिरहनु सम्बद्ध सबैका लागि सुखकर–शान्तिकर विषय भएको छ ।

प्रतिक्रिया दिनुहोस्